‘पर्वत राज्य’ संग्रहालय किन ?

– कृष्ण पौडेल वेनी नपा–५, भिरमुनी  हाल डेनमार्क पृष्ठभूमी विकास र समृद्धिको तिर्खाले हामीलाई अत्याएको छ । विकसित मुलुकहरुको भौतिक समुन्नति र उन्नत समाजिक जीवनबाट लोभिएका छौ र उनीहरुलाई पछ्याउन लालायित छौं। वास्तविकता के हो भने त्यो उन्नति समृद्धि रातारात प्राप्त भएको होइन । इतिहासको एउटा कालखण्डमा आज विकसित र समुन्नत मानिएका भूभागका मानिसहरु हामीभन्दा…

6 मिनेट

पढ्ने समय

– कृष्ण पौडेल

वेनी नपा–५, भिरमुनी

 हाल डेनमार्क

पृष्ठभूमी

विकास र समृद्धिको तिर्खाले हामीलाई अत्याएको छ । विकसित मुलुकहरुको भौतिक समुन्नति र उन्नत समाजिक जीवनबाट लोभिएका छौ र उनीहरुलाई पछ्याउन लालायित छौं। वास्तविकता के हो भने त्यो उन्नति समृद्धि रातारात प्राप्त भएको होइन । इतिहासको एउटा कालखण्डमा आज विकसित र समुन्नत मानिएका भूभागका मानिसहरु हामीभन्दा गएगुजे्रेको अवस्थामा थिए । प्राकृतिक र मानवीय प्रलयका कारणले उनीहरुको मानवीय चेतना जागेको थियो । खरानीको थुप्रोबाट वैभवको महल खडा भएको हो । उन्नति प्रगति दैवी उपकार वा इश्वरीय वरदान होइन । त्यसको श्रेय मानवीय प्रयत्नलाई जान्छ । त्यो पुरुषार्थ मानव समाजकै हो भन्ने कुरा ती देशको इतिहासले बताउँछ । हालसम्म संरक्षण गरेर राखिएका पुरातात्विक सम्पदाहरुको अबलोकनबाट तत्कालीन समाजको समाजिक अवस्था र इतिहास जान्न बुझ्न सकिन्छ ।

 कुनै पनि समाजको ऐतिहासिक पृष्ठभूमीको जानकारी विना वर्तमान अवस्थाको अन्तर्य बुझ्न सकिदैन । विकासको उपयुक्त स्वरुप र बाटो बाहिरको अन्ध नक्कलबाट फेला पर्दैन ।  सम्बन्धित समाजको ऐतिहासिक पृष्ठभूमि र विशेषताहरुको अध्ययन विश्लेषण गर्नुपर्छ । जब आफुलाई ठिक ढंगले चिन्न सकिन्छ तब ठिक ढंगले हिड्न सकिन्छ । इतिहास केवल विद्धानहरुको मात्र चासो र सरोकारमा सीमित हुनु हुदैन । त्यो आम सरोकारको विषय बन्नुपर्छ । र त्यसलाई सर्वसाधारण, किशोर तथा युवाहरुले समेत सहज अबलोकन र अध्ययन गर्न सकिने रुपमा प्रस्तूत गरिनुपर्छ ।

 आफू, आफ्नो जाति समुदाय र आफु जन्मे हुर्केको खाईखेलेको थातथलोको वास्तविक अस्तित्व, चिनारी  तथा पहिचानलाई गहिरो गरी जान्ने, बुझ्ने, जाँच परख गर्ने र त्यसको ऐतिहासिक पाटोको न्यूनतम ज्ञान हरेक सचेत नागरिकहरुमा हुनु जरुरी छ । इतिहासका पुस्तक, र पुरातात्विक सम्पदाहरु इतिहासको जानकारी लिने स्रोतहरु हुन । इतिहासलाई प्रभावकारी र सजिवरुपमा प्रस्तुत गर्ने एउटा सशक्त माध्यम संग्रहालय पनि हो ।

 चीनमा पाँचहजार बर्ष देखिको लिखित इतिहास छ भनेर मानिन्छ  । युरोप तथा मध्यपूर्वतिर दुईतीन हजार बर्ष अगाडि देखिको व्यवस्थित अभिलेख पाईन्छ र पछिल्ला सहस्राब्धी देखिका धेरै मसिना कुराहरु पनि सुरक्षित गरिएका छन् । राजनैतिक, आर्थिक, सामाजिक, र साँस्कृतिक विषयवस्तुहरुका भूतकालीन तथ्य तथ्याँकहरु उपर निरन्तर खोज अनुसन्धान अध्ययन विश्लेषण हुने गर्छ । इतिहास, ऐहिासिक महत्वका सामग्री र आँकडाहरुलाई अभिलिखित र संरक्षित गर्ने मामिलामा नेपाल, भारत लगायत दक्षिण एशियाली क्षेत्रको अवस्था अत्यन्त दयनीय छ । हाम्रो इतिहासका कैयौ पाटा अंध्यारोमा छन् । यस क्षेत्रमा तथ्यगत इतिहासको लेखन तथा संरक्षण भन्दा सत्य तथ्य दवाएर इतिहासको नाममा रहस्यमय, तिलस्मी कथा र किवंदन्ती लेख्ने लेखाउने परम्परा रहेको पाइन्छ । त्यसैको परिणामस्वरुप आफ्नो इतिहास खोज्न विदेशका पुस्तकालय तथा संग्रहालयहरुमा चाहर्नु पर्ने, विदेशी यात्रीहरुको लेखोटहरु खोज्नु पर्ने दयालाग्दो परिस्थिति छ ।

 आफ्नो इतिहासप्रति गहिरो अभिरुचि राख्ने, गौरव र सम्मान गर्ने विकसित समाजको चरित्र रहेको देखिन्छ  । त्यो इतिहास र ऐतिहासिकताको संरक्षण सम्बद्र्धनको उच्च चेतको प्रतिफल हो । विकसित समाजमा पुराना कला, संस्कृति, सभ्यता चिनाउने वस्तु वा सामग्रीहरु मात्र होइनः भावि पुस्तालाई वर्तमान अवस्थाको अनुभूति दिलाउन, विगत देखि आगतसम्मका जनजीवनलाई झल्काउने चीजबीजहरुको संभव भएसम्म संकलन गरी, जोगाएर राख्न, सजाएर प्रदर्शन गर्न संग्रहालय निर्माण गर्ने पराम्परा रहेको देखिन्छ । उपयुक्त संग्रहालयको स्थापना विना जति सुकै गौरवशाली ऐतिहासिक पृष्ठभूमी भए तापनि त्यो या त अँध्यारोमा छिपेको हुन्छ या त धरातलमा लुकेको हुन्छ । हामीमा आफ्नोे देश र गाँउठाउँको  इतिहास र समुदायको साँस्कृतिक पराम्पराप्रति चासो र अभिरुचि अवश्य छ तर त्यसको सहज जानकारीका स्रोतहरु दुर्लभ छन् । अप्राप्य छन् ।

 हाम्रो समाजिक ढाँचा परिवर्तनको मोडमा छ । हजारौ वर्षदेखि चलि आएको जीवन पद्धति तिब्र गतिमा बदलिंदै छ । हालसम्म अस्तित्वमा रहेको हलो, आँसी, खुर्पेटो, ढिकी, जाँतोको प्रयोग जनजीवनबाट छिटै लोप हुने अवस्थामा छन् । तोरी, उखु पेल्ने कोलहरु, घुमाउने घर, भोटे ताल्चा हराई सकेको अवस्था छ । सबै पुराना कुरालाई व्यवहारमा निरन्तरता दिन संभव पनि हुदैन तर पुर्खाहरुको जीवन चरित्रको झलक दिने त्यस्ता सामग्रीहरुलाई संग्रहालयमा सुरक्षित राखिदिनु पर्छ । विकसित मुलुकहरुतिर त्यस किसिमका संग्रहालयहरु प्रसस्त देखिन्छन् । हरेक गाउँ र शहरहरुमा एउटा न एउटा संग्रहालय अवश्य हुन्छ  र  बच्चा तथा किशोर किशोरीहरुलाई विद्यालय तथा अविभावकहरुले घुमाउने, देखाउने र तिनको बारेमा विस्तारमा जानकारी दिने गरेको पाईन्छ । विकास भनेको सुविधाको अभिवृद्धि मात्र होईन, सूचनाको स्रोत र अवसरको उपलब्धता पनि हो । हामी संसार देख्न सक्ने तर आफ्नो बारेमा लेख्न नसक्ने अवस्थामा हुनु हुदैन ।

 बितेका कुराको मात्र होइन चालु अवस्थामा रहेका महत्वपूर्ण विषयहरुको पनि व्यवस्थित अभिलेखन र संरक्षण हुन जरुरी हुन्छ । राष्ट्र वा समुदायको वास्तविक अस्तित्व र चिनारीलाई उजागर गर्न भव्य संग्रहलय अथवा म्यूजियमको उपस्थिति अपरिहार्य छ ।

पर्वत राज्य तथा पुलाहश्रम क्षेत्रको ऐतिहासिक गरिमा

 म्याग्दी जिल्लाको बेनी नगरपालिका अन्तर्गत पर्ने प्राचीन पुला अर्थात पुलाहश्रम क्षेत्रको राजनैतिक, सामाजिक तथा साँस्कृतिक इतिहास आफैमा गौरवशाली छ । यो पुराण प्रसिद्ध ऋषि पुलस्त्य र पुलह लगायतका चर्चित पात्रहरुको तपोभूमीको रुपमा प्रख्यात छ । साथै नेपाल एकिकरण पूर्व चौबीसे मध्येको प्रभावशाली राज्य पर्वतको राजधानी क्षेत्र पनि हो । तत्कालीन पर्वत राज्य विभिन्न जातीय समुदायहरुकोे पुरानो आवादी मानिन्छ । करीब आठ सय वर्ष अघि नै यस क्षेत्रमा खस आर्यसमुदायको आगमन भएको र रैथाने जनजाति समुदायसंग मिलेर बस्दै आएको छ । यो शायद नेपालमै दूर्लभ इतिहास भएका क्षेत्र मध्यमा पर्दछ । नेपालको मानक नेपालीभाषाको रुपमा स्थापित पर्वते भाषिका तथा बोलीको उद्गम क्षेत्र समेत यही मानिन्छ । यसका अन्य धेरै महत्वपूर्ण पक्षहरु छन् जसले यस क्षेत्रको ऐतिहासिक गरिमालाई पुष्टि गर्दछन् । तर त्यो गरिमामय इतिहास दविएर लुप्तप्रायः अवस्थामा पुगेको छ ।

 यस क्षेत्रको इतिहासको खोज अनुसन्धान र लेखनको प्रयासहरु पनि विभिन्न विद्धानहरुबाट भइरहेका छन् । भविष्यमा पनि हुँदै रहने छन् । तर उपलब्ध भएसम्म ऐतिहासिक प्रमाणहरु र पुरानो जमानाको झल्को दिने सामग्रीहरु संग्रह गर्ने, संरक्षण गरेर सहज रुपमा प्रत्यक्ष अबलोकन गर्ने र जान्न बुझ्न सकिने सुविधाको व्यवस्था हुनुको छुट्टै महत्व हुन्छ ।  मूर्त  र प्रत्यक्ष प्रमाण विनाको कागजी इतिहास फिका र खोक्रो ठहरिन्छ । तसर्थ यस क्षेत्रको गौरवपूर्ण इतिहास तथा परम्पराको मूर्त प्रस्तूुतिको निम्ति संग्रहालयको स्थापना तथा निर्माणको आवश्यकताको बोध हाम्रो समाज र वर्तमान पुस्तालाई हुनु जरुरी छ ।

वृहद पर्वत राज्य संग्रहालय को आवश्यकता र महत्व :

 यस क्षेत्रको ऐतिहासिक पृष्ठभूमि र सभ्यता विशिष्ट र गरिमामय छ । यसको गरिमा गौरव राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय महत्वको समेत छ भनेर दावी गर्ने आधारहरु छन् । तर यसको सत्य, तथ्य र रहस्यको अल्प जानकारी केही व्यक्ति र खोजकर्ताहरुमा मात्र सीमित छ । आम जनमानस र नयाँपुस्तासम्म त्यो ज्ञान हस्तान्तरित हुन सकेको छैन । आम जनता र नयाँ पुस्ता त्यस अर्थमा अन्धकारमै छ । इतिहास, संस्कृति तथा सभ्यताका विविध आयामहरुलाई सुव्यवस्थित रुपमा उजागर गर्न एक सुविधायुक्त संग्रहालयको स्थापना गर्न आवश्यक छ । समकालिन परिवेशमा संग्रहालय स्थापनाको महत्वलाई यस प्रकार मनन गर्न सकिन्छ

 क. छाँयामा परेको तथा हराउन थालेको यस क्षेत्रको राजनैतिक, सामाजिक तथा साँस्कृति सभ्यता र इतिहासका तथ्य प्रमाणहरुको  खोज, संकलन र संरक्षण हुनेछ ।

 ख. वर्तमान तथा भावि पुस्ताले स्थानीय इतिहास र मौलिक सभ्यताको सम्बन्धमा सहज रुपमा तथ्यसंगत अमूल्य ज्ञान प्राप्त गर्नेछन् । नयाँ स्थान तथा परिवेशमा हुर्किरहेको सन्ततिहरुले पनि, आफ्ना बाबुबाजे तथा पुर्खाहरुको इतिहास, सस्कृति र जीवन पद्धतिको सहज जानकारी लिने अवसर पाउने छन् ।

 ग. यस क्षेत्रको ऐतिहासिक महत्व र सम्पदाको  प्रत्यक्ष दृश्यावली र प्रमाणहरु एकै थलोमा अवलोकन गर्न सकिने हुनाले यस क्षेत्रबाट बसाई सरेका वा कुनै रुपमा पुर्खौली सम्बन्ध हुनेहरु, देश विदेशका अन्य नेपालीहरुका साथै विदेशीहरुमा समेत यस क्षेत्र प्रति चासो, जिज्ञासा र अभिरुचि बढ्ने छ ।

 घ. सामाजिक, साँस्कृतिक तथा ऐतिहासिक पक्षको एकमुष्ट जानकारी प्राप्त हुनसक्ने स्मारक स्थल वा संग्रहालय सामाजिक अध्ययनको प्रभावकारी स्रोत हुन सक्ने हुँदा देशभरका शिक्षक, विद्यार्थी र अनुसन्धाताहरुको शैक्षिक भ्रमणको लागि यो आकर्षक गन्तव्य बन्न सक्ने छ,। धार्मिक, ऐतिहासिक तथा प्राकृतिक आकर्षणको दुर्लभ संयोगको निर्माण हुने हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरी  पर्यटन उद्योगको प्रबर्धनमा समेत योगदान पुर्याउने छ ।

ङ. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संग्रहालय तथा स्मारक निर्माण हुन सक्दा यस क्षेत्र र यहाँका बासिन्दाहरुको प्रतिष्ठा र गौरव उच्च हुने छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच