-म मर्नै लागेँ, आऊ सावित्री\’

म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बाबित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, दुइटा भैंसी, एकहल गोरु, दस-बाह्रवटा बाख्रा। तिनै बाख्रा लिएर म वन जान्थेँ। घाँस काट्थेँ। पुतलीझैं रमाउँथेँ। इन्द्रधनुष हेरिहुँजस्तो…

13 मिनेट

पढ्ने समय

म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बा\"sabitri\"बित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, दुइटा भैंसी, एकहल गोरु, दस-बाह्रवटा बाख्रा। तिनै बाख्रा लिएर म वन जान्थेँ। घाँस काट्थेँ। पुतलीझैं रमाउँथेँ। इन्द्रधनुष हेरिहुँजस्तो लाग्थ्यो। मेरो मन पनि त जुरेलीजस्तै थियो। म सानी जुरेली थिएँ। आमा र दुई दाइले खुब माया गर्थे। घरकी कान्छी म नै त थिएँ। दिनभरि छिमेकका दिदीसित पुतली खेल्थेँ। आमा प्रायः पिँढीमा बसेर गुन्द्री बुन्नुहुन्थ्यो। मैले पनि गुन्द्री बुन्न सिकेँ। अरूलाई के था\’ ? गुन्द्रीसँगै म आफ्ना कलिला रहर बुन्थेँ। ०२१ साल पुसको ठिहिर्‍याउँदो दिन थियो। म गुन्द्री बुनिरहेकी थिएँ। अचानक घरमा तीन-चारजना मान्छे आइपुगे। साथमा बाह्र वर्षजतिको सानो केटो थियो। म गुन्द्रीकै तानमा अल्झिएँ। घरमा जो आउन्, मलाई के मतलब ? तिनीहरूले एकछिन आमा र दाइसित गुनगुन गरे। मैले त्यति वास्ता गरिना। धेरै बेरपछि तिनीहरू गए। साँझपख पो छिमेकका दिदीले जिस्काए, \’तेरो ब्या छिन्न आ\’रैछन्।\’ \’उता जाऊ।\’ म हाँसेँ। \’अहिले हाँस्छेस् ?\’ दिदीहरूले खुचिङ गरे, \’डोली चढेर जाँदा त रोलिस् नि।\’ माघे संक्रान्तिमा टिकाटालो गर्ने कुरा पो भएको रै\’छ। माघ २ गते, दुई बजेतिर फेरि तिनै मान्छे आए। पिँढीमा बसे। म घरमै थिएँ। तिनीहरूलाई देखेर डरडर लाग्यो। \’अस्ति पनि आ थे।\’ म छक्क परेँ, \’आज फेरि तिनै मान्छे किन आए ?\’ एकछिनमा त थाहा पाइहालेँ किन आ\’का रै\’छन् भनेर। मुटु ढक्क फुल्यो। के गरूँ के गरूँ भो। मैले ट्याप्प डोको समाएँ। \’गोठालो जान्छु\’ भन्दै म कराएँ। \’आज तिमी नजाऊ,\’ कान्छा दाइले डोको समाए, \’आज त मै गोठालो जान्छु।\’ म भाग्न पाइना। टोलाउँदै बसेँ। मान्छेहरू मलाई बेलाबेला पुलुक्क हेर्थे। \’सावित्री,\’ आमाले भित्र बोलाइन् र भनिन्, \’यो घाँघर लगा त।\’ अस्ति भर्खर सिलाको नयाँ घाँघर लगाउन पाउँदा म के छोड्थेँ, लगाइहालेँ। नयाँ कपडा लगाउन पा\’को खुसीले जुरेलीझैं फुरुंग भइहालेँ। अनि हतार-हतार आमाले अक्षता मुछिन्। केटा र मलाई अक्षता लाइदिइन्। मैले केटोतिर हेरे त मरिजाउँ। किन हेरूँ, जस्तो लाग्यो। पन्ध्र मिनेटजति बसेर मान्छे फर्किए। भोलिपल्ट पाधेरामा दिदीले सोधिन्, \’बिहे छिनियो हैन त, तेरो ?\’ \’धेर नकरा,\’ म बम्किएँ। \’केटाले टिका लाएर गयो,\’ दिदी हाँसिन्, \’अझै बम्किन्छेस् ?\’ \’टिका लाओस् कि नलाओस्,\’ कराएँ, \’मलाई के मतलब।\’ त्यै पनि मन भरंग भो। त्यसपछि त जति दिन बित्दै जान्थ्यो, मन उति रुन्चे हुन्थ्यो। मैले थाहा पाइसकेकी थिएँ, विवाह भएपछि अर्काको घर जानुपर्छ। अर्काको घर जाने कुराले मेरो निद हर्न थाल्यो। कति रात त निदाउन पनि सकिना। एकदिन अचानक मैले थाहा पाएँ, मेरो बिहे हुन त पन्ध्र दिन मात्र बाँकी रै\’छ। म दिनभर करेसामा बसेर रोएँ। सोचेँ, यति सानी म पनि नअटाउने यस्तो साँघुरो भो र घर ? \’अहिले त बिहे पो गर्नी हो,\’ एकदिन आमाले सम्झाइन्, \’हुर्केपछि पो जाने हो।\’ आमाको कुराले ढाडस दियो। \’बस्लिस् माइत,\’ दिदीहरूले भने तर्साइदिए, \’तालाई त पठाइहाल्छन्।\’ मेरो सातो गयो। म पखेटा कुँजिएको जुरेलीझैं छट्पटाउन थालेँ। जतिजति बिहेको दिन नजिक आउँथ्यो, म रातभरि कल्पन्थेँ, यो रात कहिल्यै नसकियोस्, अनि दिनभरि रुन्थेँ, अब रात नपरोस्। दिन पनि एकदम छोटा लाग्थे। जब रात पथ्र्यो, म भक्कानिन्थेँ, फेरि एउटा दिन सकियो भनेर। गोठालो जाँदा, पाधेरो जाँदा म मनभरि रुन्थेँ। आँखा पनि बेस्मारी भत्भताउँथे। मैले दिनहरू थाम्न सकिना। ती आए, गए। आखिर बिहेको दिन पनि आइपुग्यो। अघिल्लो रातभरि म रोइरहेँ। भोलि यो घर छाडेर म कसरी जान सकूँला र ? भोलिपल्ट २२ जनाजति मान्छे घर आए। मलाई कता भागूँ, कता भागूँ भयो। तर म सानी केटी कता भाग्थेँ र ? आमाले बाइसहाते धोती लगाइदिइन्। म त्यसमा फनफनी बेरिएँ। आखिर धोती मैले फुकाउन नसक्नेगरी जेलियो। म जग्गेमा बसेँ। छेउमा केटो बस्यो। उसले जामा र पगरी लाएको थियो। नाम रै\’छ, सूर्यप्रसाद खनाल। पूजापाठ भो। सिउँदोमा सिन्दुरको धर्को बस्यो। आखिर डोली चढ्ने बेला आयो। मेरा हिक्का छुट्न थाले। सप्पै मिलेर मलाई डोलीमा सुताइदिए। हिँड्ने बेला आमाले मसिनो आवाजमा भनिन्, \’नानु, भोक लागे दही खानू।\’ गुम्लुंग चारैतिर छोपेको डोलीभित्र रुँदारुँदै म निदाएछु। पछि, आमाजूले ब्युँझाइन्, \’नानी। भोक लाग्यो ? क्यै खान्छ्यौ ?\’ \’नाई।\’ \’अटेरी नगर, खाऊ।\’ \’खान्ना भनेपछि खान्ना।\’ साँझपख घर आइपुग्यो। राति म सासूसितै सुतेँ। झल्याँस्स-झल्याँस्स घरको सम्झना आउँदा हिक्का छुट्थे। कोल्टे परेर रातभरि रोएँ। किनभने, मेरो बिहे भइसकेको थियो। त्यसबेला म १० वर्षकी थिएँ। ….

\’दुलहीले खाना पकाउनुपर्छ।\’ बिहान सबैले भने। म त रातभरि रोएकिले कमजोर भइसकेकी थिएँ। मलाई पकाउनै मन लागेन। कहाँकी मान्छेलाई कहाँ ल्याइपुर्‍याए ? \’बुहारी, खुरुक्क पकाऊ,\’ सासुले कर गरिन्। मैले रुँदै फुरौला पकाएँ। लहरै भान्सामा बसेकालाई बाँडिदिएँ। पछि त अझ के भन्न थाले भने, दुलाहा र दुलहीले सँगै खानुपर्छ रे। मैले अलिअलि खाएँ। छेउमै दुलाहा थियो। मलाई त ऊतिर हेर्नै मन लागेन। देख्यो कि रिस उठ्थ्यो। सोच्थेँ, मसित नै किन बिहे गर्नुपरेको होला ? त्यही दिन म माइत फर्किएँ। फेरि भोलिपल्ट ससुराले घर लगे। पाँच दिनपछि फेरि माइत आएँ। उकालो-ओरालो हिँड्दाहिँड्दै म थाकिसकेकी थिएँ। माइतमै एक हप्ता बित्यो। \’सोह्रौं दिन घरमा बस्नुपर्छ\’ भन्दै ससुरा लिन आए। सोह्रौं रात किन घरमा बस्नुपर्छ, मलाई थाहा थिएन। अहिले पनि थाहा छैन। सोह्रौं रातको भोलिपल्टै मलाई लिन दाइ आइपुगे। त्यसपछि धेरै दिन म घर गइना। म माइतमै बसेँ। आफू जन्मेको आँगनमा रमाएँ। दिन फेरि उस्तै भए। माइतमा एक वर्ष कसरी बित्यो, थाहै भएन। चैतको अन्तिम हप्ता थियो, सायद। आमाजू टुप्लुक्क आइपुगिन्। उनलाई देखेर म झस्किएँ। \’धेरै दिन भो साइली अब घर हिँड,\’ आमाजूले भनिन्। \’जान्ना,\’ म अन्कनाएँ। आमाजूले खुब फकाइन्। नगई सुख भएन। पर्सिपल्टै दाइ आइपुगे। दाइले सोचेछन्, \’बैनी खुब रोइहोली।\’ फेरि म माइत फर्किएँ। तिनै आँगन, वन, पाधेरो, जुरेलीसँगै रमाएँ। सबै ठिक थियो। तर, एकदिन गोठालो जाँदा वनमै बेस्मारी चक्कर आयो। उल्टी भो। उँधोउँभोले मलाई न्याक्न थाल्यो। गोडा लगलगी काँप्न थाले। एकदिन धारामा पानी लिएर फर्किंदा बारीको डिलबाट म गाग्रीसँगै पछारिएँ। अबेरसम्म बेहोस भइछु। माइली आमाले देखेर आफ्ना घर लगिछन्। पौने एकघन्टा पछि म ब्युझिएँ। \’तिमी त बेहोस भइछौ,\’ काकाले भने। काका अलिअलि झारफुक पनि गर्थे। बेसार र अक्षता मुछेर फुकिदिए। \’मलाई के भा होला, काका ?\’ \’मसान ला रै\’छ,\’ काकाले भने, \’मैले फुकिदिएँ, अब सन्चो हुन्छ।\’ म घर आएँ। आमा मेरो हाल देखेर भक्कानिइन्। एक हप्तापछि हतारिँदै आमाजू आइन्। म कमजोरीले सुतिरहेकी थिएँ। उता केटालाई पनि उँधोउँभो भएछ। \’साइली,\’ आमाजूले सुनाइन्, \’तिम्रो हातको पानी खान पाए त सन्चो हुन्थ्यो कि भन्या छ।\’ \’जान्ना,\’ म झर्किएँ, \’मरे पनि के भो।\’ \’त्यस्तो नभन, साइली,\’ उनी निरास भइन्, \’मेरो भाइ मर्‍यो भने …।\’ आखिर म आमाजूका पछि लागेँ। घर पुग्दा त उनी पिँढीमा कम्मलमा बेरिएर भित्तामा अडेस लागेका रै\’छन्। उनको छेउछाउ पिँढीमा अरू पनि मान्छे थिए। आँगनमा मलाई देखेर गाइँगुइँ भयो। उनका आँखा बन्द थिए। \’आमा आ\’को हो ?\’ उनले सुस्त सोधे। \’हो बाबु। आई।\’ \’छेउमा बस्न भन्दिनू न,\’ उनको आवाज पनि एकदम कमजोर भइसकेको थियो। बिचरा खुब दुब्लाएछन्। हड्डी मात्र थिए। गालाका हड्डी पनि ठूल्ठूला देखिन्थे। \’यता बस त, साइली,\’ सासूले उनको छेउ देखाइन्। \’बस्दिना।\’ \’पानी देऊ बुहारी,\’ रुन्चे स्वरमा सुसुराले भने। म अन्कनाएँ। मान्दै मानिना। सासू जंगिइन्। मैले दुई चम्चा पानी ख्वाइदिएँ। उनले घुटुक्क निले। पछि छेउछाउका अरू मान्छेले सुनाए, \’अघिसम्म त खानै मानेको थिएन। अहिले खुरुक्क खायो।\’ एकरात त बित्यो, भोलिपल्ट एकरत्ति पनि घरमा बस्न मन लागेन। \’अब म बस्दिना।\’ \’बिरामी छ,\’ अरूले सम्झाए, \’छोडेर नजाऊ।\’ \’जान्छु भनेपछि जान्छु जान्छु,\’ मैले ढिपी लिएँ। आखिर म एक्लै माइत हिँडेँ। \’ज्वाइँलाई कस्तो छ ?\’ घर पुग्दा आमाले सोधिन्। \’के छ, के छ,\’ मैले हात नचाएँ। \’पानी ख्वाइनौ ?\’ \’अँ,\’ मैले ढाँटे, \’एक कचौरा ख्वाएँ।\’ वैशाख लाग्यो। हाँगामा कलिला पात पलाए। मेरो ज्वरो पनि पलायो। उता उनको पनि फर्केछ। आमालाई चिन्ताले सताउन थाल्यो। एकदिन ज्योतिष काकाकोमा एक बटुको चामल र पाँच रुपैयाँ लिएर गइन्। \’एउटा जान्छ,\’ काकाले भनेछन्, \’खड्को छ।\’ घर फर्केर आमा रातभरि रोइन्। त्यसपछि त मैले धेरैपल्ट आमालाई रोएको देखेँ। \’किन रो\’को ?\’ \’त्यस्सै,\’ आमाले ढाँटिन्। गाउँभरि हल्ला पनि फैलिएछ- दुइटै बिरामी छन्, एउटा जान्छ अरे।\’ वैशाखका अन्तिम दिन थिए, उता घरबाट खबर आयो, \’त्यसको मुख नहेरी मर्दिना भन्या छ।\’ उनलाई त साह्रै भएछ। मलाई लिन जेठानी आइन्। म पनि थलिएर उठ्नै नसक्ने भएकी थिएँ। गाउँकै एकजना नेवार दाइले बोकेर लगिदिए। म आइपुगेको थाहा पाउनेबित्तिकै सासूले भनेछन्, \’पानी ख्वाउन भन्दिनू।\’ नेवार दाइले मलाई उनकै छेउमा राखिदिए। मैले आफ्ना काँपिरहेका हातले तीन-चार चम्चा पानी ख्वाइदिएँ। भोलिपल्ट मलाई बस्नै मन लागेन। \’घर जान्छु\’ भनेर कर गर्न थालेँ। कसैले नमानेपछि एक्लै हिँडिदिएँ। अहिले लाग्छ, त्यस्तो चक्कर लाग्दालाग्दै पनि म कसरी माइत पुगेँ ? मलाई त बाटोमै ढलेर मर्छु कि जस्तो लाग्या थ्यो। \’किन हिँडेर आ\’की ?\’ आमाले सोधिन्। \’मर्न लागेँ म त,\’ यत्ति भनेर म ओछ्यानमा पछारिएँ। एक हप्तापछि उनको घरतिरबाट दुईजना मगर आएछन्। वरिपरिका घरमा सोधेछन्, \’सलंग इस्तरपानी भट्टाकी छोरीको घर कुन हो ?\’ \’किन ?\’ \’उहाँको लोग्ने बित्नुभो।\’ गाउँभरि हल्लाखल्ला मच्चिएछ। सबैले हाम्रो घर देखाइदिएछन्। मगरहरू घरको पिँढीमा थचक्क बसे। मैले केही पनि नखाएको पाँच दिन भइसकेको थियो। काका हतारिँदै आए। केरा र घ्यु पकाए। \’खाऊ त, नानी।\’ \’खान्ना।\’ \’काकाले कस्तो माया गरेर पकाको,\’ अरूले सम्झाए, \’खाऊ नानू।\’ मैले अलिअलि निलेँ। हतारिँदै गाउँका नेवार दाइ पनि आइपुगे र मलाई बोके। म घर पुग्दा त उनलाई मसानघाट लगिसकेका रै\’छन्। तीन घन्टा टाढा। ससुरा किरिया बस्ने तयारीमा थिए। \’मेरो छोरा त गयो। मेरा पोइ पनि मर्छन्,\’ राति सासु कराइन्, \’किरिया यसैले बस्नुपर्छ।\’ \’यस्ती बिरामी छन्,\’ नेवार दाइले सम्झाए, \’किरिया नबसाल्नुस्।\’ \’जे हुन्छ, हुन्छ,\’ सासु राँक्किइन्, \’मरे पनि मर्छे।\’

मैले देखेँ, नेवारदाइले सुटुक्क आफ्ना आँसु पुछेका थिए। सबैले मलाई धारामा लगे। मेरा चुरातिर ढुंगा सोझ्याए। एक हप्ताअगाडि चुरौटेले टम्म लाइदिएका हरिया र राता चुरा मेरा नाडीभरि थिए। मेरो सातो गयो। \’नफुटाल मेरा चुरा,\’ म रोएँ। \’पछि राम्रा लाउली, नानू।\’ र, झर्‍यामझुरुम मेरा चुरा फुटाले। सिन्दुर पखालिदिए। सेतो धोतीले फनफनी बेरिदिए। त्यसपछि, त मैले हनहनी ज्वरोमा पनि एघार दिनसम्म नुहाएँ। केही खान मन थिएन। पेट सुक्दै जान थाल्यो। \’भात पकाएर खाऊ\’ भनेर धेरैले सम्झाए। म पकाउँथेँ तर धारामा घोप्टयाएर फर्किन्थेँ। बाह्रौं दिनमा नुन खुल्यो। तैपनि मैले केही खान सकिना। यसरी ज्वरोले न्याक्दा, एघार दिनसम्म भोकै बस्दा, हरेक दिन नुहाउँदा पनि म बाँचेँ। \’यो पनि मर्छे कि भन्ने ठान्या थेँ,\’ सासुले बचन लगाइन्, \’बाँची।\’ त्यसपछि मलाई एकछिन पनि बस्न मन लागेन। \’माइत जान्छु\’ भन्दै रुन थालेँ। \’जाने भए जा,\’ सासु फनफनिइन्, \’तर यो एउटा खड्कुलो माँझेर जा।\’ म झन् रुन थालेँ। कमजोरीले रिंगटा चल्न थाल्यो। \’भो यता रुवाएर नराखम्,\’ आमाजूले यत्ति भनेपछि मैले बाटो पाएँ र थकित पाइला लतार्दै माइत फर्किएँ। हरियो सारी र ब्लाउजभित्र सुक्नसम्म सुकेको ज्यान। बुच्चा नाक र कान। रित्ता नाडी। आफैलाई देख्दा भक्कानो छुट्थ्यो। त्यसैले दिउँसै गाउँ पस्न सकिना। दिनभरि नजिकको वनमा लुकेर बसेँ। म आफ्नो फेरिएको रूप लिएर कसैका अगाडि उभिन नसक्ने भएकी थिएँ। साँझपख बारीमा छेलिँदै-छेलिँदै मैले माइतीको आँगन टेकेँ। रातभरि ऐनामा आफ्ना बुच्चा कान र नाक हेर्दै रोइरहेँ। म ११ वर्षकी बिधवा। …. एक वर्ष बित्यो। म श्राद्धमा गएँ। भोलिपल्टै फर्किएँ। त्यसपछि फेरि कहिल्यै गइना। तीन वर्ष फेरि पहिला जसरी नै बिते। वन जान्थेँ। घाँस काट्थेँ। फरक यत्ति थियो, अब मसित चन्चलता थिएन। अरू पनि मलाई बिधवा ठान्थे। पछिपछि धेरै केटाहरूले वनमा पछ्याए। \’मसित बिहे गर,\’ कतिले त भनी पनि हाल्थे। \’मसित यस्ता कुरा नगर।\’ यसरी अरूले पछ्याएको घरमा पनि थाहा भो। आमा र दाइले मेरो सातो लिए, \’तैंले फेरि बिहे गरिस् भने यो घरमा पाइला नटेक्नू।\’ मेरो आफ्नो भन्नू यही त एउटा घर थियो, म कसरी फेरि नफर्किने गरी जान सक्थेँ र ? धेरैले पछ्याउन थालेपछि मैले वनै जान छोडिदिएँ। ठूली आमाको छोरा -दाइ) काठमाडौंमा थिए। एकदिन मैले उनकै भरोसामा भनिदिएँ, \’आमा अब म \’नेपाल\’ जान्छु।\’ आमा छक्क परिन्। केही दिनमै दाइले काठमाडौंमा मलाई काम खोजिदिएछन्। उनको कुरा सुनेर घरका दाइले पनि मलाई रोक्न खोजेनन्। \’साँच्चै ता जान लागिस् ?\’ थाहा पाइछन् क्यारे आमाले पनि, सोधिन्। \’अँ … म नगई छाड्दिना।\’ हिँड्ने बेला आमाले दाइलाई रुन्चे स्वरमा यत्ति भनिन्, \’जानै आँटी। यसको ख्याल राखिदिनू।\’ र, मैले दोस्रोपल्ट माइत छाडेँ। त्यतिबेला म १५ वर्षकी थिएँ। … राजा महेन्द्र मरेको भोलिपल्ट म काठमाडौं आइपुगेकी थिएँ। दाइले जाउलाखेलमा एउटा कर्मचारीका घरमा भाँडा माझ्ने र भात पकाउने काम खोजिदिएका थिए। घरमा उनकी श्रीमती, सानो छोरा र एउटी बहिनी थिए। मेरो तलब १० रुपैयाँ भयो। कर्मचारी पनि कस्ता भने, बिहान छ बजे नै अफिस जाने तर भात खाएरै। मलाई घडी हेर्न आउँदैनथ्यो। घडी पनि भए पो Û कति बज्यो, म थाहा पाउँदिनथेँ। भान्सामा सुत्थेँ, जब झल्याँस्स ब्युँझन्थेँ, भात पकाइहाल्थेँ। अनि कुर्न थाल्थेँ। कहिलेकाहीँ त राति एघार बजे नै भात पकाउँथेँ कि के हो, रातभरि जाग्राम बस्थेँ। एकदिन उनले एउटा नोट दिँदै भने, \’नानी छोरालाई कापी ल्याइदेऊ।\’ म पसल गएँ, कापी मागेँ र पैसा दिएर फर्कें। \’फिर्ता खोई ?\’ उनले सोधे। \’के ?\’ म त छक्क। \’पैसा।\’ मलाई के थाहा कतिको नोट थियो, त्यो। \’तिमीलाई थाहा छैन ? मैले कतिको नोट दिएको थिएँ ?\’ म बोलिना। \’पढ्न आउँदैन ?\’ \’आउन्न,\’ मैले सुकेको आवाजमा भने। उनले बहिनीलाई बोलाएर भने, \’आजैदेखि यिनलाई पढ्न सिकाऊ।\’ आखिर मैले डेढ महिनामै अक्षर चिनेँ र बांगाटिंगा अक्षरमा पहिलोपल्ट आफ्नो नाम लेखेँ, \’सावित्री खनाल।\’ त्यतिबेला म १६ वर्षकी थिएँ। … आफैले चिठी लेखेर घर पठाएपछि घरमा पनि सबै खुसी भए- \’नेपाल गएर राम्रै गरिछ।\’ चार महिनापछि, एउटा दुधवालाले मलाई थापाथलीमा काम खोजिदियो। १५ रुपैयाँ तलब दिने भएछन्। कर्मचारीले \’छाडेर नजाऊ\’ भनेकै थिए, तर साँझको मौका पारेर सुटुक्क भागेँ। त्यो कर्नेलको घर रै\’छ। मैले त्यहाँ काम गर्नेहरूका लागि खाना पकाइदिनुपथ्र्यो। ०३१ सालमा हाम्रै गाउँका विष्णुप्रताप शाहसित भेट भएको थियो। मैले \’अलि राम्रो काम\’ खोजिदिन आग्रह गरेकी थिएँ। ४० सालमा उहाँ सञ्चार सचिव हुनुभो। केही दिनपछि, शुक्रबार दुई-तीनजना पुलिस आएर मलाई भने, \’सञ्चार सचिवले बोलाउनु भा\’छ।\’ म गएँ। उहाँ भानुभक्त मेमोरियल स्कुलका अध्यक्ष पनि हुनुहुन्थ्यो। \’अब तिमी भानुभक्त स्कुलमा जाऊ,\’ उहाँले भन्नुभो, \’काम खोज्द्या छु।\’ \’हुन्छ।\’ \’आइतबार जानू।\’ र, आइतबार मैले भानुभक्त मेमोरियल स्कुलको आँगन टेकेँ। त्यतिबेला म २९ वर्षकी थिएँ। … स्कुलमा मैले ससाना नानीहरूको ख्याल राख्नुपथ्र्यो। स्कुलमा कुचो लाउने, नानीहरूको कपडा धुने, खाना ख्वाउने। यी मैले खोजेजस्तै काम थिए। मन भुल्थ्यो नि त। तलब पनि ४ सय रुपैयाँ भयो। यसरी दस वर्ष अरू बिते। ०५० साल। एकजना साइन्स पढाउने रौतहटतिरका सर आए। उनले मलाई मन पराएछन् कि के हो, झ्याम्मिन आउँथे। नजिक-नजिक-नजिक हुन थाले। \’किन पछ्याएको ?\’ म झर्किएँ। \’मसित बिहे गर,\’ उनले भनि त हाले। \’मसित अब आइन्दा यस्तो कुरा नगर्नू,\’ मैले धम्काएपछि उनी हच्किए। नजिक आउन छाडे। त्यही नै अन्तिम बिहेको आग्रह थियो। त्यतिबेला म ३९ वर्ष थिएँ। …

अहिले आफ्नो अतिततिर र्फकंदा म त छक्क पर्छु, एक्लै यति लामो बाटो हिँडेर यहाँसम्म कसरी आइपुगे ? दाइहरू आफ्नै घरजममा खुसी छन्। ०५८ सालमा आमा बितेपछि बल्ल म बेहोसीबाट झल्याँस्स ब्युँझिएजस्ती भएकी थिएँ। आमा नै त थिइन्, परिवारसित गाँस्ने एउटै त्यान्द्रो, त्यो पनि चुँड्यो। आमा गएपछि, म अचानक काठमाडौंको भिडमा एक्लिएँ। बालखैमा बिहे भयो। श्रीमानको अनुहार पनि सम्झना छैन। ४० सालमा नागरिकता बनाउँदा उनकै थर \’खनाल\’ राखेर बनाएँ। अब त आफ्नो भन्नु त्यही एउटा थर छ। धादिङ छाडेर सासू-ससुरा पनि चितवन लरखुट्टे बसाइ सरे। चितवन जान सजिलै छ। बेलाबेला जान्छु। त्यहीँ मैले पनि सानो घडेरी किनेकी छु, घर बनाउन त के सकूँला र ? बनाए पनि बस्ने को ? दिनभर स्कुलका नानीहरूसित रमाउँछु। \’आन्टी\’ भनेर बोलाउँदा आँत शान्त हुन्छ। जुन बाल्यकाल आफूले बिताउन पाइना, अहिले हेर्न त पाएकी छु। दिन त नानीहरूसित बित्छ, रातभरि भने ऐठन पर्छ, परिआउँदा \’लौ न नि\’ भनेर बोलाउने कोही छैनन्। \’उमेरमा बिहे गर्नुपर्ने। जानिना मैले,\’ अचेल यस्ता कुरा खेलिरहन्छन्। आफूलाई मन परेका सप्पै कुरा त कहाँ पाइन्छ र ? मजसरी त एक्लै कोही पनि नबसून्। भर्खरै सर्कारले बिधवासित बिहे गर्नेलाई पचास हजार रुपैयाँ दिने घोषणा गर्‍यो। म त भन्छु, \’पैसाको मुख नहेर। कसैले मन पराउँछ भने बिहे गर।\’ उमेरमा \’जसरी भए पनि जीवन काटूँला\’ जस्तो लाग्छ। उमेर ढल्किँदै गएपछि, पछुतो लाग्दै आउँदो रै\’छ। त्यसैले त म अचेल निदाउन सक्दिना। रातभरि सोचिरहन्छु, अब कसरी बित्ला जीवन ? किनभने अब म ५६ वर्षकी भइसकेँ।


लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच