पठाओका राईडरले अब लोगो अंकित टिसर्ट र ट्राउजर लगाउन नपाउने

शेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगो अंकित कुनै पनि कपडा नलगाउन निर्देशन दिएको छ ।  कोभिड कालमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा  कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेकोमा अहिले त्यसैले समस्या निम्तिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई कम्पनीले निर्देशन दिएको हो ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले राइडरहरुमा यस्तो सूचना गरेको छ । अन्यथा, त्यसबाट घट्न सक्ने घटना र कारबाहीबाट स्वयम् राइडरले भोग्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  ‘कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालिले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन दिएको जनाएको छ । सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न भनिएको छ ।
\"\"