विदेशिएको श्रीमानलाई पत्र ( भिडियो सहित )

यो पत्र मैले २०६२ साल,जतिबेला नेपालमा माओबादी युद्धको चरमोत्कर्ष र राजा ज्ञानेन्द्रको शासन चलिरहेको थियो, मा लेखेर केहि पत्रिकाहरुमा प्रकाशित गराउने कोशिस पनि गरेको थिएँ तर अहिले आफुलाई गणतन्त्रका मसिहा नै ठान्ने लगायतका कुनै पनि पत्रिकाले यो पत्र प्रकाशित गराउने हिम्मत नगरेकाले यत्तिकै थन्किएर रहेको थियो आज ढिलै भए पनि मैले मेरो आफ्नै ब्लग मार्फत…

5 मिनेट

पढ्ने समय

यो पत्र मैले २०६२ साल,जतिबेला नेपालमा माओबादी युद्धको चरमोत्कर्ष र राजा ज्ञानेन्द्रको शासन चलिरहेको थियो, मा लेखेर केहि पत्रिकाहरुमा प्रकाशित गराउने कोशिस पनि गरेको थिएँ तर अहिले आफुलाई गणतन्त्रका मसिहा नै ठान्ने लगायतका कुनै पनि पत्रिकाले यो पत्र प्रकाशित गराउने हिम्मत नगरेकाले यत्तिकै थन्किएर रहेको थियो आज ढिलै भए पनि मैले मेरो आफ्नै ब्लग मार्फत जस्ताको तस्तै यहाँहरु सामु प्रस्तुत गरेको छु ।  -लेखक

—————————————————————————————————————————————————————————————————————————————————————————————-

२०६२/१०/०३ 

दुरबस्ति नेपाल

प्रिय आशिष,

हृदयदेखिको पबित्र माया अनि अनन्त सम्झना!

\"\"

कुशल नै छु, अनि कुशलताको खबर पाउनको लागि हर साँझ बिहान निभ्न आँटेको दियोमा तेल थप्दै अदृश्य तर शाश्वत परमात्मा संग प्राथना गरिरहेकी छु। यताको खबर सुन्न आतुर हुनुहुन्छहोला हैन? यताको खबर स-विस्तार बर्णन गर्न त छुट छैन न त म समर्थ नै छु। तर पनि जति मेरो कलमले सक्छ त्यति अबश्य लेख्ने नै छु। 

उफ ! खोइ कहाबाट शुरु गरौ लेख्न…..?गलाबाट चुडिएर भुइभरि छरिएको पोते झैँ भएको छ यताको स्थिति। मेरो आफ्नै बारेमा लेखौ भने, मेरो बास्तबिकता र स्थिति मलाई भन्दा हजुरलाई कम थाहा छैन। घरखेत हुदाहुदै सुकुम्बासी भएकी म, आफन्तहरु हुदाहुदै एक्ली र बेसहारा भएकी अनि आफ्नो देश हुदाहुदै राज्यविहीन भएकी म। तपाई पनि हाम्रो आफ्नै अनि सन्ततिहरुको शुन्दर भविश्यको लागी भन्दै विदेशतिर “पलायन” भएपछिका दिनहरु कसरि बितिरहेका छन् त्यो त म आफुलाई मात्र थाहा छ……। ओ हो ! अब त गन्दा गन्दै चार बर्ष पनि पुगिसकेछ तपाइको न्यानो स्पर्श नपाएको पनि। तपाईसंग छुट्टिएर एक्लै बिताएका दिनहरु सम्झदा मात्र पनि आंग सिरिङ्ग भएर आउछ अनि…..अनि…..श्वास प्रश्वास नै रोकिए झैँ हुन्छ। तैपनि म के नै गर्न सक्छु र ? मात्र प्रेमको दियो नानिभोस भन्ने कामना बाहेक। 

गाँउघरतिरको खबर लेखौँ भने पनि अब को नै बाकी रह्यो र छरछिमेकमा पनि? गै-हा घरे ठुला बुबाको घरमा पड्किएको बमले ९८ बर्षे हजुर आमा देखि ४ महिनाको शुसिल सम्मलाई भाखा समेत राख्न दिएन। बाटामुनि हरि मामाको छिया छिया भएको घाँटिलाई हामीले त के स्वयं ब्रह्मा नै आए पनि जोड्न सकिने सम्भावना नै थिएन। त्यस्तै ज्ञानेंन्द्रोदय मा.बि. का हेड सर र अरु दुइ जना मिसहरुलाई आतंककारिको बिल्ला भिराइएदेखि वहाहरु कहाँ हुनुहुन्छ अत्तोपत्तो छैन। त्यस्तै हिमालय प्रा.बि. का हिमाल सर आफ्नै विद्यालयमा पढ़ाउदा पढाउदै शाही नेपालि सेना संग भएको “भिडन्त” मा हातको चक डस्टर (सायद सकेट बम भनेको त्यही होला) संगै ठहरै भएको पनि अब त पुरा तिन महिना पुगिसकेछ ।अरु पुराना कुरा त के लेखौ र खोइ?

गाउका बिर्खे, श्यामु, भक्त, जिते, हरि लगायत भुराहरू श-सस्त्र प्रहरीबलमा छनौंट भएदेखि कहा छन् कुनै पत्तो छैन भने अर्कोतिर गाउ र देशमा आमुल परिवर्तन ल्याँउछौ भनेर हिडेका प्रतिमा, ज्वाला ,रुपक, सुवास , मिलन, बेदना, क्रान्ति लगायत एक दर्जन भन्दा बढी नाबालकहरुको आमुल परिवर्तनकारी भेल कहाँ आइपुग्यो , न त भेल नै देखिएको छ न त उनीहरु नै फर्किएका छन्। 

सुन्छु आजभोली त नेपाल मण्डलको लागि मात्रै बिशेष रुपमा पृथ्वीलाई पनि उल्टो घुम्ने व्यवस्था मिलायर देशको चौतर्फी अधोगति गर्नको लागि उपाध्यक्षद्वयद्वारा ब्रह्माशनमा बिन्तिपत्र चढाईएको छ रे। सो बिन्तिपत्र सदर भएमा विश्वका अरु समग्र देशहरुलाई छाडेर नेपाल फेरी फर्केर द्वापर, त्रेता हुदै सत्य युग भन्दा पनि पछाडी पुग्ने विश्वको प्रथम देश हुने ग्यारेन्टी गरिएको छ रे। सायद बिन्तिपत्र अनुसार लागु गर्नको लागि परिक्षण प्रयोग थालिएकोले होला आजभोली त राजधानी र अन्य ठुला शहरतिर मध्ययुगिन बर्बर अन्धकार शुरु भैसकेको छ रे। गजबको कुरा दिउसै अध्याँरो हुन्छ रे, बिना गडगडाहट र बिनाबादल नै सडक, चोक, गल्लि र बस्तिहरुमा पानीको होइन टियर ग्याँस, बम, बारुद र गोलीको वर्षा हुन्छ रे। सायद दक्ष प्रजापतिले महादेवको निन्दा गर्दा बिरभद्र र कालिका मार्फत दक्ष प्रजापतिको यज्ञस्थलमा मच्चाइएको ताण्डव नृत्यको आधुनिक अभ्यास गरिदै छ होला। दक्ष प्रजापतिको शिर छेदन गरि आफ्नो जस्तै राक्षसी रुप भएको बोके शिर जोड्ने उपक्रमको प्रयाश होला। तर यो कलियुगमा दक्ष प्रजापतिलाई फेला पार्न नै मुश्किल छ। कति जना दक्ष प्रजापतिको शिर छेदन गरि बोकाको शिर जोडने, असम्भव होइन र? 

ए ! म त कुरै कुरामा कता कता पो पुगेछु। छोराछोरीको बारेमा भन्नु पर्दा – पिंकी र रक्कीको स्कूल बन्द भएको फेरी पनि दुइ महिना भैसक्यो । तर ठिकै छ ,”हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु ” भने झैँ दिनहु विद्यालय र क्याम्पसहरुमा हुने “सुरक्षा फौज ” को धरपकड र ज्यादतीबाट त बचेका छन् नानीहरु । अनि फेरी खाने खर्च पनि धौ धौ परेका बेलामा कम्प्युटर फी, खेलकुद फी, टिफिन फी, लाइब्रेरी फी, बस भाडा आदि त तिर्नु परेको छैन। जाबो ए फर याप्पल र ओ एन इ वान भनेर त मैले पनि पढाउन सकिहाल्छु नि। बरु परिक्षा दिन मात्र पठाउनु पर्ला।
अँ अनि हजुरको आमाको दमको रोग पनि हस्पिटल जान नपरेकोले (बन्दको कारण) बिनाखर्च नै ठिक भएको छ। अब त दबाई नै नखाइकन बस्न सक्ने हुनु भएको छ। रातभरी खोकिरहनुहुन्छ त्यसैले चोर आउला भन्ने डर पनि छैन। 

समग्रमा भन्नु पर्दा गाँउघर र देशमा ठुलै परिवर्तन भैसकेको छ। पत्रमा धेरै धेरै के लेखौ र खोइ। यहाँ लेख्दा लेख्दै कलम नै भाचिन वा हातहरु नै घायल बनाईन पनि के बेर। किनकी अहिले देश पछाडीतिर फर्कीरहेको छ। तपाइलाई थाहा नै छ कि बैदिक कालमा लेख्ने पढ्ने काम ब्राह्मणहरुको मात्र वा राजामहाराजाहरुको मात्र हुन्थ्यो, त्यसैले फेरी पनि होसियार देश साँच्चिकै पछाडितिर पाइला चालिरहेको छ। तर कसलाई के थाहा पछाडी पाइला चाल्दा कहाँनेर कुन खाडलमा परिन्छ भन्ने कुरा। बरु तपाई पनि फुर्सद भएको बेलामा यसो समय मिलाएर पछाडी तिर हिड्ने अभ्यास गर्दै गर्नुहोला। किनकि सधै विदेशमा बसेर त पुग्दैन होला। नेपाल आएपछी त अगाडी हिड्न पाइदैन क्यारे, पछाडी नै हिड्नु पर्छ। त्यसैले अहिले देखि न अभ्यास गर्दै गर्नु होला ।
पत्र अलि लामो नै भयो क्यारे झर्को नमानीकन पढ्नु होला। म भन्दा तपाई आफु नै धेरै जान्ने हुनुहुन्छा क्यारे अरु धेरै के भनौ र । बरु “आमुल परिवर्तन” नामको भेलले बगाएनछ र “आतंककारिको अन्त” नामको हावाले उडाएनछ भने तपाईसंगको भेटमा बाकि सबै कुरा कानमा खुसुक्क भनुला ल । आजलाई यत्ति……..। अस्तु !!!! 

उही तपाईकि सहृदयी 

शुस्मिता सारथी 

दुरबस्ति,नेपाल

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच