काठमाडौं । चितवनको इच्छा कामना गाउँपालिकास्थित कुरिनटारमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । निजी लगानीमा निर्माण सम्पन्न भएको चार्जिङ स्टेसन गत आइतबारदेखि सञ्चालनमा आएको हो ।
दि गो ग्रुप कम्पनीले पृथ्वी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनहरुलाई चार्ज गर्न सजिलो होस भन्ने उद्देश्यले कुरिनटारमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको हो।कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको यो दोस्रो चार्जिङ स्टेसन हो ।
कम्पनीका अनुसार कुरिनटारमा निर्माण गरिएको सबस्टेसनको डिसी फास्ट चार्जरको आइतबार उद्घाटन गरिएको हो । १२० किलोवाट क्षमताको चार्जिङ स्टेसनमा अहिले ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरी सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्गमा विद्युतीय सवारीको संख्या थपिँदै गएपछि चार्जिङ स्टेसनको क्षमता पनि बढाउने योजना रहेको कम्पनीले जनाएको छ ।
पृथ्वी राजमार्गमा चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत खपत बढ्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए । चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिई सञ्चालनमा ल्याइएको छ । यो चार्जरले पृथ्वी राजमार्गमा चल्ने डिबिटी ब्राण्डको विद्युतीय सवारी साधनलाई सेवा दिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीको पहिलो चार्जिङ स्टेसन विपि राजमार्गमा सञ्चालनमा छ । कम्पनीले राजमार्गामा चल्ने विद्युतीय सवारी चार्ज गर्ने उद्देश्यले गत भदौमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको हो।
काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रो बसहरू सञ्चालनमा छन् । दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ ।
सरकारले आन्तरिक विद्युत खपत बढाउने नीति लिएर विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएकाले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सक्रियता बढ्दै गएकाे छ । विद्युत प्राधिकरणले पनि देशका विभन्न स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।
अबको ६ महिनाभित्रमा यी चार्जिङ स्टेसनहरू निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदै छन् । विद्युत प्राधिकरणले निजी क्षेत्रका लागि समेत देशभरमा ५ सय चार्जिङ स्टेसन निर्माण गर्न आवेदन मागेको छ ।














