– सवा करोड लिएर बेपत्ता
-होम कार्की
काठमाडौं, वैदेशिक रोजगारका लागि दुबई जान लागेका एक सय पाँच जनासँग झन्डै एक करोड १५ लाख लिएर तीन जना फरार भएका छन् । ठगीमा संलग्न भएको आरोपमा पीडितले एकलाई पक्राउ गरी अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाएका छन् । सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका दुर्गाबहादुर कुँवर -लेगुवा ६, धनकुटा), पर्वत कटुवाल -विराटनगर ६) र सन्तोष ढकाल -याकु ६, भोजपुर) फरार भएका हुन् । रकम उठाउन सघाउने रिलायन्स इन्टरनेसनल प्रालिका सञ्चालक र कर्मचारी भने पीडितका सम्पर्कमा छन् । पीडितले पर्वतका दाजु अर्जुन कटुवाललाई इटहरीबाट पक्राउ गरेका हुन् । पीडितका अनुसार दुबईबाट भिसा पठाउने र त्यहाँ पुगेपछि काममा लगाउने जिम्मा अर्जुनले लिएका थिए । उनीहरूले पैसा लिने क्रममा देखाएका श्रम स्वीकृति र भिसालगायत कागजात सबै नक्कली पाइएको छ । उनीहरूले दुबईस्थित पि|m जोन गु्रपमा सुपरभाइजर, सेल्सम्यान, सवारी चालक, सुमेकर, सुरक्षागार्ड, पठाउने भन्दै प्रतिव्यक्ति १ लाख २० हजारदेखि १ लाख ७० हजारसम्म लिएको दाङका जयन्तकुमार डाँगीले बताए । \’काम गरेबापत हामीलाई ३०-६० हजार मासिक तलब दिइन्छ भनिएको थियो,\’ उनले भने । \’यही असार १२ गते शनिबार बेलुका सात र राति ११ बजे दुबई पठाउने भनिएको थियो । त्यहीअनुसार हामी घरबाट बिदाबारी भएर आयौं,\’ सुनसरीका दीपेन्द्र कटुवालले भने, \’शुक्रबार भेट्न खोज्दा सबै फरार भइसकेछन् ।\’ ठगीमा परेकाहरू बढीजसो भोजपुर, सुनसरी र मोरङका छन् । उनीहरू २० देखि ४० वर्षका छन् । उनीहरू विदेश जान घरबाट बिदाबारी भइआएका थिए । धेरैजसो कामदारहरूले साहूसँग चर्को ब्याजदर र जग्गा बिक्री गरी रकम जोहो गरेका थिए । मासिक सयको ५ रुपैयाँमा ऋण लिएर आएका विराटनगरका विनोदप्रसाद फुयालले भने, \’फरार भएकाको खोजीमा लागिरहेका छौं । पक्राउ परेका अर्जुनले भने यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । अर्जुनले भने, \’सामान्य श्रमिक भएका कारण यसमा मेरो कुनै संलग्नता छैन ।\’ विभागले ठगीको अनुसन्धान गरी न्याय दिलाउन ढिलाइ गरिरहेको पनि पीडितहरूको गुनासो छ ।