घोरेपानीअनलाइन संवाद विथ बुद्धि पुन (अडियो बाचन सहित)

म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित दुर्गम बिकट गाउहरुमध्यको एक गाउ तत्कालिन भुरुंङ्ग तातोपानी गाबिसको वडा नम्बर ९ मा बिक्रम सम्बत २०३० सालमा बाबा श्री हिमलाल र आमा श्रीमती सुनदेवी को कोखबाट जेठो सन्तानको रुपमा जन्मनु भएक श्री बुद्धि पुन म्याग्दीको बर्तमान अन्नपूर्ण गाउपालिका वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। जीवनमा थुप्रै आरोह अवरोह र…

9 मिनेट

पढ्ने समय

म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित दुर्गम बिकट गाउहरुमध्यको एक गाउ तत्कालिन भुरुंङ्ग तातोपानी गाबिसको वडा नम्बर ९ मा बिक्रम सम्बत २०३० सालमा बाबा श्री हिमलाल र आमा श्रीमती सुनदेवी को कोखबाट जेठो सन्तानको रुपमा जन्मनु भएक श्री बुद्धि पुन म्याग्दीको बर्तमान अन्नपूर्ण गाउपालिका वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। जीवनमा थुप्रै आरोह अवरोह र घुम्तीहरु पार गर्दै अहिलेको अवस्था सम्म आइपुग्दा वहाले थुप्रै जीवनोपयोगी अनुभव र शिक्षाहरु प्राप्त गरिसक्नुभएको छ। राजनीति शास्त्रमा बि ए सम्मको अध्यन पुरा गर्नुभएका पुन २०५९ सालदेखि तत्कालिन नेकपा माओबादी जनसरकारमा सहभागी हुदै राजनीतिक यात्रामा अगाडी बढनु भएको हो। गाउ जनसरकार बुद्दिजिवि परिषदको पुर्व प्रमुख, वाईसिएल म्याग्दीको पुर्व जिल्ला सदस्य, होटेल रेष्टुराँ संघ क्रान्तिकारीको पुर्व केन्द्रिय सदस्य, राष्ट्रिय किसान संघ क्रान्तिकारीका पुर्ब केन्द्रिय सदस्य लगायत थुप्रै जिम्मेवारिहरु  पुरा गर्दै हाल अन्नपूर्ण गाउपालिका  वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि समेत रहनुभएका पुनसंग घोरेपानीअनलाइनले गरेको कुराकानीको संपादित अंश ।

\"\"

नमस्कार अनि स्वागत छ पुन ज्यु, घोरेपानीअनलाइन संवादमा। दिनहरु कसरि बितिरहेका छन अनि विश्वव्यापी महामारीको रुपमा फैलदै गैरहेको कोरोनाको प्रकोपको अवस्था र तयारि कस्तो हुदै छ?

प्रश्नको लागि यहालाई धन्यवाद अनि यहा लगायत अन्नपुर्ण गाउपालिका म्याग्दीमा घर भई रोजगारीको शिलशिलामा संसार भरी रहनू हुने सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अभिवादन नमस्कार । दिनहरु सामान्य तरिकाले नै जनता र समाजको काम अनि घरायसी जिम्मेवारीको तारतम्य मिलाएर नै चलिरहेको छ। खासै बिशेष त्यस्तो केहि छैन।

विश्वभरि माहामारीको रुपमा फैलिईरहेको कोरोना भाइरसको प्रभाव र यसको नियन्त्रण तथा रोकथामको तयारि कस्तो रहेको छ म्याग्दीको उत्तरी भेगमा?

विश्वभरि माहामारीको रुपमा फैलिदै गैरहेको कोरोना भाइरसको प्रभाव पछिल्लो समयमा नेपालमा समेत फैलदै गैरहेको परिप्रेक्षमा अन्नपुर्ण गाउपालिका लगायत समग्र म्याग्दी जिल्लामा पनि यसको नियन्त्रणका  लागि सक्दो पहल भैरहेको विदितै छ। यस जटिल अवस्थामा अन्नपुर्णवासी सर्वसाधरणको सुरक्षा, सम्भावित  भोकमरी जस्ता कुराहरु गम्भिर चासो र छलफलको विषय बनेको वर्तमान अवस्थामा हिजो र आज भन्दा भोलीको दिन अभै गम्भिर हुन सक्ने तर्फ गाउँपालिका सचेत रही त्यसको पुर्व तयारी सम्बन्धि छलफल हुनु पर्ने टड्कारो आवश्यकता रहेको छ ।

 एक साधारण नागरिकको रुपमा गुज्रिने दिनचर्या र निर्वाचित जनप्रतिनिधिको रुपमा गुजार्नु पर्ने दिनचर्याको बिचमा के के भिन्नता हुदा रहेछन्?

साधारण नागरिक हुनुमा व्यक्तिगत जिवन वा पारिवारिक जिम्मेवारी वहन जस्ता कुरा मात्र हुने हुनाले अलि कम चिन्तन र अलि कम बोझले पनि चल्न र चलाउन सकिन्छ। तर जनप्रतिनिधि भनेको सामाजिक जिवन यापन गर्ने प्रतिनिधि पात्र भएको कारण अलि बढि चिन्तन अलि बढि चासो अनि सामाजिक जिम्मेवारीको दायरा पनि निश्चित रुपमा फराकिलो हुने हुदाँ व्यक्तिगत र पारिवारिक जिवनबाट माथि उठेर चल्न र चलाउनु पर्ने हुन्छ।  सीमित श्रोत साधन र जनताका असीमित आवास्यकता लगायत चुनावताका दीइएका आश्वासन जस्ता कुराहरुका कार्यान्यनका लागि पनि सदैव जागरुक र क्रियाशिल हुनु पर्ने भएकाले साधारण नागरिक र जनप्रतिनिधिको दिनचर्यामा पक्कै पनि केहि भिन्नता हुदोरहेछ  भन्ने महशुस गरेको छु ।

यहा त तत्कालिन अवस्थामा एकीकृत माओवादीको तर्फबाट निर्वाचित प्रतिनिधि हुन्हुन्छ क्यारे। पुरै जिल्लाभरि छिटफुट बाहेक माओवादीको तर्फवाट निर्वाचित जनाप्रतिनिधिहरु शुन्य जस्तै हुदा पनि यहाको वडाबाट पुरै प्यानल नै जिताउन सफल हुनुभयो। यो कसरी सम्भव भयो? जनताहरुलाई के कुराले आकर्षित गर्दोरहेछ खासमा?

देशभरी नै माओवादी केन्द्रको जनमत गुमेको अवस्थामा म्याग्दी जिल्लाको हकमा पनि परीणाम अत्यन्तै निराशाजनक नै थियो भन्दा अत्योक्ति नहोला। तर पनि तत्कालिन स्थानिय निर्वाचनमा भु–तातोपानीबाट प्यानल नै आउनुमा सायद पहिलो त हामि तत्कालिन माओवादी कार्यकर्ताहरुले जनताको मन जित्ने कार्य गरिएको थियो भन्ने नै मान्छु। दोश्रो कुरा गाउँ समाजको लागि केहि गर्न सक्ने क्षमता देखेर जनताले हामीलाई निर्वाचित गरेका हुन् कि झैँ लाग्छ ।

जनप्रतिनिधिको रुपमा यहाले गर्नुभएका सम्झनलायक कामहरु र गर्न चाहेको तर सम्भव नभएका र सम्भव नहुनुका कारणहरु बारे बताइदिनुस न हाम्रा आम पाठकहरुलाइ?

खोइ त्यति धेरै सम्झन लायक काम त गरिएको जस्तो त लाग्दैन मलाई । सामान्यतया: विकास निर्माणका कुराहरु बजेटमा थप घट होलान् तर हिजो कै व्यवस्था, पद्धति, प्रणाली र प्रयोगको निरन्तरता हो। हामी पुरानो शासन प्रणालीका जनप्रतिनिधि पक्कै होइनौ । मुलुक संघियतामा गइसके पछि आवश्यक नीति, नियम निर्माण गर्न सक्ने प्रथम एैतिहासिक स्थानिय निर्वाचनका विधायिका हौ।  त्यसो भएका कारण हाम्रो पहिलो जिम्मेवारी भनेको नेपालको संविधानले दिएको अधिकारक्षेत्र भित्र रही आफुलाई चाहिने आवश्यक नीति नियम निर्माण गर्नु हो । तर हाम्रा कतिपय जनप्रतिनिधि साथीहरुले राजनीति गर्नु र बिधायक बन्नु भनेको झलमल्ल विकास गर्नु हो भन्ने मात्र बुझेको जस्तो लाग्छ। विकास गर्न पनि राजनीति र विकासलाई जोड्ने  पुल त चाहियो नि । त्यो पुलको काम गर्ने भनेको नीति, नियम हो । हरेक राजनीति गर्ने हामीहरु राजनीति शास्त्रका विद्यार्थीहरु हौँ , चाहे त्यो किताबी अध्ययन गरेर आएका हौला या त नगरी। त्यस कारण नीति नियम बनाएर प्रयोग गर्नु कार्यन्वयन गर्नु गराउनु जनप्रतिनिधिको मुख्य दायित्व हो । प्रो. गिल क्राइस्ट ले भने झैँ –पास हुने प्रत्येक कानुनहरु राजनीतिक शास्त्रका विद्यार्थीहरुको निम्ति प्रयोग नै हुन् ।

तर आज सम्म आवश्यक ठोस नीति, नियम र कानुनहरु निर्माण गरेर प्रयोग तथा कार्यन्वयन गर्न नसक्नुलाई म दुर्भाग्य ठान्दछू । केही ऐन, नियम र  कार्यविधिहरु बनाए पनि राजपत्रमा प्रकासित गर्न नसक्नू हामी जनप्रतिनिधिहरुको लाचारी र असक्षमता हो । यही कुरा मनमा एकदमै खड्किएको छ ।

एउटा अभियन्ता वा राजनीतिक कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि हुदा हुने तात्विक र जिम्मेवारीका हिसाबले हुने भिन्नताहरु के के हुन् जस्तो लाग्छ यहालाई?

अभियन्ता को रुपमा एक स्वतन्त्र व्यक्तिले स्वतन्त्र ढङ्गबाट पनि व्यक्ति र समाजलाई सु–सुचित गराउनको लागि राज्यको नीति नियम भित्र रहेर उ आफ्नै तवरबाट स्वचालित हून सक्ने भो तर राजनीतिक जिम्मेवारी भनेको कुनै न कुनै पार्टीसँग आवद्ध र सम्वद्ध भएर सामाजिक कार्य गर्नु पर्ने भएकाले व्यक्तिगत स्वतन्त्रता अलि गौण भएको पो हो कि जस्तो देखिन्छ। स्वभावैले व्यक्ति पार्टी र सस्था प्रति उत्तरदायी बन्नु पर्ने हुन्छ । यस कारणले यो पद्धतिले व्यक्तिको क्षमता, उद्देश्य र प्रयोगलाई ओझेलमा पारिदिन्छ । जनप्रतिनिधि भएपछि जनभावना, जनआकांक्षा र जनअपेक्षा अनुरुप हिड्नु पनि त पर्यो  नि ।

गणतन्त्रको स्थापना र नया संबिधान जारि भएपछिको पहिको स्थानिय सरकार गठन भएको पनि यतिका वर्ष भैसक्यो तर जनताको दैनिकी र जीवनस्तरमा खासै परिवर्तन आएन भन्ने गुनासो छ नि।  के भन्नुहुन्छ यहाँ ?

माथि पनि भनिसके कि स्थानिय सरकारको खास अनुभुति हुन सकेन भन्ने जन गुनासोलाई स्वभाभिक ठान्दछु । यद्यपी हाम्रो मात्र होइन सात सय त्रिपन्न स्थानिय तहहरुमा केही औँलामा गन्न सकिने बाहेक अधिकांस स्थानिय सरकार कुहिरो भित्र काग हराए भै आफैमा रुमल्लिरहेको अवस्था छ । शासन सत्ता सञ्चालनका निम्ति अनुभवरहित जनप्रतिनिधि पद्धति, प्रणाली र प्रशासनिक कुरामा पटक्कै पुनसंरचना हुन नसकेको कर्मचारीतन्त्र, यिनै कुराहरुको बेतालमेल कै कारण जनताले जुन खालको अपेक्षा गरेका थिए त्यो पटक्कै हुन नसकेको कुरा सत्य हो ।

नयाँ संरचना अनुसार बनेका सबै स्थानिय तहहरुको सिमाङ्कन र केन्द्र तोक्ने काममा सामान्य विवाद भए र समाधान पनि भैसके तर अन्नपूर्ण गाउपालिकाको केन्द्र तोक्ने बिषयमा सर्वदलिय सर्वसहमति र पछि निर्वाचित प्रतिनिधिहरुको पनि सहमतिमै केन्द्र यथावत पोखरेबगरमै राखिएको यतिका वर्ष भैसक्दा पनि जनप्रतिनिधिहरु अझै पनि केन्द्र सार्ने खेलमै रमाउदै छन भन्ने आरोप छ नि?

फेरी पनि केन्द्रकै विषयलाई लिएर साथीहरु किन बेमौसमी बाजा बजाउदैहुनुहुन्छ, म अचम्मित छु । हामी जनप्रतिनिधिले गर्नु पर्ने र जनआकांक्षा अनुरुपका थुप्रै कामहरु गर्न बाँकी नै छ। अब त हाम्रो समयावधि पनि उत्तरार्धतर्फ जादैँछ। तर किन यो बेकारको अनावस्यक कुरामा अल्झिन खोज्दै हुनुहुन्छ साथीहरु म आफैले पनि बुझ्न सकिरहेको छैन। मलाई लाग्छ, यो काम नपाएर झिंगा मारेर बस्ने बेकम्माहरुको बसीबियालोको पासा मात्र हो ।

\"\"

गाउपालिकाको केन्द्र तोकिएको स्थानमा अहिले सम्म पनि कुनै संरचना निर्माण नगरिनु वा गर्ने प्रयाश नै नहुनुको कारण चाहि के होला?

आरोप जसले जसलाई जे लगाए पनि, जे जस्ता बाहानाबाजी गरे पनि अरु कुनै कारण भन्दा पनि सरकारको नेत्रृत्वमा रहनेहरुको इच्छा शक्ति नभएरै आजसम्म कुनै संरचना नबनेको हो। नत्र, बजेट विनियोजनको कुरा गर्ने हो भने प्रत्येक वर्ष पालिकाको संरचना निर्माण गर्ने भनेर करोड भन्दा बढी रकम बिनियोजन गरिएकै छ त किन बन्दैन भवन? करोडौको बजेटले पनि बन्न नसक्ने कस्तो भवन बनाउन खोज्दैछौ हामि? केले छेकेको छ काम अगाडी बढाउन? मानौ नीतिगत समस्या भयो अरे त्यसलाई सहज गर्नका लागि किन आजसम्म प्रारम्भिक पहलकदमी पनि गरिदैन? यसको जिम्मेवारी स्वाभाविक रुपले बर्तमान स्थानिय सरकारको नेत्रित्वले नै लिनु पर्छ र जनतालाई उचित जवाफ दिनु पर्छ भन्ने कुरामा म अडिग छु।

जनस्तरमा फ़ैलाइएको अफवाह जस्तै संरचना बनाउन जग्गा अभावकै कारणले काम नथालिएको वा अन्य कुनै अघोषित कारणहरु होलान त? जनतालाई प्रष्ट पारिदिनुस न?

स्थानियसँग जग्गा व्यवस्थापनमा सहजीकरण गर्ने भनेर बनेको समितिको एक सदस्य म पनि थिएँ। लामो छलफल पछि अगाडि तिरको मोहोडा तर्फ अठार फुट जमीन उपलब्ध गराउने भनेर सहजरुपमा स्थानियले दिएका हुन।  हाल केही भाग पर्खाल लगाएर बाकीं अलपत्र अवस्थामा छ। आवश्यक परेमा छलफल अनुरोध गरेमा दुई चार फुट जमिन पुनः दिने कुरामा स्थानिय सकारात्मक छन्। त्यस बारेमा छलफलै गर्न नचाहे पछि स्थानिय झन् शसंकित भएका हुन।  जमिन उपलब्ध हुन्छ। छलफल र कुराकानीको वातावरण बनाउनु पर्यो। तर बाहानाबाजी गरी नियत नै फरक भै दिए पछि समस्या नै समस्या देखिन्छ ।

दुनियाले चन्द्रमा बस्ति बसाउने सोच्दैछ अनि चिन लगायतले पहाड फोडेर रेल दौडाउने र बस्ति बसाउने गरिसके तर हामीले के गाउपालिकाको कार्यालय भवन बनाउने जमिन ब्यबस्थापन पनि गर्न नसकेकै हो त पोखरेबगरमा?

जमिन व्यवस्थापन गर्न नै नसकेको भन्ने कुरा त हुदै होइन। यो सरासर र कपोलकल्पित अफवाह मात्र हुन् सक्छ। काम र सहजीकरण गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिए किन गर्न नसकिने? जहासम्म मैले बुझेको छु, पोखरेबगरबासीहरु तोकिएको केन्द्र अन्यत्रै गए जाओस् भन्ने सोचमा पटक्कै हुनुहुन्न। कमसेकम गाउपालिकाका जिम्मेवारहरूले स्थानियाहरुसंग बसेर छलफल गर्नु पर्यो नि। नरोए सम्म आमाले बच्चालाई दुध त् पिलाउदिनन भने वर्षौदेखि भोगचलन गर्दै आएको जमिन सित्तैमा लौ लैजाउ भन्दै आउने कुरा पनि त भएन नि। तर आवास्यक पहल गरे केहि तलमाथि गरेर जमिन उपलब्ध हुन्छ भन्ने कुरा त प्रष्ट भैसकेकै छ नि।

हामि यस संवादको लगभग अन्ततिर आइसकेका छौ यस अवसरमा जिजिबिशाका लागि विश्वका बिभिन्न मुलुकहरुमा रहनुभएका समस्त अन्नपूर्ण गाउपालिकाबासि र नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहनुहुन्छ? 

अन्नपुर्ण गाउँपालिका म्याग्दीमा घर भई रोजगारीको शिलशिलामा संसारको कुना कुनामा रहनु भएका सम्पुर्ण दाजुभाई दिदीबहिनीहरु लगायत सम्पुर्ण आप्रबासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई जहाँ रहनुहुन्छ खुशी रहनुहोस्, सुखी रहनुहोस् अनि सु–स्वास्थ्य रहनुहोस् । विश्वभर फैलीइरहेको कोरोनाको महामारीबाट  सुरक्षीत रहनुहोस्। सुरक्षाका  सम्पुर्ण विकल्प अपनाउनमा कुनै कञ्जुसाइ नगर्नुहोस्। जहा रहे पनि आफ्नो देश, आफ्नो जन्मभूमि र जन्मिएको ठाँउलाई माया गर्नुहोस भन्न चाहन्छु।

समय र सम्बादको लागि धेरै धेरै धन्यवाद। अन्त्यमा यहाले भन्न चाहानुभएको र मैले सोध्न छुटाएका कुनै कुरा भए भन्न सक्नुहुनेछ।

म  र हाम्रो यस अन्नपुर्ण गाउँपालीका म्याग्दीसँग सम्बन्धित जिज्ञासा र बिकशित घटनाक्रमका बारेमा मेरा आफ्ना देखाई, भोगाई र अनुभवहरु अनलाइनको माध्यमबाट विश्वभरी छरिएर रहनुभएका सम्पुर्ण पाठकहरुसामु पुर्याइदिने अवसर प्रदान गर्नु हुने यस अनलाइनप्रति म हार्दिक आभार तथा  कृतज्ञता व्यक्त गर्न चाहन्छु । यस घोरेपानीअनलाईनसँग जोडिएर सुचनाको पहुचसँग सदैव आत्मिय साइनो गाँस्नु हुन सम्पुर्ण अन्नपुर्णवासी लगायत देश विदेशमा रहनु हुने प्रवाशि  दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । अन्तमा विश्वब्यापी  माहामारीको रुपमा फैलिएको कोरोना भाईरसद्धारा दुखद निधन हुनु भएका प्रवाशि  नेपाली दाजुभाई तथा दिदीबहिनी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच