पुरूषोत्तम उपाध्याय दाहाल

\"\"

तँ त गई हालिस्
एक मुठी तातो पानी दिने कोही छैनन्
ठिकै भयो जस्तो पो लाग्न थाल्यो
दुःखै लुक्यो तेरो!
छोरो अफ लाइनमा
छोरी अनलाईनमा
बुहारी चुनावमा व्यस्त
नाति नतिना भिडियो गेममा
म ओच्छ्यानमा!
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।

तेरो इच्छा नै थियो
आयुष्मती हुने, सेतो वस्त्र लाउनु नपरोस् भन्ने
म रङ्गीन वस्त्र लगाएर पनि सुस्त मन्
कोही छैन बोल्ने र सुन्ने मेरो कुरा
तेरो यादले सारै सताउँछ बुढी!
काकाकुल झैं भएको छु
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!

तलाई मैले तारी दिएँ जस्तो लाग्छ
काम क्रिया, श्राद्ध पिण्ड दान
सबै गराइदिएँ
बैंकुण्ठमा हौली सायद
यता नहेर ल!
हेर्ने कोशिश पनि नगरे है
मेरो लुगा रङ्गी बिरङ्गी भए पनि
सारै मैलो छ मन्
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!

चुठुवाको भरमा पिसाब

चारपाउ टेकेर शौच जानुपर्छ
खोकी र खकारको शब्दले
घरमा भूकम्प आउँछ
दह्रो मन् पारेको छु
आँशु झार्दिन म
तिर्खा लागे तँ सम्झिन्छु
मेटिन्छ प्यास निकै
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।

दस दान र आतुरी दान पनि
गरी दिए गुरूले
छोरी आएकी थिई
छोरीले तातो पानी खाने
थर्मस ल्याई दिएकी छे
हात खर्च पनि दिएर गई
के गर्नु यो पैसाले
माथि नै जाने प्रार्थना गर्छु!
बाँकी प्रभु इच्छा
एक मुठी तातो पानी दिने कोई छैनन् बुढी!

हाम्रो बिहेमा जुवा खेल्दा पनि
तैँले जितेको र
दही खुवाउँदा पनि तैँले नै जितेको याद आउँछ
जीवन युद्वमा पनि तैँले नै बाजी जितिस
दुखै नपाई तँ त गईस
दुःख कस्लाई सुनाउँ
मलाई चिल्लो लाउने बोटुको
कुच्चिएर नानीहरूले धूलो माटोमा
भात भात खेल्छन,हेरि रहन्छु म
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!
( दाहाल बेलतला, गुवाहाटी, आसाममा पञ्जाब नैशनल बैंकका वरिष्ठ प्रवन्धक हुन् )