काठमाडौं : टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको हो । १६६ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । नेपालका लागि कुशल मल्लले विष्फोटक पारी खेले । उनले ३४ बलको सामना गर्दै ६५ रन बनाएर आउट भएका थिए ।
समूह ’ए’ मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपालसँगै समूहको अर्को टिम ओमानले पनि अन्तिम चारमा स्थान पक्का गरेको छ । मलेसिया र सिंगापुर भने अन्तिम खेलअघि नै बाहिरिए । अब नेपाल र ओमानबीच बिहीबार हुने खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।















