काठमाडौं : एनआइसी एसिया बैंकले बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एप (एनआइसी एसिया मोबाईल बैंक) मार्फत आइपीओ भर्न सकिने सुविधा ल्याएको छ । एनआइसी एसियाको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले विभिन्न कम्पनीहरूले जारी गर्ने आइपीओमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकको एप ‘एनआइसी एसिया मोबैंक’ प्रयोगकर्ताहरुले एप भित्र रहेको ‘एप्लाई सेयर’ आइकन थिचेर गरेर आवेदन दिन सक्नेछन् । ‘एप्लाई सेयर’ आइकनमा थिचेपछि त्यसभित्र आइपीओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरी आफूले चाहेको जति कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी ‘सबमिट’ गरेपश्चात आवेदन पूरा हुनेछ ।
ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपीओ आवेदन दिन सक्नेछन् । यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आइपीओ आवेदन दिनुपर्ने झन्झटबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । यसरी घरमै बसेर आइपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले एनआइसी एसिया मोबैंक डाउनलोड गर्नुपर्नेछ । साथै, बैंकले आफ्नो वेबसाइटमा रहेको ‘एप्लाई नाओ’ आइकनमा ट्याप गरेर समेत आइपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।














