-एसएलसी पास भएपछि

-दीपक भट्टराई काठमाडौं र अन्य शहरकाले एसएलसीको रिजल्ट थाहा पाएको तीन दिन पछि मैले पनि गाउँमा रिजल्ट थाहा पाएँ। पसललाई सामान किन्न बुटबल बजार पुगेका बाले गोरखापत्र पाउनु भएनछ। बुटवलका कपडा पसले साहुका छोराले पनि त्यसै साल एस एल सी दिएका रहेछन्। साहुजीले छोरालाई नम्बर हेर्न लगाएछन्। साहुका छोराले मेरो नम्बर देखाएपछि छोरो फस्ट डिभिजनमा…

4 मिनेट

पढ्ने समय

-दीपक भट्टराई

काठमाडौं र अन्य शहरकाले एसएलसीको रिजल्ट थाहा पाएको तीन दिन पछि मैले पनि गाउँमा रिजल्ट थाहा पाएँ। पसललाई सामान किन्न बुटबल बजार पुगेका बाले गोरखापत्र पाउनु भएनछ। बुटवलका कपडा पसले साहुका छोराले पनि त्यसै साल एस एल सी दिएका रहेछन्। साहुजीले छोरालाई नम्बर हेर्न लगाएछन्। साहुका छोराले मेरो नम्बर देखाएपछि छोरो फस्ट डिभिजनमा पास भएको बाले थाहा पाउनुभएछ। साहुको छोराको नम्बर सेकेन्ड डिभिजनमा थियो रे अनि मेरो चाँहि फस्ट डिभिजनमा। हाम्रा बा मसँग जीवनमा त्यति धेरै खुशी भएको कहिल्यै देख्या छैन त्यस अगाडि र पछाडि। टेस्ट परीक्षामा सेकेन्ड डिभिजन नम्बर ल्याएको र त्यसअगाडि १० कक्षाको अर्ध वार्षिक परिक्षामा \’अप्सनल म्याथ\’ (ऐच्छिक गणित)मा फेलै भएका कारण बाले मेरो पढाई त्यति राम्रो छैन भन्ने थाहा पाइसक्नु भएको थियो। गाउँमा फर्केर आएपछि बाले मलाई काठमाडौं लगेर विज्ञान पढाउने कुरा गर्नु भयो। बा र छिमेकी काकाबीच भएको कुराकानीबाट मैले त्यो कुरा थाहा पाएँ। बा र मेराबीच अहिलेसम्म दोहोरो कुराकानी सायदै भएको होला। उहाँले जे भन्नुहुन्छ त्यसमा मैले अहिलेसम्म नाई नास्ति गरेकै छैन र मेरा कुरा बालाई केही भन्न पर्‍यो भने आमा मार्फत भन्ने हो। २०३५-०३६ सालतिर काठमाडौंमै जागिर खाएर बसेका बा त्यसपछि बेला बेलामा पसललाई सामान लिन काठमाडौं आइरहनुहुन्थ्यो। २०४९ सालको साउन अन्तिममा बा मलाई लिएर काठमाडौं आउनुभयो। नवलपरासीको पहाडी भाग डेढगाउँबाट काठमाडौं आउँदा तनहुँको भिमाद र खैरनीटार बीचमा पर्ने म्याग्दे खोलाले धन्नै बगाएको थियो बाउ छोरालाई। मलाई कट्टु मात्र लगाउन लगाएर बाले मेरो टिसर्ट र पाइन्ट आफ्नो झोलामा कोच्नुभएको थियो। मैले जुत्ता मोजा फुकालेर हातमा समातेको थिएँ। करिब ५० मिटर तल सेती नदीमा म्याग्दे खोलाले मिसाउनुअगाडि हामी ढुङ्गा भरेको जालीमा समातेर एकछिन अडिएका थियौं। एक जनाको दश रुपैयाँ लिएर खोला तारिदिने मानिस त्यहाँ बसेका थिए। जाबो १० रुपैयाँ नतिरेर बाले ज्यानै जोखिममा पारेको मलाई कत्ति चित्त बुझेको थिएन। बल्ल बल्ल खोला तरेर खैरनी आइपुगेपछि हामी नाइट बसबाट काठमाडौं आएका थियौं। काठमाडौंका वटुस्थित कपडा साहुकहाँ लगेर बाले मलाई चिनाउनुभयो। फस्ट डिभिजन ल्याएका छोरालाई क्याम्पस पढाउन ल्याएको थाहा पाएपछि साहुले आफ्नो घर नजिकै डेरा खोज्न सल्लाह दिए। साहुका ३ र १ कक्षामा पढ्ने छोराहरु रैछन्। तिनीहरुलाई फ्री ट्युसन पढाइदिन्छ भन्ने साहुको लोभ हुनुपर्छ। बा र म महाकांलको होटलमा भात खान्थ्यौं र राति सुत्‍न साहुको भेडासिंह घरमा जान्थ्यौं। सानो र होचो ढोका जस्तोबाट भित्र छिरेपछि चोक र त्यस वरपर सात वटा घर देख्दा म छक्क परेको थिएँ। दुई वटा बहाल (चोक) पार गरेर काँचो इट्टा, माटो र काठले बनेको पुरानो घर टेका लगाएर अड्याइएको थियो। हामी चार पाँच दिन त्यहीँ सुतेर दिउसो पसलको सामान किन्न र क्याम्पस खोज्न निस्कने गर्थ्यौं। त्यतिखेर विज्ञान पढाउने नाम चलेका क्याम्पस भनेका अमृत साइन्स र त्रि चन्द्र क्याम्पस थिए। दुबै क्याम्पसमा जाँदा फारम भर्ने म्याद ढिलो भइसकेको जानकारी पाइयो। त्यतिबेला भर्खरै प्राइभेटमा पनि विज्ञान पढाई हुन थालेको रहेछ, प्रदर्शनी मार्गस्थित पद्मोदय स्कूलभित्रै नेपाल साइन्स क्याम्पसमा। साहुले त्यहीं पढाउन सल्लाह दिए। बा र म घर फर्किने भनेको अघिल्लो दिन पद्योदय मोडमा पुग्यौं। क्याम्पस खोज्दै थियौं। गेट बाहिर एकै किसिमको पोशाक लगाएका चार पाँच जना केटा बीयर बोतल हातमा लिएर पिइरहेका थिए। जाँड-रक्सी र चुरोट-बिंडी भनेको देख्‍नै नसक्ने मेरा बाको कन्सिरी तातेको मैले अनुभव गरें। बाले गाउँको पसलमा आवश्यक भएर पनि जाँड-रक्सी, चुरो-बिडी पसलमा पनि कहिल्यै बेच्न राख्‍नुभएन। जबकि हाम्रो गाउँमा भएका हाम्रो पसलसँग प्रतिस्पर्धा गर्ने अरु दुई पसल त्यसकै कारण पनि धेरै चलेका थिए। म पक्का भएँ, अब यहाँ पनि पढ्न नपाइने भयो। बाले मलाई सिधै पुतलीसडकबाट प्रदर्शनी मार्गतिर लिएर हिँड्नुभयो। अलिकति अगाडि बढेपछि हामीले वाल्मीकि क्याम्पस देख्यौं। बाको पछि लागेर म क्याम्पसभित्र छिरें। क्याम्पसमा संस्कृत विषय मात्र पढाइ हुने रहेछ। बालाई झ्याउ लागेको मैले अनुभव गरें। \”अहिलेको जमानामा पनि संस्कृत पढेर कहीँ पार लाइन्छ, बरु अंग्रेजी पढिस् भने ट्युसन पढाएर त खालास्,\” बाले भन्नुभयो। वाल्मीकिबाट निस्केर अलिक अगाडि बढेको रत्‍नराज्य लक्ष्मी क्याम्पस पुगियो। बाले क्याम्पस प्रशासनको कोठा बाहिर झ्यालबाट सोध्नुभयो, अंग्रेजी पढाई हुन्छ ? बालाई प्राइभेट बिए पास गर्न अंग्रेजीले धुरुक्कै पारेको रहेछ। उहाँले अरु सबै विषय कटाए पनि करिब चार साल लगाएर अंग्रेजी पास गर्नुभएको जानकारी मैले क्याम्पस पढ्न थालेपछि थाहा पाएँ। त्यहाँका कर्मचारीले अंग्रेजी पढाई हुन्छ भन्ने थाहा पाएपछि अरु के के विषय छन् भनेर सोध्नुभयो। थुप्रै विषयको नाम लिएझै लाग्छ प्रशासनका कर्मचारीले। बाले त्यहाँ देखेका दुई नयाँ नयाँ विषयमा फारम भराइदिनुभयो, मनोविज्ञान र पत्रकारिता अप्सनल अंग्रेजी त थियो नै। आइएससी पढ्न भनेर काठमाडौं आएको मैले मानविकीमा फारम भरें। त्यतिबेला मलाई पोखराको गन्डकी बोर्डिङ स्कूलमा चार कक्षामा भर्ना पाउन जाँच दिंदाको मास्टरको सम्झना आयो। लिखित परिक्षा दिएपछि उनले सोधेका थिए, भविष्यमा के बन्ने, मैले इन्जिनियर भनेर जवाफ दिएको थिएँ। गाउँका दुई जना काका पर्नेहरु इन्जिनियर पढ्न रुस गएको बेला थियो। १० वर्षे उमेरमा मैले त्यही सम्झेर जवाफ दिएको थिएँ। त्यहाँ मेरो नाम पनि निस्कियो। तर त्यहाँ २ वर्ष भन्दा धेरै पढिएन। फर्केर गाउँकै स्कूलबाट एसएलसी पास गरियो। फस्ट डिभिजनवालाको त्यो बेला आरआर क्याम्पसमा पहिलो लिस्टमै नाम निस्कियो। म एक महिनापछि डसनामा केही लगाउने लुगा, गुन्द्रक, एक पाथी जति बोडी र दाल पोको पारी तन्नाले बेरेर काठमाडौं खाल्डो आइपुगें। हर्लिक्सको सिसामा आमाले हालिदिएको घ्यू झोलामा बोकेर राजधानी आउँदा मलाई विज्ञान पढ्न नपाएकोमा कुनै चिन्ता भने थिएन बरु पत्रकारिता र मनोविज्ञान भन्ने विषय कस्तो होला ? यो पढेर के बनिन्छ होला ? भन्ने कौतुहलताचाहिँ थियो।                                                                                                               क्रमश:


लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच