काठमाडौं । नेकपाका दुबै पक्षले गरेका बिभिन्न बैठकका निर्णयहरु अद्यावधिक गर्न अस्वीकार गरेको निर्वाचन आयोगले दुबै समूहलाई छलफलका लागि बोलाएको छ ।
आजको छलफलमा दुबै पक्षबाट पाँच–पाँच जना बोलाइएको हो ।
आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन पत्राचार गरेको आयोगले आज ११ बजेबाट दुबै पक्षसँग छलफल गरेको छ ।
नेकपा स्थायी कमिटिले गरेको निर्णय अनुसार बोलाइएको बैठकमा अध्यक्ष ओली पक्ष सहभागी भएको थिएन । ओली पक्ष सहभागी नभएको बैठकमा प्रचण्ड– माधव पक्षका बहुमत केन्द्रीय सदस्य उपस्थित रहेका थिए । सोही बैठकले गरेका निर्णयबारे उक्त पक्षले आयोगलाई जानकारी गराएको भएपनि आयोगले भने त्यसलाई मान्यता दिएको थिएन । यसैगरी केपी ओली पक्षले समेत अल्पमत केन्द्रीय सदस्यहरुको उपस्थितिमा बैठक बोलाउँदै केन्द्रीय सदस्य थप्ने निर्णय गरेको थियो । आयोगले उक्त बैठकलाई पनि मान्यता दिएको छैन ।
निर्वाचन आयोगले नेकपाले गत वर्ष दर्ता गरेको विधान र सो बमोजिमका ४४१ जना केन्द्रीय सदस्यहरु नै आधिकारिक भएको बताएको छ । ती केन्द्रीय सदस्यहरुमध्ये बहुमत केन्द्रीय सदस्य प्रचण्ड–माधव पक्षमा रहेका छन् ।
आजको छलफल मुख्यतः निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने विषयमा भएको बताईएको छ । प्रचण्ड–मात्रधव पक्षसँग स्पष्ट बहुमत रहेकोले नयाँ दल दर्ता गर्नु नपर्ने अवस्था छ। आयोगले उक्त पक्षले गरेका निर्णयको प्रक्रिया नपुगेको कुरा मात्रै उठाएको छ । ओली पक्षले भने नयाँ दल दर्ता गर्ने या ४४१ सदस्यमा बहुमत रहेको दावी गर्ने बाहेक अर्को विकल्प छैन । जबकि बहुमत सिद्द गर्न पनि उनीहरुको पक्षमा बहुमत सदस्य छैनन् ।
यसैगरी आयोगले निर्वाचनसम्बन्धी हालसम्म गरेको तयारीबारे समेत दुबै पक्षलाई जानकारी दिने भएको छ । प्रचण्ड–ाधव पक्ष भने संसद विघटनविरुद्ध संघर्षरत रहेकोले निर्वाचनमा जान नसकिने निष्कर्शमा पुगेका छन् ।
अदालतमा सोही विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचन आयोगले कुनै तयारी गर्न नहुने उनीहरुको जिकिर रहेको बताईएको छ ।
श्रोत: एभरेष्ट दैनिक।














