काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ । जसअनुसार नयाँ आर्थिक वर्ष अर्थात् साउन १ गतेबाट यो प्रावधान लागू भएको छ । तथापि, साउन १ र २ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द थियो । तसर्थ, आज साउन ३ गतेको कारोबारबाट लगानीकर्ताले सेयर स्वामित्वको आल्पकालीन र दीर्घकालीन समयावधि छुट्याउनुपर्ने भएको छ ।
नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिको लगानीलाई ७.५०% र १ वर्ष भन्दा बढी अवधि होल्ड गर्नेलाई ५% लाभकर लाग्ने छ । जसअनुसार अबदेखि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा सेयर मौज्दात रहेको समयावधिसमेत गणना गर्नुपर्नेछ । मित्वमा रहेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधिसम्म रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्यासमेत खुलाई इडीआइएस गर्न सीडीएसले लगानीकर्तालाई आग्रह गरेको हो ।
यसको लागि सीडीएसले मेरो सेयर एपमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरी आइतबार साउन ३ गते बेलुका ७ बजेदेखि सञ्चालनमा ल्याएको जनाएको छ । मेरो सेयरको मोबाइल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो सेयर एप अपडेट गरी उक्त सेवा प्रयोग गर्न अनुरोध गरिएको छ ।
मेरो सेयरबाट यसरी छुट्याउनुहोस् समयावधि
लगानीकर्ताले अबदेखि सेयर बिक्रीपछि इडीआइएस गर्ने बेलामा वेटेड एभरेज गणनासँगै स्वामित्वमा रहेको सेयरको अल्पकालीन तथा दीर्घकालीन समयावधि पनि छुट्याउनु पर्दछ । वेटेड एभरेज गणना गरिसकेपछि समयावधि छुट्याउनु पर्दछ । जसका लागि निम्नलिखित प्रक्रियाहरु रहेका छन् ।
१) आफ्नो स्वामित्वमा रहेको धितोपत्रको स्वामित्व अवधि गणना गर्नका लागि ‘माइ पर्चेज सोर्स’ अप्सनमा क्लिक गर्नुहोस् र त्यसभित्र रहेको ‘माइ होल्डिङ्स’ मा क्लिक गर्नुुहोस् ।
२) ‘माइ होल्डिङ्स’ मा आफूले बिक्री गरेको प्रत्येक सेयर छनौट गरी ‘सर्च’ थिच्नुहोस् ।
३) सर्च गरिसकेपछि तपाईको स्वामित्वमा रहेको सेयर संख्या बराबरको कारोबार विवरण डिस्प्ले हुन्छ । त्यसमा सिस्टमले ३६५ दिनभन्दा पुरानो सेयरलाई दीर्घकालीन (लङ टर्म) मानेर ‘एलटी’ र ३६५ दिनभन्दा नयाँ सेयरलाई अल्पकालीन (सर्ट टर्म) मानेर ‘एसटी’ संकेत देखाउँछ । यस सिस्टममा रहेको सबै सेयरलाई सेलेक्ट गरी ‘प्रोसिड’ बटन क्लिक गर्नुपर्दछ ।
४) सिस्टमले दिएको विवरण अनुसारको होल्डिङ अवधिमा असहमति भएमा ‘युजर डिफाइन्ड होल्डिङ डेज’ अप्सन मार्फत आफैं विवरण पेश गर्न सकिनेछ । तर, ‘रिमार्कस्’ मा आफूले भने आफूले होल्ड गरेको वास्तविक समयावधिको प्रमाण पेश गर्नुपर्दछ । यति गरिसकेपछि ‘प्रोसिड’ बटन थिच्नुपर्दछ ।
५) यदि तपाईंको स्वामित्वमा रहेको सेयर मर्जर एक्विजिसनमा गएको कारण कर छुट हुने समयावधिमा छ भने ‘युजर डिफाइन्ड मर्जर फ्लाग’ सेलेक्ट गरी ‘रिमार्कस्’ मा खुलाउनु पर्दछ । त्यसपछि ‘प्रोसिड’ बटनमा क्लिक गर्नुहोस् ।
६) त्यसपछि सहमति जनाउने चेकबक्समा सेलेक्ट गरी अपडेट बटनमा क्लिक गर्नुहोस् । यसरी तपाईंको सेयर अल्पकालीन तथा दीर्घकालीनमा विभाजन हुन्छ ।
७) यसरी आफ्नो स्वामित्वमा रहेको धितोपत्रको समयावधि विभाजन गरिसकेपछि पुनः ‘माइ इडीआइएस’ मा क्लिक गरी ‘ट्रान्स्फर सेयर’ मा क्लिक गर्नुहोस् ।
८) त्यसपछि, सेटलमेन्ट आइडीसँगै रहेको भिउ डिटेल्समा क्लिक गरी बिक्री कारोबारलाई सेलेक्ट गरी प्रोसिड गर्नुहोस्् । त्यसपछि तपाईंले बिक्री गरेको सेयरलाई मर्जर एक्विजिसनका कारण कर छुट हुने, दीर्घकालीन र अल्पकालीन स्वामित्वमा रहेको संख्यामा बाँडफाँट गरिन्छ । त्यसपछि इडीआइएसका लागि कन्फर्म गर्नुहोस् ।
९) यस विधि अनुसार अपटेड गरेको विवरण तपाईंको राफसाफ सदस्यलाई प्राप्त हुन्छ । योही विवरण अनुसार राफसाफ सदस्यले तपाईंको कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नेछन् ।
ब्रोकरले के गर्नुपर्छ ?
अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था भएसँगै सेयर दलाल (ब्रोकर) ले पनि अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ता छुट्याउनु पर्छ । लगानीकर्तालाई सेयर बिक्री गर्दा आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागतको भारित औसातसँगै बिक्री गरेको सेयरको स्वामित्व अवधि समेत स्वघोषणा गर्न लागाउनुपर्छ ।लगानीकर्ताले आफूसँग भएको सेयर स्वामित्व हस्तान्तरणको मितिको आधारमा अवधि वर्गीकरण गर्नका लागि मेरो सेयर एपको प्रयोग गर्न लागउनुपर्छ । जसका लागि लगानीकर्तालाई सुसूचित गराउन सीडीएसले भनेको छ । लगानीकर्ताले मेरो सेयरमा राखेको विवरण ब्रोकरले डाउनलोड गरेर आफ्नो ब्याक अफिस सफ्टवेयरमा राख्न लगाउनु पर्छ ।
लगानीकर्ताले स्वघोषणा गरेर प्रदान गरेको धितोपत्रको विवरणलाई पुँजीगत लाभकर गणना गर्नका लागि सीडीएसको सीएनएसमा प्रत्यक बिक्री कारोबारमा कर छुट हुने संख्या, दीर्घकालीन तथा अल्पकालिन स्वमित्वको संख्या अनिवार्य रुपमा उल्लेख गर्नुपर्छ । उक्त उल्लेखित विवरण ब्रोकरको आफ्नो ब्याक अफिस सफ्टवेयरमा राखेर सीडीएसको ढाँचामा फाइल तयार गरेर अपलोड गर्नुपर्ने सीडीएसले जनाएको छ ।