काठमाडौं : नेप्से माथिल्लो विन्दुमा पुगेको बेला सेयर बिक्री गरेकाहरु अझै आक्रामकरुपमा बजारमा प्रवेश नगर्दा नेप्से सुस्त हुनेक्रम मंगलबार पनि जारी रहेको छ । तर कतिपय राम्रा कम्पनीमा विस्तारै खरिदकर्ता आकर्षित हुन थालेको ब्रोकरहरुको भनाई रहेको छ । सस्तो मूल्यमा सेयरहरु खरिद गर्ने क्रम बढेको छ । आक्रामकरुपमा नभई विस्तारै सकेसम्म भाउ घटाएर किन्नेहरु सक्रिय रहेको एक ब्रोकरले बताए ।
असार लागेपछि संस्थागत लगानीकर्ता, म्युचुअल फन्ड तथा केही ठूला लगानीकर्ताले सेयर बिक्री गरे । उनीहरुकै चाहनामा नियामक नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको अस्त्र प्रहार गर्यो । त्यही भएर बजार धेरै मारमा परेको आम लगानीकर्ताको बुझाई रहेको छ । असार मसान्त नजिकिदै जाँदा सरकारको खर्च रफ्तारमा बढेको छ । यसरी भएको खर्चको अब धमाधम भुक्तानी हुने भएकाले त्यो पैसा सरकारी खाताबाट बजारमा आउँछ ।
वित्तीय प्रणालीमा आउँछ । यसले बजारमा तरलता थप सहज बनाउनेछ । यसको सकारात्मक प्रभाव विस्तारै बजारमा देखिन थाल्ने विश्लेषकहरु बताउँछन् । तर ठूलै करेक्सन भएको बजारमा तेजी आउन केही समय लाग्न सक्छ । यही बेला केन्द्रीय बैंकले मौद्रिक नीतिको पनि तर्जुमा गरिरहेको छ ।
सेयर बजारलाई प्रत्यक्ष असर पर्ने विषयमा केन्द्रीय बैंकले कस्तो नीति लिन्छ भन्ने आम चासो रहेकाले पनि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेका छन् । यसले पनि बजारलाई सुस्त बनाएको हो । विशेषगरी नयाँ र साना लगानीकर्ता बढी आत्तिएका छन् । अब के हुने हो भन्ने अन्योलता पनि उनीहरुमा बढेको छ । सोही कारण बजार थप सुस्त हुन गएको हो ।
कर तिर्नुपर्ने, बैंकको साँवा र ब्याज भुक्तानीको दबाबले पनि बजारले सुस्त बनाउन सहयोग गरेको हो । लक डाउन सहज हुँदा पनि कतिपय आकलझुकल आउने लगानीकर्ता आफ्नै कामतिर लाग्दा कारोबार रकममा केही असर गरेको अनुमान गरिएको छ ।
सेयर बजार सकारात्मक हुन आम लगानीकर्ताको मनोबल सुधार हुनैपर्छ । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ । बजार लामो समयदेखि सुस्त बन्दा सेयर मूल्य भने निकै सस्तो भइसकेको छ । सबल कम्पनीहरुको समेत भाउ निकै सस्तो भएकाले सर्वसाधारण लगानीकर्तालाई छानीरोजी किन्ने अवसर प्राप्त भएको छ । सस्तो भएका बेला किन्ने रणनीति बनाउने लगानीकर्तालाई यो राम्रो अवसर पनि हो ।
सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले पनि निकै ठूलो भूमिका निर्वाह गर्दछ । आफ्नो वित्तीय अवस्थाको ख्याल गर्दै लाभांंश क्षमता राम्रो भएका कम्पनीहरुमा लगानी गर्न सके निकै छोटो समयमा लाभांशको हकदार हुन सकिनेछ । साउन लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थाल्नेछ । त्यसपछि लाभांश घोषणा र साधारण सभाको सिजन सुरु हुनेछ ।
यसर्थ, अहिले सेयर होल्ड गर्दा निकै छोटो अवधिमा लाभांश पाउन सकिन्छ । यसतर्फ स्मार्ट लगानीकर्ताले विचार गर्नुपर्ने हुन्छ । नेप्से सूचक ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा आइपुगेको छ । ४ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२० कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।
१३ मध्ये ५ समूहको सूचकमा वृद्धि भएको छ । ३५ करोड ८८९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा आइपुगेको छ । यसैगरी, दोस्रो र तेस्रोमा अपर तामाकोशी हाइड्रोपावर र नेपाल बैंक परेका छन् ।














