सरोजराज अधिकारी
काठमाडौं, दलाई लामाको जन्मोत्सवका अवसर पारेर नेपालस्थित शरणार्थीहरू \’स्वतन्त्र तिब्बत\’ अभियान चर्काउने तयारीमा छन् । लामाको ७४ औं जन्मोत्सव सोमबार पर्छ ।
गुप्तचर स्रोतका अनुसार अभियान चर्काउन भारतबाट समेत सयौंको संख्यामा शरणार्थीहरू नेपाल ओइरिनेक्रम जारी छ । अभियानको नेतृत्व गर्न तिब्बतेन युथ कंग्रेस -टीवाईसी) का अध्यक्ष छेवाङ रिन्जिन र तिब्बतेन वुमन एसोसिएसनकी महासचिव छिरिङ याङजोम एक सातादेखि राजधानीमा रहेको एक गुप्तचर अधिकृतले बताए ।
अभियानको उद्घोष हिमालपारिको जिल्ला मुस्ताङबाट गरिने जानकारी पाएको जनाउँदै ती अधिकृतले भने, \’सम्भवतः आइतबार बेलुकीसम्म सबै मुस्ताङमा भेला हुनेछन् ।\’ टीवाईसी उपाध्यक्ष धुन्डुप दोर्जे भने बौद्ध र जोरपाटीस्थित शरणार्थी शिविरमा जम्मा भएका करिब तीन सय शरणार्थीको नेतृत्व गर्दै बिहीबार मुस्ताङ पुगिसकेको स्रोतले दाबी गर्यो ।
\’शरणार्थीहरूलाई चीनविरुद्ध मोटिभेटेट गर्न गत वर्ष ल्हासामा स्वतन्त्र तिब्बतसम्बन्धी प्रदर्शनका क्रममा भएको भिडन्त र दलाई लामाको सम्बोधनको सीडी देखाइएको थियो,\’ एक उच्च प्रहरी अधिकृतले भने । उनका अनुसार गत वर्ष राजधानीको प्रदर्शनमाथि सुरक्षा निकायले कडा व्यवहार गरेका कारण शरणार्थीले यसपटक मुस्ताङमा गतिविधि गर्न खोजेका हुन् ।
भारतबाट आएर स्वयम्भूस्थित ग्याल्सा फाकसिङ शिविरमा बसेका करिब ३ सय र पोखराको छोरेपाटनस्थित डेभिड फल्सनजिकैको टासिलिङ तिब्बतेन ह्यान्डीक्राफ्ट सेन्टर तथा टासिलिङ शिविरबाट दुई सय शरणार्थी शुक्रबार मुस्ताङ पुगेको गुप्तचर स्रोतको दाबी छ ।
तिब्बती चहलपहल बढिरहेकै बेला बुधबार र बिहीबार पोखरामा राष्ट्रिय अनुसन्धान विभाग -राअवि) को पश्चिम क्षेत्रीय भेला भएको थियो । राअवि प्रमुख अशोकदेव भट्ट, गृह मन्त्रालयका सहसचिव तथा शान्ति सुरक्षा महाशाखा प्रमुख नवीन घिमिरेको उपस्थितिमा सम्पन्न भेलामा समेत तिब्बती शरणार्थीको बढदो चहल पहलबारे चर्चा चलेको एक अधिकृतले बताए ।
प्रहरी स्रोतका अनुसार अभियान सञ्चालनका लागि शरणार्थीलाई सोनाडा कोअपरेटिभले आर्थिक सहयोग उपलब्ध गराएको छ । लाजिम्पाटस्थित दलाई लामाको नेपाल कार्यालय गादेन खाङ्साबाट सञ्चालित सोनाडा भारतको बैंगलोरमा मुख्यालय रहेको फेडेरेसन अफ तिब्बतेन कोअपरेटिभ प्रालिको शाखा हो ।
लामाको नेपालस्थित कार्यालय तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिनुभन्दा तीन दिनअघि ०६१ माघ १६ मा बन्द गरिएको थियो । लोकतन्त्र स्थापनासँगै गोप्य रूपमा कार्यालय सञ्चालन सुरु गरेका \’निर्वासित तिब्बत सरकार\’ का पदाधिकारीले वर्तमान सरकार गठन भएलगत्तै कार्यालयबाहिर बोर्ड राखेका छन् ।
माओवादी नेतृत्वको अघिल्लो सरकारले तिब्बती प्रदर्शनमाथि कडा नियन्त्रण गरेको थियो । नयाँ सरकार गठनपछि त्यस्ता प्रदर्शनप्रति कस्तो रणनीति अपनाउने भन्ने अन्योल रहेको अधिकारीहरूले बताए । \’संवेदनशील विषयमा सुरक्षा निकायले सधैं उच्च सतर्कता अपनाउँदै आएको छ,\’ अपराध अनुसन्धान विभागका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेरसिंह रानाले यतिमात्र भने ।
मुस्ताङ नै किन ?
चार दशकअघि \’स्वतन्त्र तिब्बत\’ का अभियन्ताले मुस्ताङलाई केन्द्र बनाएर चीनविरुद्ध सशस्त्र खम्पा विद्रोह गरेका थिए । त्यसलाई अमेरिकी जासुसी संस्था सीआईएले सघाएको सार्वजनिक भइसकेको छ । उच्च गुप्तचर स्रोतका अनुसार यतिबेला मुस्ताङमा खम्पा विद्रोहकै झल्को दिने चहलपहल देखिएको छ । \’गृह प्रशासन किन उदासीन बनेको हो थाहा छैन । मुस्ताङमा बढदो गतिविधि हेर्दा कुनै पनि बेला स्याबोटेज -ध्वंसात्मक कारबाही) गर्नुपर्ने अवस्था आउनसक्छ,\’ उनले भने ।
मुस्ताङ नै किन ? ल्हासामा महावाणिज्यदूत रहिसकेका तिब्बतविज्ञ ताम्ला उक्याबका शब्दमा \’चीनको तिब्बतसँग सीमा जोडिएको नेपाली भूभागमध्ये मुस्ताङ सबैभन्दा संवेदनशील क्षेत्र हो ।\’ हिमालपारिको जिल्ला मुस्ताङ पाकिस्तान जोड्ने ल्हासा र सिञ्ज्याङ राजमार्गको सबैभन्दा नजिकको नेपाली भूमि हो । चिनियाँ सुरक्षा उपस्थिति बाक्लो नभएकाले पनि तिब्बती आन्दोलनकारीको पहिलो छनोटमा मुस्ताङ पर्ने उनले बताए ।
अमेरिका, जर्मनी, प|mान्स र फिनल्यान्डका राजदूत पनि संयोगवश गत वैशाख र जेठमा छुट्टाछुट्टै भ्रमणमा मुस्ताङ पुगेका थिए । त्यसअघि चैत २७ गते भारतीय सेनाका मेजर जनरल मुकेश सब्रवाल नेतृत्वको नौ सदस्यीय टोली त्यहाँ पुगेको थियो । टोलीमा भारतीय गुप्तचर संस्था \’र\’ का सहनिर्देशक अशोककुमार चोपडा पनि थिए । गृह स्रोतका अनुसार चिनियाँ पक्षले विदेशी कूटनीतिज्ञहरूको मुस्ताङ भ्रमणका सम्बन्धमा चासो राखेको थियो ।
हलिउडका प्रख्यात अभिनेता तथा स्वतन्त्र तिब्बत पक्षधर रिचर्ड गेरको नेपाल भ्रमणप्रति पनि चिनियाँ अधिकारीले आक्रोश पोखेको स्रोतले बतायो । जेठ २५ गते नेपाल आएका गेरले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै \’नेपालबाट तिब्बतीहरूको पक्षमा अभियान चलाउन आफू इच्छुक रहेको\’ बताएका थिए ।
एक साताअघि मात्रै चिनियाँ राजदूत क्यु गोहाङले पनि मुस्ताङ् क्षेत्रको कुन्जो, ताक्लुङ क्षेत्र भ्रमण गर्दै स्थानीय ताक्लुङ निम्नमाध्यमिक विद्यालयको सहयोगमा ३० लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । स्थानीय नागरिक समाज तथा राजनीतिक दलसँग जोमसोममा भएको अन्तक्रिर्यामा राजदूतले चीनविरोधी गतिविधि रोक्न मुस्ताङवासी जनताले गरेको प्रयत्नका लागि धन्यबाद दिएका थिए ।














