बाई एन्ड होल्ड यस्तो रणनीति हो जहाँ लगानीकर्ताले सेयर, म्युचुअल फन्डलगायतका धितोपत्रहरु खरिद गर्दछन् र लामो समयसम्मका लागि होल्ड गर्दछन् । यसमा बजारको नियमित उतारचढावसँग कुनै सरोकार हुँदैन । बेन्जामिन ग्राहम, वारेन बफेटलगायत विश्वविख्यात लगानीकर्ताहरु यस रणनीतिको पक्षमा रहेका छन् । यी दुवैलाई भ्याल्यू इन्भेष्टरका रुपमा चिनिन्छ । वारेन बफेट सफल भ्याल्यू इन्भेष्टर हुन् भने ग्राहम बफेटका गुरु पनि ।
यसबाट पनि दीर्घकालीन लगानी गर्ने ‘बाई एन्ड होल्ड’ रणनीतिको महत्व कत्तिको छ भन्ने अनुमान लगाउन सकिन्छ । पुँजी बजार उतारचढावयुक्त हुन्छ । कारोबार समयमा सेयरहरुको भाउ निरन्तर तलमाथि भइरहन्छ । तसर्थ, जोखिम पनि अत्याधिक हुने गर्दछ । चिर्चित पुुस्तक ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ का लखक बेन्जामिन ग्राहमले त छोटो समयमा सेयर खरिदबिक्री गर्ने कार्यलाई जुवा खेले बराबर नै हो भनेका छन् ।
ग्राहम भन्छन्, ‘वास्तविक लगानी लामो समय अवधिमा मात्र हुन्छ ।’ अधिकांश लगानीकर्ताका लागि ‘बाई एन्ड होल्ड’ रणनीति नै उचित मानिएको छ । यसलाई दीर्घकालीन वित्तीय लक्ष्य हुनेहरुले त झन् छुटाउनै नहुने विज्ञ लगानीकर्ताहरुले सुझाव दिने गरेका छन् ।
विश्व बजारमा हालसम्मको इतिहास हेर्ने हो भने बजारबाट अत्याधिक सफलता पाएका अधिकांश व्यक्तिहरु दीर्घकालीन लगानीकर्ता नै रहेका छन् । बजारका नव प्रवेशीले सुझाव लिने र अध्ययन गर्ने पनि यिनै लगानीकर्ताहरुबाटै हो । तसर्थ, बाई एन्ड होल्ड रणनीतिलाई प्रयोग गर्नु निकै फाइदाकारी देखिन्छ । अल्पकालीन अवधिमा पैसा कमाउनु र सम्पति निर्माण गर्नु दुई फरक पाटाहरु हुन् ।
दीर्घकालीन लगानीले सम्पति निर्माणमा जोड दिएको छ । यद्दपि, सबै लगानीकर्ताहरु यस रणनीतिको पक्षमा भने देखिँदैनन् । कतिपयले यसलाई निष्कृय लगानीको रुपमा लिने गरेका छन् । तसर्थ, सेयर बजारमा सक्रिय रुपमा कारोबार गर्ने कारोबारी तथा पोर्टफोलियोलाई निरन्तर परिमार्जन गरिरहने लगानीकर्ताहरु पनि यसको विपक्षमा देखिने गरेका छन् ।
तर कुनै कम्पनीमा दीर्घकालीन लगानीको फाइदा भने धेरै छन् । सबैभन्दा ठूलो फाइदा त कम्पाउण्डिङ रिटर्नकै हुन्छ । साथै, बजारको दैनिक उतारचढावले लगानीकर्ताको मनोविज्ञानमा पार्ने असरबाट मुक्त हुन र विवेकपूर्ण निर्णय गर्न पनि र्दीघकालीन लगानीले सहयोग गर्छ । यसअघि कतिपयले दीर्घकालीन लगानीमा आधारित बेन्जामिन ग्राहमका पुस्तकहरु अब प्रयोजनबिहीन बनेको आरोप समेत लगाएका थिए ।
तर बफेटले भने ग्राहमका पुस्तकहरु पुनः अध्ययन गर्न र लगानीको मनोविज्ञान खण्डमा फोकस हुन सुझाव दिँदै आएका छन् । यता, दीर्घकालीन लगानीकर्तालाई कर तिर्नुपर्ने रकम पनि थोरै हुन्छ । नेपालमै पनि हालैमात्र अल्पकालीन लगानीकर्तालाई ७.५% र दीर्घकालीन लगानीकर्तालाई ५% मात्र पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरिएको छ । विभिन्न कमिसन र सेयर कारोबार लगात पनि दीर्घकालीन लगानीमा न्यून हुन्छ ।














