Admistrator@nepalchautari
राष्ट्रपतिलाई संसदमा आउन नदिने माओवादी तयारी-
एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबारदेखि संसद चल्न दिने बताएका छन्। संविधान सभामा प्रतिनिधित्व गर्ने साना तेह्र दलहरुसँग शुक्रबार छलफल गर्ने क्रममा दाहालले पेश्की बजेट पेशका लागि मात्र संसद अवरुद्ध नगरिने बताएका हुन्। राष्ट्रिय सरकार निर्माण तथा व्यवस्थापिका संसद सुचारु गर्ने विषयमा माओवादीले शुक्रबार साना दलसँग छलफल गरेको थियो। छलफलमा दाहालले सरकारको निति तथा कार्यक्रमलाई सदनमा प्रवेश गर्न नदिने तर पेश्की बजेट ल्याउन भने सरकारलाई अनुमती दिने बताएका थिए। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गर्नुपर्ने हुन्छ। बैठकमा माओवादीले राष्ट्रपतिको कदम नसच्चिएसम्म संसद चल्न नदिने दोहोर्याएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए। माओवादीको संविधानसभा दलको कार्यालयमा बसेको बैठकमा माओवादी नेताहरुले राष्ट्रिय सरकार निर्माणकालागि साना तेह्र दलसँग आग्रह गरेका थिए। राष्ट्रिय सरकारको बारेमा माओवादीले गरेको प्रस्तावमा साना दलहरुले भने राष्ट्रिय सरकारको बारेमा स्पष्ट पार्न माओवादीलाई आग्रह गरेका थिए। यसअगाडि माओवादी सचिवालयको शुक्रबार बिहान बसेको बैठकले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमका विषयमा पार्टीको पुरानै अडान कायम राख्ने निर्णय गरेको थियो। बैठकले दैनिक कामकारवाहीमा असर पर्न नदिन पेश्कि बजेट पेश गर्न दिने सहमति भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए। \”सदन खोल्ने कुरामा हामी सकारात्मक छौ। उहाँहरु पनि सकारात्मक हुनुपर्यो,\” बैठकपछि नेता मोहन वैद्यले भने, \”राष्ट्रपतिको कदम र सेनापति बारे भने सदनमा संवोधन गरिन्छ भनेर उताबाट स्पष्ट पार्नुपर्यो।\” प्रधानसेनापति रुक्माङगद कटवालाई अवकास दिइने माओवादी नेतृत्वको सरकारको निर्णय राष्ट्रपतिले बदर गरेपछि माओवादीले सदन र सडक आन्दोलन गर्दै आएको छ।














