नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारलाई प्रभाव पार्ने गरी कुनै नीतिमा परिवर्तन नगर्ने संकेत दिएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । लगानीकर्ताहरुसँग गत शुक्रबार भएको छलफल कार्यक्रममा गभर्नर अधिकारीले पुँजी बजारलाई सम्वन्धी नीतिमा कुनै परिवर्तन नगर्ने संकेत दिएपछि शेयर बजारमा सुधार देखिएको हो ।
पुँजी बजारमा नीतिमा गभर्नर अधिकारीले कुनै फेर बदल नगर्ने आश्वासन दिएको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । ‘गत शुक्रबार गभर्नरसँगको छलफलमा पुँजी बजारमा अहिले भइरहेको नीतिमा कुनै परिवर्तन नगर्ने संकेत दिनु भएको छ,’ उनले भने, ‘त्यसका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको हो ।’ यसका अतिरिक्त राजनीतिक माहोल केही सङलिने संकेत देखिएका कारण पनि बजारमा सुधार देखिएको अर्यालको भनाइ छ ।
निरन्तर ओरालो लाग्दै आएको नेप्से गभर्नर अधिकारीसँगको छलफलपछि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्को साता ल्याउने तयारी गरिरहेको छ ।
केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिमा पुँजी बजारमा असर पार्ने खालका नीति आउने हल्ला चलेसँगै बजार निरन्तर ओरालो लाग्दै आएको थियो ।
३०२५ अंक नजिक पुगेको नेप्से २८०० अंकको हाराहारीमा आएको थियो । तर, त्यो हल्ला यर्थाथ नभएको भन्दै गभर्नर अधिकारीले लगानीकर्तालाई आश्वासन दिएपछि शेयर बजारमा एकाएक रौनक थपिएको छ । नेप्से साताको पहिलो दिन ७३.३३ अंकले सुधार आएर २८९८.४३ अंकमा पुगेको छ । कारोबार रकम पनि ८ अर्ब माथि भएको छ ।














