काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताएका हुन् ।
\’तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्,\’ उनले भने, \’सम्झाइ, बुझाइ, फकाइ गरेँ, अलि उदारता देखाएँ । कतिपय उनका कुरा मान्दिएर पार्टी पनि बच्ने र देश पनि अगाडि बढ्ने जाने हो कि भन्ने तर त्यस्तो गर्न सकिने रहेन छ । हामीले सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न सकिएन म तपाईंहरुको अगाडि आत्मआलोचना गर्न चाहन्छु ।\’
ओलीले पार्टीको विधान नमान्ने, पार्टीभित्रका सहमति नमान्ने मात्रै नभइ देशको संविधान नै नमान्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै नमान्ने र विध्वंसतिर जाने काम गरेको दाहालको भनाइ थियो । अध्यक्ष दाहालले ओलीलाई मात्रै दोष दिएर आफूहरु चोखो नरहने भन्दै अब केपी प्रवृत्तिप्रति उदार भएर त्यस्ता काम गर्न दिने भूल आफूहरुले नगर्ने कार्यकर्तामाझ प्रतिबद्धता र संकल्प गरे । आफूहरुको उदारतालाई ओलीले कमजोरी ठानेर दुस्साहस गरेकोले आफूहरु जनतामा आउनु परेको दाहालले बताए ।
वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै दाहालले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताए ।














