-चन्द्रप्रकाश बानियाँ
उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै आठ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो रआफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो ।
तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन्। तीव्र गतिमा मुटु स्पन्दित भइरहेको छ।नेपाली साहित्यका महारथीहरूको त्यही विराट उपस्थितिले निर्माण गरेको तेजस्वी आभाको सगरमाथासमक्ष उभिएर सम्बोधनका दुईशब्द उच्चारण गर्न खोज्दा मेरा दृष्टिविन्दुहरू तिर्मिराइरहेका छन् र बिस्तारै बिस्तारै आफ्नो भौतिक उचाइ खिइँदै दुब्लाउँदै गएर ‘लिलिपुटेमानव’ मा रुपान्तरित भएजस्तो अनुभूति गरिरहेको छु ।
मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान र मान दियो । साहित्यकर्मीहरूको लहरमा उभिने गौरवपूर्ण अवसर दियो ।त्यसका लागि जतिपटक आभार व्यक्त गरे पनि कमै हुन्छ । मदन पुरस्कारले खुसी दिएको मात्र होइन, रुवाएको पनि छ । गत सितम्बर ४को अपराह्न ३ः४५ बजे मदन पुरस्कार गुठीका सम्माननीय अध्यक्षज्यूसँग भएको संक्षिप्त फोन संवादपछि मेरो भरिएको मनलाई मेराआँसुहरूले निर्धक्क सघाएका थिए । एउटै बाँचेको सन्तान धेरै वर्ष देशविदेश घुमेर सकुशल घर फक्र्याे भने बूढीआमाकानयनसागरबाट आँसुका अजस्र स्रोतहरू निःसृत हुन्छन् ।
ती अनमोल आँसुहरू हर्षका मात्र हुँदैनन्, वर्षौंअघि किशोर वयमा पाइलो राख्ने अवसर समेत नपाउँदै कालकवलित भएका हतभागीसन्तानहरूको सम्झनाका आँसु पनि मिसिएका हुन्छन् । उम्लिएर पोखिन खोज्ने त्यस्तै पीडाका अनुभूतिहरूलाई रोक्ने शक्ति सामथ्र्यमसँग पनि थिएन ।
‘महारानी’ को कथा दुई शताब्दीभन्दा लामो समयदेखि विस्मृतिको गर्भमा पातालिएको इतिहास उत्खननको साधारण र सपाट विवरणमात्रै हो । त्यही टिपोटलाई मदन पुरस्कार गुठीले साहित्यको दर्जा दियो । गुठीको त्यही निर्णयले यहाँ यसरी उभिने र अभिव्यक्त हुनेअवसर मिल्यो। त्यसका लागि गुठीप्रति हार्दिक आभार अर्पण गर्दछु ।
अघिल्लो पुस्ताले आफ्ना अनुभव र अनुभूतिको दस्तावेज तयार गरेर राखिदियो। पछिल्लो पुस्ताले अग्रजका लेखोटहरूको विशेषता रबान्कीका आधारमा परिभाषा बनायो।
पहिले साहित्य जन्म्यो, त्यसपछि परिभाषा। अर्थात् आफ्नै परिभाषाभन्दा साहित्य जेठो छ । त्यसैले परिभाषाको संकुचित घेरामाखुम्चिएर साहित्य बस्दैन। बस्न सक्तैन। कुनै सीमा र बन्धनले साहित्यलाई सदाकाल ठिँगुराएर राख्न सक्दैन। सक्ने छैन ।
साहित्यमा मानव जीवन बोल्छ । समाज बोल्छ । समय बोल्छ । मानिसको भोगाइ र अनुभूतिहरूले वाणी पाउँछन् । मानव अनुभूतिभित्रखुसी र आनन्द मात्र होइन, पीडा, क्रन्दन र चीत्कार पनि खाँदिएका हुन्छन् । कलाका अन्य विधामा भन्दा साहित्यमा एउटा विलक्षणफरक सामथ्र्य रहन्छ ।
क्रन्दन र चीत्कारलाई कस्तै कुशल संगीतकारले पनि मधुर धुनले सजाउन सक्दैन । तर साहित्यले गालीलाई पनि श्रुतिमधुर बनाउन सक्छ। लालित्यपूर्ण बनाउन सक्छ । सुरुचिपूर्ण पाठ्यसामग्री बनाइदिन सक्छ । त्यो कसीमा राखेर हेर्दा महारानीले साहित्यको दर्जा पाउनु रपुरस्कृत हुनु मेरा लागि कल्पनातीत विषय थियो ।
मैले साहित्यको सम्बन्धमा बोल्ने हैसियत आर्जन गरेको छु भन्न मिल्दैन । त्यसैले विद्वत्जनहरूसमक्ष अभिव्यक्त भएको आफ्नो नादानधृष्टताका लागि विनम्रतापूर्वक क्षमा याचना गर्दछु र, ‘महारानी’ उपन्यासको पृष्ठभूमि अलिकता कोट्याउने अनुमतिको अपेक्षा राख्दछु ।
इतिहासका पुस्तकमा मात्र होइन, लोककथनमा पनि लामो समयसम्म इतिहास जीवित रहन्छ । लिखतमा नउतारिएको कुनैकालखण्डको ऐतिहासिक तथ्यमा अतिरञ्जनाहरू थपिँदै जाँदा त्यो किंवदन्तीमा रुपान्तरित हुन्छ। आवरणमा जे जस्ता कथा जोडिएकाभए पनि त्यसको गर्भगृहमा इतिहास जिउँदै हुन्छ ।
तथ्यप्रमाणले पुष्टि गर्न नसकिने इतिहास साहित्यको माध्यमबाट अभिव्यक्त हुन्छ । साहित्यमा इतिहासको र इतिहासमा साहित्यकोगौरवपूर्ण उपस्थिति रहन्छ । इतिहास मानव जीवनको मूल्यात्मक विकास हो, मूल्यको भाषिक अभिव्यक्ति हो –साहित्य । साहित्यमाकल्पनातत्व प्रबल रहन्छ, इतिहासमा तथ्य ।
ऐतिहासिक घटनाक्रमको पीँधसम्म पुगेर सुनिएका–नसुनिएका, परिचित–अपरिचित, दृश्य–अदृश्य घटना र पात्रहरू समातेर विश्वसनीयआख्यान रचना गरिन्छ । इतिहासमा छुटाइएका वा लेख्न इन्कार गरिएका अथवा उपेक्षित विषयहरू आख्यानमार्फत सार्वजनिक हुन्छन् ।
‘इतिहास अतीत र वर्तमानबीच निरन्तर चल्ने संवाद हो’ भन्ने ई.एच. कारको भनाइ यस अर्थमा यथार्थनिकट सावित हुन्छ । सत्य रकल्पनाको सुन्दर संयोजनबाट सिर्जना गरिएको आख्यानले विश्वसनीय इतिहास बन्ने सामथ्र्य राख्दछ ।
इतिहासको पुनर्लेखन मात्रै होइन, आख्यान इतिहासको पुनर्संरचना समेत बन्न सक्दछ । इतिहास आधारित आख्यानमा यथार्थ चेतना रकल्पनाको मोहक समन्वय मात्र हुँदैन, इतिहासका कठिनतम क्षणसँग समाजलाई साक्षात्कार गराउने तागत पनि हुन्छ ।
अझ आन्द्रे लेभीले भनेजस्तै इतिहासले खाली छोडेको ठाउँ आख्यानकारका कल्पनाले भरिदिन्छन्। बरु इतिहासमा वास्तविक इतिहासनभेटिन सक्छ तर आख्यानमा इतिहास सदाकाल जीवित रहन्छ ।
दुई शताब्दी लामो कालखण्डसम्म जुन भूमिमा महारानीको कथा दबिएर रहेको थियो, संयोगवश मेरो जन्म पनि त्यही माटोमा भएकोथियो । महारानीसँग जोडिएका अनेक अपत्यारिला कथा–गाथाहरू सुन्दै सुनाउँदै हुर्कने अवसर जुरेका हुनाले तथ्यको गहिराइमा पुगेरइतिहास उधिन्ने उत्कट अभिलाषा थियो ।
किंवदन्तीमा रुपान्तरित भएको महारानीको कथालाई उपन्यासमा उतार्न पाउँदा पउल लेख्य सामग्रीको अभावमा आकांक्षा अधूरै रहन्छ किभन्ने मेरो चिन्ताको सुखद अन्त्य भएको छ । यो आख्यान इतिहासकै अस्थिपञ्जरमा भरिएको मांसपिण्ड हो ।
साहित्य रचनाको अभ्यास समयको गतिसँगै कदम मिलाएर पल्लवित, पुष्पित, परिमार्जित र विकसित हुँदै जाने हो । मानिसकोजीवनयात्रा जस्तै समयक्रममा बालक, किशोर, जवान हुँदै परिपक्वतातिर उन्मुख हुने हो ।
दुर्भाग्यवश मेरो लेखनयात्रा बुढ्यौलीमा बल्ल वामे सर्दैछ । तन्नेरी हुन नपाउँदै अवसानको नियति भोग्न अभिशप्त हुने मेरो साहित्यिकजीवनका लागि दुःख मनाउ गर्नुको कुनै अर्थ रहँदैन ।
लेखन यात्राले दीर्घजीवन पाउला–नपाउला, अल्पायुमै कालकवलित हुन पनि सक्छ । त्यसैले मेरो कलमलाई किञ्चित पहिचान दिलाउने‘महारानी’ को लेखनमा घचघच्याउने, सघाउने र हौस्याउने सबै विद्वान् बन्धुप्रति कृतज्ञता ज्ञापन गर्दछु । साहित्यको फाँटमा अपरिचितकलमलाई प्रोत्साहित गर्ने र समाजसामु पस्कने जोखिम उठाउने शिखा प्रकाशनप्रति पनि कृतज्ञता ज्ञापन गर्दछु ।
र, अन्त्यमा
देवीको दर्जा पाइसकेकी महारानी विश्वप्रभाका मानवीय भावनाहरू उधिनपत्ताल पार्ने, छेडखान गर्ने र बिना अनुमति सार्वजनिक गरिदिनेधृष्टताका लागि दुःखी छु।
अपराधबोधमा पिल्सिएको छु। तिम्रा खाटा बसिसकेका घाउहरू कोट्याउने नादानी पुनः दोहोरिने छैन, कमसेकम मबाट त्यो अपराधकोपुनरावृत्ति हुने छैन भन्ने वाचा पनि गर्दछु ।
फेरि अर्को एक पटक मदन पुरस्कार गुठीप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै विराट गरिमायुक्त विद्वत्सभासँग मेरो वाणीलाई विश्राम दिनेअनुमति माग्दछु ।
(मदन पुरस्कार बिजेता कृति महारानी लेखक बानियाँले पुरस्कार अर्पण समारोहका लागि उपलब्ध गराएको लिखित मन्तव्य । पोखरामापुरस्कार अर्पण गरिएको छ) source :samadhannews.com














