आमालाई धर्ती भन्नेहरुले बुबालाई कहिल्यै आकाश भनेनन्‬ (कविता)

\"\"
‪मैले धेरै पढेँ ‬
‪आमाका बेदनाका कथाहरु‬
‪तर कहिल्यै पढिन ‬
‪बाका अनुहारमा सलबलाएका ‬
‪दु:खका बक्र रेखाहरु ‬
‪धेरै पटक कविहरुले ‬
‪आमाकै तारिफमा कबिता कोरे ‬
‪आमाकै गीत संगीत भरे ‬
‪आमालाई धर्ती भन्नेहरुले ‬
‪बालाई कहिल्यै आकाश भनेनन् ‬
‪र त ‬बा सँधै ओझेल परे ।‬

‪बारीको डीलमा चुपचाप ‬
‪ठिंग उभिएको बूढो रुख झैं ‬
‪बा कहिल्यै उभिएनन् ‬
‪भन्ज्यांगको चौतारी झैं ‬
‪ढसमस्स बसेनन् बा कहिल्यै ‬
‪बा त ‬
‪हाम्रो अँधेरो मेटाउन ‬
‪मैन झै जलिरहे ‬
‪हाम्रा खुसी समेट्न ‬
‪मोनो रेल झैं चलिरहे ‬
‪जिन्दगी भर कुदिरहे कुदिरहे ‬
‪थाकेर सुइय नगरि ‬
‪सँधै एक्लै कुदिरहे ‬
‪त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल ‬
‪बाको मनभित्र ।‬

‪यतिखेर ‬
‪लम्पसार छ निरस जिन्दगी ‬
‪बाकै अघिल्तिर ‬
‪थिचिएर त्रासले सँधै ‬
‪घुरिरहन्छ घ्वारघ्वार ‬
‪कुम्भकर्णको निद्रामा ‬
‪बाको अन्योल जिन्दगी ‬
‪तर बा ‬
‪करकलाको पातमा टलपल पानी झैं ‬
‪आँसु टिलपिलाएका आँखामा‬
‪निद्रा हराएपछि ‬
‪खुसीहरुको सिला खोज्दैछन् ‬
‪परेलीका डीलहरुमा ।‬

‪बोल्दा बोल्दै भासिन्छ बाको स्वर ‬
‪बोली बन्द हुन्छ एकाएक ‬
‪थाहा पाउछु म गला अबरुद्ध भएको ‬
‪र पनि दबाएर सबै पीडा ‬
‪मुस्कुराएको अभिनय गर्छन् ‬
‪म चिन्छु त्यो मुस्कान ‬
‪त्यो नक्कली मुस्कान ‬
‪जो बा को होइन ‬
‪हुदै होइन ।‬

‪फुंग रंग उडेका ‬
‪उदासीका फूलहरु ‬
‪फुलेका छन् बा का मुहार भरि ‬
‪चाउरिएर ‬
‪ग्राफ जस्ता गालाका रेखाहरुमा ‬
‪कतै एक धर्को सन्तोष छैन ‬
‪कपाल झरेर खुइलिएको बाको तालुमा ‬
‪जिम्मेवारीको चर्को घामले ‬
‪उदाए देखि अस्ताउदा सम्म‬
‪ठुंगिरहन्छ ।‬

‪भित्र मनमा कता कता ‬
‪बिगत र आगतको ‬
‪उही चिन्ताको पहाड उभिएको छ ‬
‪र बा त्यही पहाडमा उभिएर ‬
‪संसार जितेको नाटक गर्छन् ‬
‪अनि बाँड्छन् हामीलाई ‬
‪पैंचो मागेका उधारा खुसीहरु ‬
‪तर यथार्थमा ‬
‪बा हारिरहन्छन् पलपल ‬
‪मेरो लागि ‬
‪तिम्रो लागि र ‬
‪हाम्रो लागि ‬
‪हो, बा त्यो हरुवा हो ‬
‪जो सँधै हारिरहन्छन् ‬
‪केवल सन्तानका लागि ।‬
‪(साभार: रातोपेज मे २०१९ )‬