पुस्तक समिक्षा “अटेलिस जोई”

  सबल पक्ष- उसो त शोभाराम ओलि पाठक बिच नया नाम हैन । यस भन्दा अगाडि प्रकासित उनको कृति ” सुलभ ” बहुचर्चित उपन्यास हो..

8 मिनेट

पढ्ने समय


सबल पक्ष-
उसो त शोभाराम ओलि पाठक बिच नया नाम हैन । यस भन्दा अगाडि प्रकासित उनको कृति ” सुलभ ” बहुचर्चित उपन्यास हो । सोही उपन्यास मार्फत धेरै जसो पाठकले उनको लेखन शैली र उनिमा अन्तरनिहित कलाको नाडी छामी सकेका छन ।
आज बिमोचन हुँदै गरेको अर्को उपन्यास ” अटेलिस जोई ” मार्फत उपन्यासकार ओलिले पाठकहरुलाइ अर्को नया कथाको माध्यमबाट नया स्वाद पस्कदै छन ।झट्ट सुन्दा यो उपन्यासको नाम अलि पृथक खाले लाग्छ । उपन्यास पढेर अन्त्य तिर नपुगुन्जेल सम्म उपन्यासको नाम र कथा कता ताल्मेल खायो त खै ?भन्ने जिज्ञासा मेटिदैन तर वास्तविक अर्थ चाहि उपन्यासको अन्तिम तिर भेटिन्छ ।
यो उपन्यासमा आइते , चन्चली , सन्तोस ,माया , खलाबोटे मास्टर ,पानकलि , तभिल धामी , सुनिता , आनन्द आदि जस्ता नामका पात्रहरु छुट्टाछुट्टै भुमिकामा देखिन्छन भने सन्तोष र माया चाहिँ यो उपन्यासका मुख्य पात्र या ने कि हिरो हिरोइन नै हुन ।यो उपन्यासको जग हाम्रो नेपाली समाजमा ब्याप्त रहेको दलित र गैह दलित धारणा , जातिय छुवाछूत प्रथा र ग्रामीण परिबेशमा ठुला ठालु भनिएकाहरुले निम्न अवस्था भएका परिवारमाथी कसरी थिचोमिचो गरेका हुन्छन त भन्ने कथाको सेरोफेरोबाट उठाइएको छ । नेपालमा भएको माओबादी जनयुद्ध , पश्चिमी भेग रुकुम रोल्पा जस्ता जिल्लाहरुमा परेको द्वन्द्वको असर र सोही समयताका स्थानीय जनमानसले आफ्नो दैनिकीमा भोग्नु परेको सास्तिलाइ पाठक आफैले महसुस गर्ने गरि उतारिएको छ । कुम्पाखोला , काभरनेटा , पाम्सीभिर , इरिबाङ , रालबाङ खोला , राङ्सी , कुइरेपानी , घम्पु धारा जस्ता ठाउँ खोला आदि नाम लाइ प्रयोग गरेर उपन्यासको सेरोफेरो नेपालको पश्चिम भेग हो है भनेर देखाउन पनि खोजिएको ।
मैरी , छक्कालै , निङ्लाको भाङ ,ओतालो ,ढेब्री , बिलि ,कालको जिनो , छोट्टि बस्ने आदि पुरै स्थानिय टिपिकल शब्दहरुको प्रयोग गरिएको छ जुन नेपालका अन्य जिल्ला तिर बस्ने मानिसहरुलाइ बुझ्नै गार्हो हुन्छ ।
उपन्यासमा धेरै ठाउमा प्रेम पत्रहरु लेखिएका छन । त्यति बेला अहिले जस्ता मोबाइल र सामाजिक संजालहरुको प्रयोग भएको थिएनन । सन्चारको माध्यम भनेकै पत्र थिए । उपन्यासमा प्रयोग भएका कतिपय प्रेम पत्रहरु पढ्दा पाठकले आफ्नो आखाबाट आँसु झरेको थाहै पाउदैनन ।
सन्तोस नामको एक जना पुरुष पात्रलाइ रुकुम रोल्पा जस्तो बिकट जिल्लाको ग्रामीण बस्तीमा दलित परिवार भित्र जन्माएर उपन्यासको सुरुवात गरिएको छ । कथा संतोषको स्कुल जीवन देखीनै सुरु हुन्छ । सन्तोषलाई साथ दिने अर्कि महत्त्वपूर्ण पात्र हुन्छिन माया । माया सन्तोषकै गाउँकि माथिल्लो जातकि खलाबोटे मास्टरको छोरी हुन । उनिहरु बाल्यकाल देखिका साथीहरू हुन। एक अर्कालाइ सानै देखि माया गर्थे । उनिहरुको माया पबित्र थियो ।उनिहरु बिच चोखो माया प्रेम भए पनि असमान जातका कारण उनिहरुको माया प्रेम ले बिबाहमा परिणत हुन नसकी नसकी कथा सकिन्छ । माया र सन्तोस एस एल सि सम्म गाउकै स्कुलमा सङै पढ्छन । SLC पास गरे पछि माया उच्च शिक्षाको लागि शहर जान्छिन र उतै पढ्न थाल्छिन ।सन्तोषको आर्थिक अवस्था सारै नाजुक भएकोले उच्च शिक्षाको लागि शहर जान रिण लिन सन्तोषको बुबा प्रसादे मुखियाकोमा जान्छन , मुखियाले सन्तोषलाई शहर पढ्न पठाउनु भन्दा पैसा कमाउन खाडी मुलुक पठाउन सल्लाह दिन्छन , मेन पावरको दलाली सम्म सम्पर्क पनि गराइदिन्छन र खेतवारि बन्दगी राखेर आवश्यक रिण पनि हाल्दिन्छन ।सन्तोस खाडी जाने चक्करमा काठमाडौ आउँछ ,भिसा आउने आसामा झण्डै बर्स दिन जति काठमाडौ तिरै मामा पर्ने आफन्तको घर तिर शरण लिएर बस्छ ।त्यतै बेरोजगार भएर हिंड्छ । बेरोजगारीको अवस्था हुदा पसुपतिनाथको दर्शन गर्न जादा कुनै ब्वाइफ्रेडले धोका दिएकी एउटि सोलुखुम्बु घर बताउने सरल पात्र सुनिता भेटिन्छिन । उनिहरु बिच धेरै दुख सुखका कुरा हुन्छन । सुनिताको ब्वाइफ्रेड भेटाइदिन सन्तोषले निकै सहयोग गर्छ तथापि सफल हुदैन।
एक दिन अचानक सन्तोसको दुबइको भिसा आउँछ , सन्तोस श्रमिकको रुपमा दुबई पुग्छ ।एक जना आनन्द भन्ने नेपाली दाइको साथ पाउछ ।आनन्द दाइले सन्तोसलाई असाध्यै माया गर्छन र सहयोग पनि उस्तै गर्छन । सन्तोस दुबई गएको केही बर्ष पछि गाउमा जनयुद्द बेस्सरी चर्केको हुन्छ , ।सन्तोसको घर गाउमा प्रहरी चौकी नजिकै हुन्छ ।उस्का बुबा आइते प्रहरी चौकीमा खाना बनाइदिने सहयोगीको रुपमा काम गर्थे ।देशमा चर्केको गृह युद्दका बेला माओबादी र सरकारी सेनाको भिडन्तामा सन्तोसको बुबा आइते र आमा चन्चलिको आफ्नै घरमा गोलि लागेर मृत्यु हुन्छ । सन्तोस परदेशमै टुहुरो हुन पुग्छ । उता उच्च शिक्षा अध्ययनको लागि शहर पसेकी माया ब्याचलर सकेर डिग्री पढ्ने तयारीमा हुन्छे ।पढाइ सङै नव गायिका कलाकारको रुपमा स्थापित हुन पुग्छे । संयोगले माया साङितिक प्रस्तुतीका लागी दुबइ पुग्छे , कार्यक्रम हलमा सन्तोषले मायालाई देख्छ तर बोलाउन या भेट्न सक्दैन या चाहदैन किनकी मायाले बिहा गरिसकी अब उस्लाइ डिस्टव नगर्नु भनेर कसैले पत्र मार्फत जानकारी गराइदीइ सकेको हुन्छ । माया सग जिन्दगी काट्ने कति ठूलो सपना बुनेर बसेको सन्तोषको सपना एकाएक टुटिसकेको हुन्छ । बुबाआमा बितेको बियोग त छदै छ त्यही माथी माया सङ प्रेमाभावमा सन्तोस बिक्षिप्त भैसकेको हुन्छ । जहाँ पातलो त्यही छेड भने झै दैव पनि निर्दयी बनेर संतोषमाथी नै खनिन्छन । सन्तोषलाई CIPA नामको दुर्लभ र खतरनाक रोगले समात्छ । परदेशमा उपचार संभव नभए पछि परदेशका सहकर्मी साथीहरू आनन्द दाइ र किरणले सन्तोषलाई नेपाल लिएर आउछन ।उपचारको लागि टिचिङ हस्पिटल राखिन्छ । संतोषले मायालाइ भेट्न चाहिँ रहेको हुन्छ तर दुर्भाग्य माया साङगितिक प्रस्तुतिका लागि पोखरा पुगेकी हुन्छिन । यता सन्तोसको अवस्था चिन्ताजनक हुन्छ ।आइसियुमा राखिन्छ तर सुधार हुदैन । आनन्ददाइले आफ्नो बाचा पूरा गर्न मायालाई खबर पुर्याइदिइसकेका हुन्छन , माया पोखराबाट सन्तोष लाई भेट्न सिधै टिचिङ आइपुग्छिन तर समय ढिला भै सकेको हुन्छ । सन्तोषले यो सन्सार बाट बिदा लिइसकेको हुन्छ । बास्तवमा मायाले बिहा गरेकि हुदिन तर सन्तोषकै मिल्ने साथी जो मायालाइ पहिले देखिनै मन पराउथ्यो र उ सङ बिहा गर्न चाहन्थ्यो उसैले मायाले बिहा गरिसकी भनेर झुटो पत्र पठाइदिएको थियो ।
सन्तोषको निर्जीव शरीर माथी आँसु चुहाएर बसेकी मायाले काठमाडौमै आएका आफ्ना बुबाआमालाइ सन्तोसको मुडो शरीर भए पनि हेर्न बोलाए पछि मायाका बुबाआमा अर्थात खलाबोटे मास्टर र पानकली टिचिङको पारीपट्टि रोडमा बाटो काट्दै थिए ।माया रुदै बुबाआमालाइ अङालो हाल्न दौडदै जादा अचानक गाडीको ठक्करले मृत्युुवरण गर्न पुग्छिन । दुबै जनाको लास आर्यघाटमा सङै जलिरहेको हुन्छ । जिउदो हुदा फरक जातका कारण एक हुन नसकेका सन्तोष र माया एउटै चितामा सङै जल्छन।”प्रेम चोखो र सच्चा छ भने मानिस समाज या कानुनले रोके पनि भगवानले चाहिँ स्वतन्त्र नै छोडिदिदा रहेछन” भन्ने कुरा पनि देखिन्छ । बर्सौ अघि काठमाडौमा सन्तोष सङ भेटिएको आफ्नो धोकेबाज प्रेमी खोज्न बसेकी उहीँ सुनिताले सन्तोषको लास जलाइ रहेकि हुन्छिन।

नेपाली सस्कृती र सस्कारको अनुसन्धान गर्न आर्यघाटसम्म पुगेका एक जना ग्रीस नागरिक या रिसर्चरले जल्दै गरेको दुइ लासको बारेमा निकै जिज्ञासा राख्छन । उनिहरुको अधुरो प्रेम कहानी बारे वृतान्त सुनि सके पछि भावुक हुँदै भन्छन -” “अटेलिस जोई “। बास्तबमा तिनै रिसर्चर को मुख बाट निस्किएको शब्द ” अटेलिस जोई ” ले नै सिङो उपन्यासको नाम बोकेको छ ।

सर्सर्ती पढ्दा सामान्य कथा बोकेर उपन्यास उभिएको देखिए पनि उपन्यासको आयतन भने निकै फराकिलो छ । उपन्यासकार कै भासामा “यो उपन्यास केवल अक्षरहरुको संग्रह मात्र नभई जिवनको गहिरो अनुभवहरुको पोखरी पनि हो । “
यो उपन्यास केवल कथाको धाराप्रबाह मात्र नभएर ग्रामिण जनजीवनको दैनिकी ,बाल्यकालका रहर ,सपना , भोगाइ , द्वन्द्वकालको अवस्था , समाजमा रहेको आर्थिक असमनता ,लाटिकोइली र काक्रेबिहार मन्दिरको धार्मिक महत्व , नेपालको जातिय ब्यबस्थाको ईतिहास ,दलित बर्गले भोग्नु परेको मानसिक तथा सामाजिक असर , वैदेशिक यात्रा , प्रवासको दुख भोगाइ , माया प्रेम आदि सबै समेटिएको दस्ताबेज पनि हो ।

उपन्यासको अन्त तिर
उपन्यासकार ओलिले उपन्यासलाइ सरल तरिकाले बग्ने गरि सन्तोष र माया जस्ता पात्रलाइ उपन्यासको मुख्य भुमिकामा राखेर उपन्यास लेखे पनि उपन्यासको प्रस्तुतीलाई सम्बादको रुपमा हिरा नामकी छाया पात्र संग आफुलाइ मिसाएर थप अर्को कथा जोडेका छन । नचाहदा नचाहदै पनि उपन्यासमा काठमाडौमा भेटिएकी सोलुखुम्बु कि सुनिता र कतारको फुटबल स्टुडियममा भेटिएको हिराको प्रेम कहानी पनि उतारिएको छ । झट्ट हेर्दा यो उपन्यास तीन बेग्ला बेग्लै प्रेम कहानिले भरिएको त्रीबेणी पनि हो जस्तो लाग्छ ।
कतारमा सम्पन्न वल्डकप फुटबलको सन्दर्भलाई भलाकुसरीको पृष्ठभुमि बनाएर लेखिएको उपन्यास भएकोले खेलसङ रुचि राख्ने पाठकहरुले वल्डकपको फाइनल दिनमा भएका रमाइलो गेम र अविस्मरणीय गोलका बारेमा पनि जान्न पाउँछन् । त्यो ऎतिहासिक खेलको बर्णनले उपन्यासलाई अझ मजबुत बनाएको छ ।
पुस्तक लेख्न र बिसय बस्तु खोज्न कतै जानू पर्दैन रहेनछ ,आफ्नै वरिपरि भएका सामान्य दैनिकिलाइ पनि मिठास पुर्ण ढंगले शव्दहरुलाइ सु सज्जित तरिकाले मिलाएर पुस्तक तयार गर्न सकिने रहेछ भन्ने सन्देस पनि दिएको छ यो उपन्यासले ।

कमजोर पक्ष –
१.उपन्यासको सुरुवात खन्डमा कतारमा ब्यक्तिगत आफ्नो दैनिकीलाई जोडेर दोस्रो खन्ड सुरुवात नहुन्जेल सम्मको लेखाइमा पाठकलाई अल्मलाए जस्तो देखिएको छ ।
२.पेज नम्बर ११३ को दोस्रो हरफ तिर ” चकमन्न घाम लागेको थियो ” भनिएको छ ।चकमन्न त रात हुनु पर्ने होइन र ?
३. भाग ७ मा SLC को रिजल्ट भएर माया पात्र उच्च शिक्षा अध्ययान गर्न सुर्खेत पुगेर भाडामा कोठा लिएर बसिसकेकी हुन्छे तर भाग ८ मा चाहिँ बल्ल SLC को रिजल्ट भएर रेडियोले फुक्यो भनिएको छ जहाँ घटना र समयको तालमेल अलि नमिलेको देखिएको छ ।
४. उपन्यास केहि बर्ष अगाडीको घटनाक्रमलाई लिएर लेखिएको तर प्रकासन गर्न केही ढिला गरिएको हुदा पुराना कथालाई ताजा बनाउन नया विषयबस्तु र सम्बाद जोडेर देखाउन खोजिएको छ ।त्यस्ले कता कता पुरानो कोटमा नया कपडा टासेर आधुनिक डिजाइनको बनाए जस्तो देखिएको छ।

उपन्यासमा प्रयोग गरिएका केही मन छुने हरफहरु

१.उमेर अनुसार खुसिले पनि आफ्नो रङ बदल्दो रहेछ ।
२.शंका समाधान भन्दा स्वयमको सखापको सुचक हो ।
३. जति जति मन खाली हुन्छ त्यति नै भारी हुन्छ ।
४.मन परेको र बिश्वास गरिएको मान्छे सङ भए गरेका सबै कुरा ठिक नै लाग्छन चाहे ती गलत नै किन नहोस ।
५.हरेकलाई बाच्न अर्को सङ डराउनपरेको छ ।एक लाई दोस्रो सङ बिस्वास छैन ।
६.मान्छे दुई जनाको सहयाताले जमिन टेक्छ र चार जनाको सहयाताले आकास उठ्छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच