काठमाडौं : केन्द्रीय बैंकले डिजिटल कारोबार गर्दा सचेत बन्न आग्रह गरेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवाले ग्राहकलाई सहज बनाएको भन्दै राष्ट्र बैंकले उक्त माध्यमको प्रयोग गर्दा सजग हुन पनि आग्रह गरेको हो ।
मंगलबार वित्तीय सचेतनाको लागि एक सूचना जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसरलाई भुक्तानी गरेको हो भन्ने कुरामा सावधानी पुर्याउन भनेको छ । ‘बैंकको नाम, खाताको नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्नुपर्छ’ सूचनामा उल्लेख छ ।
डिजिटल कारोबार गर्दा नोटको आवश्यकता नहुने र खातामा सिधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने केन्द्रीय बैंकको भनाइ छ । पछिल्लो समय डिजिटल कारोबार बढ्दो क्रममा रहेको छ । योसँगै यसमा जोखिम पनि बढ्दै गएको छ ।














