काठमाडौं : सूचीकृत कम्पनीहरुले धमाधम पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसैबीच नेप्सेमा सूचीकृत ७ लघुवित्त कम्पनीहरुले हालसम्म असोज मसान्तसम्मको वित्तीय विवरण बाहिर ल्याइसकेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्त कम्पनीको खुद नाफा लगायतका प्रमुख सूचक बढेको छ ।
७ लघुवित्त कम्पनी मध्ये एनआइसी एसिया लघुवित्तको चुक्ता पुँजी सबैको भन्दा धेरै छ । त्यस्तै, जगेडा कोष, खुद ब्याज आम्दानी र खुद नाफामा डिप्रोक्स लघुवित्तको अग्रता छ । प्रतिसेयर आम्दानीमा मिर्मिरे लघुवित्त अगाडि छ । अब, हेरौं कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने ७ लघुवित्त कम्पनी मध्ये सबैभन्दा धेरै चुक्ता पुँजी एनआइसी एसिया लघुवित्तको रहेको छ । यसको चुक्ता पुँजी १७.५३% ले बढेर १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी ३८% ले बढेर १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा यो नै सबैभन्दा धेरै चुक्ता पुँजी बढ्ने कम्पनी हो । यसअवधिमा समिट लघुवित्त बाहेक सबै लघुवित्त कम्पनीको चुक्ता पुँजी बढेको छ ।
अहिलेसम्म रिपोर्ट आएकामध्ये सबैभन्दा धेरै जगेडा कोष डिप्रोक्स लघुवित्तको रहेको छ । यसको जगेडा कोष ११.८०% ले बढेर १ अर्ब २१ करोड १५ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा मिर्मरे लघुवित्त रहेको छ । यसको जगेडा कोष १७०.७६% ले बढेर ४१ करोड १७ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा डिप्रोक्स लघुवित्त रहेको छ । तथापि, यसअवधिमा यसको खुद ब्याज आम्दानी १.७४% ले घटेर ३५ करोड ९१ लाख ४० हजार रुपैयाँमा आएको छ । त्यस्तै, एनआइसी एसिया लघुवित्तको खुद ब्याज आम्दानी १०३.१०% ले बढेर ३५ करोड ११ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढ्नेमा समिट लघुवित्त रहेको छ । यसको खुद ब्याज आम्दानी २८५.९६% ले बढेर ८ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । डिप्रोक्स र फस्र्ट माइक्रोफाइनान्स बाहेकका अरु कम्पनीको खुद ब्याज आम्दानी बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ७ कम्पनी मध्ये सबैभन्दा धेरै नाफा डिप्रोक्स लघुवित्तले कमाएको छ । तथापि, यसको नाफा १२.३७% ले घटेर १७ करोड ३५ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ ।
सबैभन्दा धेरै खुद नाफा बढ्नेमा समिट लघुवित्त रहेको छ । गत वर्ष २ लाख ७७ हजार रुपैयाँ रहेको समिट लघुवित्तको नाफा यो वर्ष ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । डिप्रोक्स र फस्र्ट माइक्रोफाइनान्स बाहेकका अरु कम्पनीको खुद नाफा बढेको छ ।
असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर मिर्मिरे लघुवित्तको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसाले बढेर ५८ रुपैयाँ ६२ पैसा पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा समिट लघुवित्त रहेको छ । यसको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८१ पैसाले बढेर ३९ रुपैयाँ ८८ पैसा पुगेको छ । एक वर्षको अवधिमा ४ लघुवित्तको प्रतिसेयर आम्दानी बढेको छ भने, ३ लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ ।














