म ०३३ सालमा रुकुमबाट नेकपा (पुष्पलाल) समूहमा पहिलो पटक सङ्गठित भएँ । २०३९ सालमा पाल्पाबाट तत्कालिन नेकपा (माले) मा समाहित भएँ । पाल्पामा नगर कमिटीमा सङ्गठित भएँ । त्रि.ब.क्या पाल्पा तानसेनको स्ववियू सचिव र अनेरास्ववियु पाल्पाको अध्यक्ष तथा लुम्बिनी क्षेत्रीय कमिटीको उपाध्यक्ष पदमा रही काम गरेँ । २०४५ सालमा तत्कालिन नेकपा (माले) रुकुमको संस्थापक सचिव भएर काम गरेँ । २०४७ देखि २०५८ सम्म नेकपा मालेको राप्ती अञ्चल सचिव र केन्द्रीय सल्लाहकार कमिटीको सदस्य भएर काममा निरन्तर रुपमा क्रियाशील रहेँ । २०५८ देखि २०६५ फागुनसम्म नेकपा एमाले राप्ती अञ्चल समन्वय समितिको सदस्य भएर काम गरेँ । २०६५ फागुन ५ देखि १० सम्म बुटवलमा आयोजना भएको नेकपा एमालेको आठौं महाधिवेशन केन्द्रीय कमिटीमा उम्मेदवार खडा भएँ, तर पराजित भएँ । मैले करीब ३४ वर्षसम्म पाटीमा सङ्गठित भएर विविध जिम्मेवारीहरु इमान्दारीपूर्वक पूरा गर्दै आएँ । पहिलेदेखि नै आफू रहेको पाटीसंग वैचारिक मत भिन्नता राख्दै आएको थिएँ र नेकपा एमालेको वर्तमान नेतृत्व प्रतिक्रियावादी तथा यथास्थितिवादीहरुसित मिलेर अन्य कम्युनिष्टहरु दबाउने खेलमा सङ्लग्न भयो । साम्राज्यवादी र विस्तारवादीहरुको निर्देशनमा चल्न थाल्यो । मार्क्सवाद लेनिनवादका सैद्धान्तिक मान्यताहरुलाई समेत लत्याउँदै अहिले प्रतिक्रान्तिको बाटोतर्फअग्रसर भएको र राष्ट्रपति डा.रामवरण यादवले चालेको असवंधौनिक कदमलाई र्समर्थन गर्दै नागरिक सर्वोच्चताका विरुद्ध सैनिक सर्वोच्चतालाई स्वीकार्दै २२ दलीय दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै विदेशी शक्ति केन्द्रहरुको निर्देशनमा कठपुतली सरकारको नेतृत्वसमेत गर्न पुगेपछि नेकपा एमालेले अब नेपाली क्रान्तिको नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले म जस्तो एउटा क्रान्तिकारी व्यक्ति नेकपा एमाले जस्तो दक्षिणपन्थी धारमा पतन भइसकेको पाटीमा बसेर काम गरिरहन नसकिने ठहर गर्दै १० वर्षे सशस्त्र जनयुद्धबाट खारिएर आएको र नेपाली क्रान्तिको सबल नेतृत्व गर्न सक्ने एकमात्र कम्युनिस्ट पाटी एकीकृत नेकपा माओवादीले आगामी युगको नेतृत्व गर्न सक्छ भन्ने दृढ विश्वासका साथ आजैका मितिदेखि नेकपा एमालेबाट विद्रोह गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको घोषणा गर्दछु ।
क्रान्तिकारी अभिवादन सहित
हस्तबहादुर केसी
मिति ः २०६६/३/१३
Posted on : June 28, 2009, 3:23 am














