‘राम र लक्ष्मण’ को चित्र अंकित हजारका नयाँ नोट आजदेखि बजारमा

\"\"

 

केन्द्रीय बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट आज बुधबार (साउन ७ गते) बाट चलन चल्तीमा ल्याएको छ । नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ । बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको छ । यो नोटमा पूर्वगभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेका छन् ।

 

नयाँ नोटमा दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ । दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश रहेको केन्द्रीय बैंकले जनाएको छ । नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ । यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ ।

 

नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ । ‘रामलक्ष्मण’ को चित्र भने नोटको पृष्ठभागमा छ । साविकको हजार रुपैयाँको नोटमा विदेशी हात्तीको चित्र रहेको भन्दै विज्ञहरुले विरोध जनाउदै आएका थिए । उनीहरुले हात्ती नेपालमा नै पाइने भए पनि हजार रुपैयाँमा विदेशी हात्तीको चित्र प्रयोग हुनु अनउचित रहेको टिप्पणी गरेका थिए ।