काठमाडौं : ब्याजदर बढ्न सक्ने त्रासका कारण सेयर बजारले बिहीबार निकै नराम्रो प्रर्दशन गरेको छ । यस दिन नेप्से सूचक ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको छ । खरिदबिक्री रकम भने वृद्धि हुँदै २ अर्ब १२ करोड नाघेको छ । बैंकहरुले विगत ६ महिनादेखिको ब्याजदर स्थिर राख्ने भद्र सहमति बिहीबारबाट तोडेका छन् । यससँगै अब बैंकहरुलाई स्वतन्त्र ढंगले ब्याजदरमा निर्णय गर्ने बाटो खुला भएको छ । यद्यपि, बैंकहरुले एक पटकमा १०% भन्दा तलमाथि हुने गरी ब्याजदर निर्धारण गर्न भने पाउँदैनन् ।
अघिल्लो महिना कायम दरमा अधिकतम १०% सम्म मात्र घटाउन वा बढाउन पाइनेछ । ब्याजदर स्थिर राख्ने अधिकार पनि हुनेछ । यता, सेयर बजारमा भने यो खबर बाहिरिएसँगै नकारात्मक प्रभाव परेको छ । नेप्से सूचकमा भारी अंकको गिरावट आएको छ । आम लगानीकर्ताको मनोबल कमजोर भएको छ । तथापि, बैंकहरुले ब्याजदर बढाउने भनेर निर्णय गरेका छैनन् । आवश्यकता अनुसार निर्णय गर्न सक्ने मात्र भएका हुन् ।
ब्याजदरमा बैंकहरुले स्वतन्त्र निर्णय लिन सक्ने व्यवस्थालाई लगानीकर्ताहरुले नकारात्मक ढंगले मात्र बुझेको देखिएको छ । तर यसको सकारात्मक पाटो पनि रहेको छ । केही समय बढिहाल्ने पनि फेरि ब्याजदर घट्ने क्रम पनि सुरु हुनेछ । त्यतिबेला बैंकहरुले आफूखुशी हिसाबले घटाउने निर्णय लिन सक्नेछन् । अहिले नै तरलता अवस्था सहज हुँदै गएका बैंकहरुलाई ब्याजदर वृद्धि गर्नुपर्ने बाध्यता पर्नेछैन ।
विगत १ वर्षदेखि हाम्रो बजार वियरिस चक्रमा रहेको छ । ब्याजदर वृद्धि र तरलता अभावको मारमा बजार गुज्रिंदै आएको हो । यही बीचमा अर्थतन्त्रमा पनि समस्या देखापर्यो । विशेषगरी उच्च आयात हुनु र निर्यातमा त्यस अनुसार सुधार हुन नसक्दा अर्थतन्त्रको बाह्य क्षेत्र बिग्रियो । तर अब विस्तारै बाह्य क्षेत्रमा सुधार देखिन थालेको छ । रेमिटेन्स वृद्धि हुन थालेको छ । पर्यटन क्षेत्रमा सुधार आउन थालेको छ । यसले विदेशी मुद्रा आर्जनमा सहयोग गर्नेछ ।
यता, बजारमा पनि लाभांशको सिजन सुरु भएको छ । सबल वित्तीय सूचक भएका राम्रो लाभांश क्षमता भएका कम्पनीहरुको सेयर मूल्य पनि निकै सस्तोमा किन्न सकिने अवस्था छ । लगानीकर्ताले समग्र पक्षमा विश्लेषण गरेर निर्णय लिन सक्नुपर्ने बजारका जानकारहरु बताउँछन् ।

यस दिन २३२ कम्पनीको ६९ लाख ४० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा गिरावट आएको छ । २१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा लक्ष्मी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र अपि पावर परेका छन् ।

