उमेश राई ‘अकिञ्चन’
‘आँसुको रङग नीलो’यो पढदा अनौठो लाग्न सक्छ। आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ,प्रश्न उब्जिन सक्छ। म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखुँ कि रातो लेखुँ-अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको छु। अरू कारण कथाभित्र खुल्दै जानेछ। कुरा आज भन्दा ११-१२ वर्षअघिको हो। आजजस्तै म थिएँ, पारू थिइन र थिए हाम्रा बादलजस्तै उडने रहर। अनि एक्वारियमका माछाझैं नाचिरहने उमङ्ग। भक्तहरूलाई मन्दिरझैं प्रिय थियो घर नजिकैको कलेज। हामी आँखाका गोजिभरी-भरी सपनाहरू लिएर हिडथ्यौं। हामी हाम्रा कलेज- ब्यागभरी भविष्यका रोडम्याप बोकेर दौडन्थ्यौ। जीवविज्ञानको विद्यार्थीले गर्ने भ्यागुता,गडयौला आदि चिरफार गर्ने निदर्यी काम (मरेकै जीवजन्तु भए पनि) र कैची,फोरसेप मात्र डाइसेक्टिङ बक्समा राख्दैन थियौं। त्यो सानो बाकसमा डाक्टर बन्ने रातो अनि उज्यालो घामजस्तो सपनालाई पनि जतनसाथ बोक्थ्यौ। आफ्नो कुरा गर्दागर्दै यो कथाको मुख्य पात्र र मेरो अनन्य मित्र हिमाल झन्नै छुटेको
कठोर स्कूले दिन सकिएपछि,सिनेमामा देखाइने कलेजको रूमानि बाताबरण कल्पदै म,हिमाल र पारू विराटनगरको तीन कुनाबाट महेन्द्र मोरङ्ग कलेजको एउटै गेटबाट प्रवेश गरेका थियौं। जो निरन्तर चलिरहयो दर्ुइ वर्षम्म। अहिलेजस्तो टोलैपिच्छे विज्ञान क्याम्पस खुलेको समय थिएन त्यो। हामी सबैको आर्थिक अवस्था नीजि क्याम्पस पढन सक्ने भएपनि हामीले सरकारी मोरङ्ग कलेजमानै भर्ना गरेका थियौँ।
पानीले आफ्नो सतह आफै मिलाउछ भनेझैं हामी व्यक्तिहरू फरक भएपनि हामीबीच केही विशेषता मिल्दाजुल्दा थिए। हामी आ-आफ्नो स्कूलका जेहेन्दार विद्यार्थी थियौ। संयोगले लगभग १०० विद्यार्थी मध्येमा पनि हाम्रो प्रयोगात्मक समूह एउटै थियो। विज्ञानमा सैद्घान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञान ठूलो मानिन्छ। प्रयोगात्मक कार्य गर्नुपर्ने हुदा विज्ञानका विद्यार्थीवीच हेलमेल बढिनै हुन्छ। म सानैदेखि साहित्यमा रूचि राख्थे। अनिवार्य अँगे्रजी पढनु परेको बेला कथा,कविता मैले उनीहरूलाई बुझाउथे। म साहित्यप्रेमी भएकोले उनीहरू परको मानविकी भवन देखाउदै,आर्टस पढनुपर्ने व्यक्ति साइन्समा’डिर्पाटमेन्ट मिस्टेक’ भयो भनेर ठट्टा पनि गथे
एकदिन विशेष काम परेर,रसायन प्रयोगशालामा सरको उपस्थिति भएन। हामीलाई विज्ञानले अति जिज्ञासु बनाएको थियो। के,किन,कसरी आदिको घनिष्टतामा विज्ञान बाँच्छ, त्यो हामीलाई थाहा थियो। खाली पिरियड सर नहुनु भएकोले,मलाई एउटा जिज्ञासाको उत्तर खोज्न मन लाग्यो। मैले सोधे “ए हिमाल ! तलाइ आँसुको रङ्ग कस्तो हुन्छ थाहा छ-” “कहिले रुनु परेको भए पो थाहा हुन्छ,त पो भावुक कवि तलाइनै थाहा होला “उस्ले जवाफ फर्कायो। “पानीको कुनै रङ्ग हुदैन,आँसु पनि आँखाको पानी हो,तर्सथ यस्को कुनै रङ्ग हुदैन”पारूले तर्क पेश गरी। “तिमी गुरूआमाले भनेको ठीक कि बेठीक,एक्स्पेरिमेन्ट गरुला नि”भनेर मैले टेष्टटयूब र लिटमस पेपर भेला पारे। आँसुको रङ्ग त हर्ेर्ने तर आँसु कसरी झार्ने जटिल समस्या बन्यो। तर हिमालले बोटनीमा प्याजको सेल तयार पार्दा राखेको प्याज बोकेको रहेछ। मैले त्यही प्याज खेलाउदा खेलाउदै बर्र बर्र आँसुहरू झरें। जस्ले रातो लिटमस पेपरनै नीलो बनाइदियो। त्यो दिनदेखि आँसुको रङ्गलाई हामी फुच्चे वैज्ञानिकले नीलो भन्न थाल्यौं।
मान्छेहरू आँसु नर्झार्न परे हुन्थ्यो भन्छन,हामीलाई कुन लहडले त्यस्तो गरायो। अलिकति जिज्ञासा र अलिकति लहडले गरेको त्यो फुच्चे एक्सपेरिमेन्टको उपयोग मानव जगतकालागी काम लाग्ने कुरै भएन। यद्यपि,हाम्रा कलेजका दिनहरूलाई अविष्मरणिय बनाउन भने उपयोगी नै भयो। जुन आजसम्म ताजै छ।
यो दशैँमा विराटनगर जानको लागि एयरपोर्टतिर चाँडै बाटो लागेको थिएँ म। कारण काठमाडौंमा कतिबेला नारा जुलुस,चक्काजाम हुन्छ थाहा नहुने हुदा केही समय चाँडै आइपुगेको थिएँ र्टर्मिनल। मेरो ब्यागमा केही पुस्तकहरू थिए।किन-किन मलाई पुस्तक पल्टाउन मन लागेन। मलाई मान्छेकैं अनुहार र हाउभाउ अध्धयन गर्न रमाइलो लाग्यो। एयरपोर्टभित्र कुर्सी बसेर चारैतिर फैलिएका आँखा कसो-कसो सेक्युरिटी चेक सकेर भित्र पस्दै गरेकी नारी आकृतिमा अडियो। हातमा ६-७ वर्षी बच्चि समाएकी उनी मान्छेहरूको भिडमा थिइन। भिड जति भएपनि आत्मिय अनुहार चिनिदो रहेछ। वर्षौ भेट नभएपनि परिचित आँखा सधै भेटिरहेझैं लाग्दोरहेछ। “अहो ! पारू तिमी ! आज कैयन वर्षछि भेट भयो हगि हाम्रो। मलाई चिन्न त चिन्यौ नि -”म त्यसरी नै बोले जसरी हामी कलेजमा बोल्थ्यांै। “चिने” छोटो जवाफ थियो पारूको। गम्भिर भाव झल्कने उनको मुहारमा ती कलेज लाइफका कुनै अवशेष बाँकी थिएनन। आज पारूले थोरै बोलेर पनि मलाई धेरै कुरा बताउन सफल भइ। वषार्ंैपछि पारूलाई भेटदा मतिर सम्झनाको तातो हावा बग्न थाल्यो। मसँग पारू,हिमाल र कलेजमा बिताएका एक-एक पलहरू, गहुँ्रगो ढुङ्गासरी थिच्न आइपुगे। म पुरानो गोरेटोतिर फेरि फर्कें।
म लाहुरे परिवारबाट आएपनि सैनिक सेवाप्रति कहिल्यै आकषिर्त भइन। पारिवारिक विस्थापन,रातदिनको खटाइ अनि बौद्घकि अभ्यासका कमीले मलाई सैनिक सेवाले छुन सकेन। सबैभन्दा ठूलो कुरा त आफ्नै बाबा,बाजेले गर्नुभएको पेशाप्रति मेरो मोहभङ्ग भइसकेको थियो। बन्दूक बोक्नेको छोरा-नाती म,कलमको आफ्नै संसार कोर्न चाहन्थंे। विदेशमा गुमनाम भएको आफ्नो पहिचानलाई स्वदेशमै केही गरेर स्थापित गर्नुपर्छ भन्ने मान्यता हाम्रो परिवारको थियो। तर जस्को जे हुदैन त्यही हुन मनपर्छ भनेजस्तै हिमाल कोइराला विराटनगरको मध्यम वर्गिय ब्रम्हाण परिवारको थियो। सरकारी क्षेत्रमा उस्का बुवा,काका,ठूलाबा काम गर्थें। ऊ भने जहिले सैनिक सेवाबाट देशको सेवा गर्ने कुरा गथ्र्यो। हाम्रो घरमा रहेको बाबाको कम्ब्याट ड्रेसमा रहेको ठूलो फोटोमुनि रहेको बाबाको आर्मी नम्बर-२११५२५८६ देखेर फुरुङ्ग बन्थ्यो। “हेर ! एकदिन तेरो साथीको छातीमा पनि यस्तो ड्रेस र नम्बर झुन्डिनेछ। अनि तैले मलाई हिमाल होइन,क्याप्टेन हिमाल भन्नुपर्नेछ “।”क्याप्टेन किन सि इन सि-कमान्डर इन चिफ)नै भनुला नि पहिले बनेर त हेर। बरु नम्बर भने २११५२४२० जस्तो नलिनु नि। फेरी सबैले क्याप्टेन ४२० भन्छन्। ” “क्यापटेन नै काफि छ। सि इन सि त बूढो मान्छे हुन्छ। मलाई बूढो भइन्जेल रहनु छैन। “मैले जिस्कयाउदा हिमालको प्रतिउत्तर यस्तो हुन्थ्यो।
यसरी कलेजका रमाइला दिनहरू अनि पढाइसँगै, हाम्रो मित्रता प्रगाढ बन्दै गयो। यही वीचमा पारू र हिमाल एक अर्कामा नजिक-नजिक बन्दै गए। मलाइ पनि अति खुसी लाग्यो। पारू र हिमाल दुवैको आत्मिय साथी भएकोले उनीहरूलाई नजिक पार्न मेरो पनि भूमिका थियो। कलेज वरपर रहेका धूपी,अशोक र मसलाका बोटहरूमा परेका घामछाँया जस्तै कति चाडै सकिए ती कलेजका दिनहरू।
हाम्रो आइ.एस्सी.को पढाइ सकिएपछि हिमाल र पारू काठमाडौतिर लागे। म मेडिसिनको प्रवेश परीक्षा तयारी गर्न पटनातिर लागे। पटना र काठमाडौ टाढा -टाढा भएपनि हामी फोन सर्म्पर्कमा रहन्थ्यौ। धरान बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बिÞ बि.एस.को प्रवेश परीक्षाको बेला हामी फेरि सबै एकै ठाउँमा भेला भयौ।”बि.पी.कोइराला मेडिसिन कलेजमा हिमाल कोइराला नाती परेछ भनेर निस्कन्छ होला तेरो नाम”म ठट्टा गर्थे। दर्ुभाग्य हामी कसैको नाम मेडिसिनमा निस्केन। कलेजका केही साथीहरू आफ्नै खर्चमा एम.बि.बि.एस. पढन थाले। कोही चिनतिर मेडिसिन पढन लागे। मैले विराटनगरमै बि.एस्सी. पढन शुरु गरें। हिमाल र पारू काठमाडौमै बि.एस्सी. पढन थाले। आफूले पढन चाहेको विषय पढन नसक्नु ,मन मिल्ने साथीहरू टाढा-टाढा पुग्नुको कारण,आइ.एस्सी. पढेजस्तो बि.एस्सी. पढन उत्साह पनि लागेन। अर्को कारण म बिस्तारै देशभरी सुरु भएको क्रान्तिको नैतिक र्समर्थन गर्न थालेको थिएँ। देशको पश्चिमी क्षेत्रबाट सुरु भएको क्रान्तिको झण्डा पर्ूव क्षेत्रमा आइपुगेको थियो। शिक्षा क्षेत्रमा भएको धनी गरीवबीचको खाडल ,औषधि नपाएर मर्ने गरीबहरूको स्थिति,सरकारी कार्यालयमा कागज पत्र बनाउनु पर्दाको सास्ति अनि घूूूस्याहा प्रबृत्ति,दलित र किसानलाई गरिने हेलोहोचो। यिनै विभिन्न कारणहरूले मलाई क्रान्तिको पक्षमा उभिन प्रेरित गरेको थियो।
त्यहीवीचमा एकदिन हिमालले फोन गर्यो “मेरो नाम सेकेण्ड लेफ्टिनेन्टमा निस्क्यो ट्रेनिङकोलागी भोली नै खरिपाटी जादैंछु। “एउटै आकाश ओढेपनि,एउटै धर्ती टेकेपनि यसरी हिमाल -पारूको संसार र मैले बाँचेको संसार फरक हुदैं गयो। एकदिन विद्यार्थी संगठनको सिलसिलामा बैठक भइरहेको ठाउँबाट म लगायत केही साथीहरूलाई प्रहरीले पक्राउ गर्यो। साहित्यिक संस्था अनि पत्रकार मित्रहरूको सक्रियताले कबुलियतनामा गराइ प्रहरीले मलाई छाडिदियो।
डाक्टर बन्ला,डाक्टर नबनेपनि स्वदेशमै नाम कमाउला भनेको छोरा राजनीतिमा। त्यो पनि सशस्त्र भूमिगत दलको। यो थाहा पाएर बाबा गम्भिर हुनुभयो। मलाई यथासक्य चाँडो बाबाले नेपाल छाडने सल्लाह दिनुभयो। यसरी केही रहर अनि केही बाध्यताबश,म उडेँ यू.एस.ए.। हिमाल र पारूको सर्म्पर्कबाट टुटेको चङ्गाजस्तो जीवन लिएर म विदेशको हावापानीमा रुझदै भिज्दै गएँ। विदेश भनेको हामीले सुनेजस्तो सरल नहुने रहेछ। परिश्रम नगरे खान नपाइने,परिश्रम गर्दा साथीभाइ बिर्सनुपर्ने। डार्विनको ‘बाँच्नका लागि संर्घष्ा’को कथा जस्तो। त्यो समय इमेल,इन्टरनेटको प्रचलन नेपालमा आजजस्तो थिएन। फेरि हिमाल पनि आर्मी अपरेसनमा कहाँ कहाँ पुगिरहने। हिमाल र पारूको विवाह सम्म भएको कुरा मलाई थाहा थियो।
आजभन्दा दुइ वर्ष पहिले आमा बित्नुहुदा नेपाल आएको बेला डा.अमितलाई भेटेको थिए। संयोगबश आमाको उपचार गर्ने डाक्टरमा ऊ पनि एक थियो। अमित हामीसँगै आइ.एस्सी.पढेको सहपाठी हो। अमितकै मुखबाट हिमाल यो संसारमा नरहेको कुरा सुन्दा मैले पत्याउनंै सकिन। हिमालको मृत्यु गस्तिको क्रममा एम्बुस बिस्फोट हुदा भएको रहेछ। एकातिर आफ्नी देवताजस्ती आमाको देहवशान,अर्कोतिर प्रिय साथीको मृत्युको खबर,मलाई नीयतिले कुटनु कुटेझैं लाग्यो। म मानसिक रुपमै थला परेँ। पारू काठमाडौंमा रहेको कुरा पनि अमितले सुनाएको थियो। पारूलाई भेटने चाहना उनको फोन नम्बर नहुदा अधुरै रहेको थियो।
आज यसरी अचानक पारूलाई भेटदा म अल्लमल्ल परेको छु। हिमाललाई सधैं भन्थे यदि मैले कथा लेखेँ भने पारू र तेरो प्रणयलाई पहिलो कथा बनाउनेछु । जिन्दगीको बाटो यति अप्ठेरो भयो किँ मैले कहिल्यै कथा लेख्न सकिन। जब लेख्न खोजेँ,हिमाल यो संसारबाट टाढा भइसकेको छ।
आजकल म स्वदेशमैं छु। राजनीतिक परिवर्तन पछिको जनजीवनलाई नियाल्दैछु। युद्घ समाप्त भएपनि युद्घले छोडेका पीडाहरू यथावत छन्। फरक यत्ति छ कोही रातो झण्डामाथि आफ्न्तको सम्झना बुनिरहेछन्। कोही प्रहरी र सेनाको ड्रेसमा आफ्न्तको छाँया देखिरहेछन्। आँखा फरक भएपनि झर्ने आँसु सबैको एउटै हो। मुटु बेग्लै भएपनि दुखेको घाउ सबैको उही हो। युद्घ कति भयानक हुदोरहेछ म पारूको सपना सुकेको आँखालाई सम्भिmरहेछु। युद्घको रङ्ग कति गाढा हुदोरहेछ म उनको सिउँदोलाई सोधीरहेछु। आँसुको रङ्ग कति नीलो हुदोरहेछ म आफ्नै कथाका हरफहरू पढिरहेछु।














