Administrator@nepalchautari
२०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि बीपी कोइरालालाई सुन्दरीजल कारागारमा बन्दी बनाइएको थियो। उक्त बन्दी जीवनमा उनले दैनिक डायरी लेख्ने गर्थे र सोही डायरी पछि गएर जगदम्बा प्रकाशनबाट ‘जेल-जर्नल’पुस्तकका रूपमा प्रकाशित भयो। रामनारायण मिश्र, गणेशमानसिं, कृष्णप्रसाद भट्टराई लगायतका राजनीतिक व्यक्तित्वहरूसँग जेलमा बस्दा हुने छलफललाई बीपीले आफ्नो यस डायरीमा समावेश गरेका छन्। सोही क्रममा रामनारायण मिश्रसँग भएको कुराकानीका क्रममा विगतमा भएको गल्ती र कांग्रेसले प्रजातन्त्र जोगाउनका लागि अपनाउनु पर्ने रणनीतिका बारेमा उनका केही सुझाव आएको देखिन्छ। २०२० अर्थात् सन् १९६३मा लेखिएको यस सामग्री आजको देशको परिस्थितिमा कति सान्दर्भिक होला वा छ त्यो विश्लेषण गर्ने जिम्मा त पाठकहरूको नै छ तर वर्तमानमा नेकपा माओवादीले उठाएको माग र बीपी कोइरालाले त्यति बेला अभिव्यक्त गरेको धारणामा कति समानता छ भन्ने कुरा जान्नका लागि यो दस्तावेज पढ्न र जान्न जरूरी छ।कति सम्म भने आम जनतालाई सेनासम्बन्धी तालिम दिने बारेमा नेकपा माओवादीले पेश गरेको धारणा पनि बीपीको यसै अवधारणासँग मिल्दो छ।
सन्दर्भ फरक छ, देशको राजनीतिक परिस्थिति फरक छ, बीपीको चिन्तन र माओवादीको चिन्तनमा जमिन-आकाशको फरक छ, कांग्रेस र माओवादीको धारणा ठीक उल्टो छ तर बीपीका यी भनाईहरूको आधिकारिक अनुयायी भने नेकपा माओवादी भए जस्तो देखिन्छ। यस सन्दर्भमा यहाँको भनाई र मान्यता के छ?
बीपीको मान्यता जस्ताको तस्तै-
…तर आजको अनुभवबाट तीन ओटा त्रुटि म देख्तछु जसमा पहिलो त्रुटि सबभन्दा ठूलो र जसलाई एक दृष्टिबाट अक्षम्य त्रुटि भन्न सकिन्छ-
१) राजनीतिमा सेनाको महत्त्वपट्टि पार्टी र नेतृत्वले ध्यान नदिनु। हाम्रो जस्तो देशमा विशेष गरेर सेनाको ठूलो महत्त्व छ- यस अर्थमा कि त्यसलाई सजिलैसँग एक या अर्को पक्षमा लगाउन सकिन्छ।हामीले सेनालाई प्रजातन्त्रको पक्षमा लगाउन सकिन्छ। हामीले सेनालाई प्रजातन्त्रको पक्षमा लगाउने प्रयत्न गरेनौं, न त- यदि वर्तमान सेनालाई त्यसो गराउन सम्भव थिएन भने त्यसको खतरनाक सम्भावनाको मुकाविला गर्ने उपायपट्टि हाम्रो ध्यान गएन।यो हाम्रो ठूलो त्रुटि हो जस्ले गर्दा हाम्रो सारा प्रयास र सफलता अहिले बेकाम साबित भएको छ।
२) बनवासको अवधिमा पार्टीको संगठनलाई झन् बढी पार्न सकिन्थ्यो यदि सरकारमा जान पाइन्छ कि भन्ने आशा छाडेर १० वर्षसम्म हामीले संगठन पट्टिमात्र ध्यान दिएको भए।संगठन खुकुलो नै रह्यो, र पार्टी तेत्रो सुगठित यन्त्र भएन जसमा राजनीतिक, सामाजिक क्रान्तिका लागि पूरा भरोसा गर्न सकियोस्।मेरो अर्थ यो होइन कि संगठन पटक्क निर्मित भएन; भयो राम्रो संगठन भयो जसले चुनावको तेत्रो विजय प्राप्त गर्न हामीलाई मद्दत दियो।तर अझ सुसंगठित हुन सक्थ्यो।
३) Cadre (पार्टीका स्थायी र कर्मठ कार्यकर्ता) को जत्रो ठूलो दल बनाउन सकिन्थ्यो त्यति बनाएनौं।२/३ नं.का त्रुटिहरू सामान्य त्रुटि हुन्- मुख्य त्रुटि १ नं. को हो।२/३मा ध्यान दिएको भएपनि नं.को त्रुटिलाई नसुधारेको अवस्था परिणाम अन्ततोगत्वा सदृश नै हुनेथियो।कुनै अवस्थामा पनि संगठनको मजबुती र कर्मठ कार्यकर्ताहरूको बाहुल्यले सेनाको मुकाबिला गर्न सक्तैन।
(जेल जर्नल, पृ.१४१)
नेपालजस्तो सानो मुलुकलाई सैनिक खतराबाट बचाउनका लागि प्रजातन्त्रलाई परेको सैनिक खतरा तलका उपाय आवश्यक छन्।नेपालको जो दुई ठूला-ठूला राष्ट्रहरूका बीचमा स्थित छ (जसका विरुद्धमा यहाँका सैनिकशक्ति यति नगण्य छ कि त्यसलाई निरर्थक भनेपनि हुन्छ) सेना आन्तरिक सुरक्षा (Internal security) का लागि मात्र काममा आउँछ।राणाका पालामा पुलिसको गठन नभएकोले पुलिसको काम सेनाद्वारा नै लिइने गरेको थियो आन्तरिक सुरक्षाका लागि।आजकाल पुलिसको गठन भइसके तापनि सेनाको त्यही परम्परा अझै कायम छ।
१)सेनाको अफिसर (Corps) दलका लागि निम्न मध्यवर्ग र प्रजातन्त्र पक्षीय परिवारबाट मात्र अफिसरहरूका चुनाव र तिनीहरूको शिक्षण हुनुपर्छ।आजकाल अफिसरको र अप्रजातान्त्रिक परिवारहरूका व्यक्तिहरूले निर्मित भएको छ। ‘बाहिरिया’ लाइ घुस्न दिंदैनन्।म प्रधानमन्त्री छँदा १/२ जना ‘बाहिरिया’ लाई चुनाउन खोज्दा बडो विरोध भएको थियो- सेनाका उच्च पदाधिकारीहरूको चुनाव वोर्डद्वारा।
२)सेनालाई (Over-armed) अतिशय शस्त्र अस्त्र सुसज्जित पार्नुहुन्न।
३)दरबारमा स्थायी रूपबाट सेनाको ठूलो टुकडी राख्नुहुन्न।
४)त्यहाँ २/३ कम्पनी जो शोभाका लागि चाहिन्छ तिनीहरूको हात-हतियार साधारण मात्र हुनुपर्छ, र त्यहाँ जाने पल्टन चक्रानुक्रमबाट साटो फेरो भइरहनुपर्छ।
५)आमजनतालाई अमेरिकाको जस्तो बिनालाइसेन्स हतियार राख्ने अधिकार हुनुपर्छ।विशेष किसिमको सामरिक हतियार बाहेक। व्यक्ति विशेषलाई कानूनबाट मात्र यो अधिकारबाट सरकार वंचित पार्न सक्छ- अर्थात् चोर, डाँकू र गुण्डाहरूलाई यो अधिकार दिनहुन्न।
6)सेनालाई नै खारेज गर्नुपर्छ।
७)सबै वयस्क नागरिकलाई सैनिक तालिम दिनुपर्छ जुन व्यक्तिहरूलाई समयमा सेनामा परिणत गर्न सकियोस्।(इजराइल र क्यानडा, स्विट्जरलैण्ड इत्यादि)
८)हेड-क्वाटरर्सलाई चलाउने सानो स्थायी अफिसर कोर मात्र राख्नुपर्छ।अरू सबै खारेज हुनुपर्छ।
९)प्रधानमन्त्री जो पार्लीयामेन्टका प्रति वफादार हुन्छ।त्यसको घरमा पनि सेनाको २।३ कम्पनी रहनुपर्छ दरबारको जस्तो।यदि दरबारमा ठूलो टुकडी रहन्छ भने प्रधानमन्त्रीको निवासमा पनि तादृश टुकडी रहनु पर्छ।
१0)नेपाली कांग्रेसले पनि आफ्नो पल्टन राख्नुपर्छ।सेनाको एकहठ्ठी (Monopoly) एकाधिकार रहन दिनुहुन्न।यदि सेनालाई राख्ने हो भने भन्ने तात्पर्य के हो भने या त सेना खारेजै गर्नुपर्छ किनभने नेपालको भौगोलिक स्थितिलाई विचार गर्ने हो भने यो राख्नुपर्ने आवश्यक छैन।र disarmament को प्रचार युगमा नेपालको यो कदमले यसको मर्यादा बढ्नेछ र अन्तरराष्ट्रिय क्षेत्रमा यसले धेरै भाग लिन सक्छ। तर यदि सेना राख्ने नै हो भने सेनाको पुनर्गठन हुनुपर्छ अफिसरहरूको भर्तीमा पूरा ध्यान दिएर जसले कि सेनाको भावना प्रजातन्त्र पक्षीय होस् न कि दरबार पक्षीय।र साथै सेनाको शस्त्र-अस्त्रको ऐकाधिकार पनि झिक्नुपर्छ-हतियारको लाइसेन्स प्रथा खारेज गरेर सबै नागरिकलाई सैनिक तालिम दिएर प्रजातान्त्रिक पार्टीले आफ्नो सैनिक संगठन कायम गरेर सेनालाईOver-armed हुन नदिएर र साथै दरबारले प्रजातन्त्रको विरुद्ध सेनालाई प्रयोग गर्ने खतरा भइरहेकाले दरबारको स्थायित्व र चुनिएका मन्त्रिमण्डलको अस्थायित्वले गर्दा दरबारलाई सेनालाई चलाउने (manipulate) मौका रहन्छ-दरबारभित्रको सेनालाई झिक्ने र रहन दिएका खण्डमा प्रधानमन्त्री कहाँ पनि उत्ति नै शस्त्रास्त्रले सुसज्जित सेना राख्ने व्यवस्था हुनुपर्छ।दरबारमा ठूलो सेनाको टुकडी राखेका खण्डमा सेनालाई पूरा नियन्त्रणमा राख्ने क्षमता त्यसको भएर जान्छ।
(जेल जर्नल, पृ १४३/१४४)














