टोकियो : जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य संकटकाललाई बढाएको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मंगलबार कोभिड–१९ महामारीको कारण लगाइँदै आएको संकटकाललाई थप १ महिनाका लागि विस्तार गरेका हुन् ।
सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भने, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा तथा सैतामा क्षेत्रमा संकटकाल बढाएको हो । यसैगरी, ऐचि, गिफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका क्षेत्रहरुमा रहेको कोभिड–१९ संकटकाललाई पनि थप बढाउने सरकारले घोषणा गरेको हो ।
यसैबीच, राजधानीको उत्तरमा अवस्थित तोचिगी प्रान्तमा कोभिड समस्या कम भएको भन्दै यसलाई आपतकालीन सूचीबाट हटाइने पनि प्रधानमन्त्रीले बताए । दक्षिण टापु ओकिनावा प्रान्तमा भने संकटकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन । जापानी सरकारले सबैभन्दा पहिले ग्रेटर टोकियो क्षेत्र र ओसाकालगायत सघन आबादी भएका अन्य प्रमुख सहरी क्षेत्रहरुका लागि जनवरीमा घोषणा गरेको संकटकाल यही फेब्रुअरी ७ सम्मका लागि रहेको थियो ।
आपतकालीन अवस्थाको घोषणा भएदेखि नै मानिसहरूलाई घरबाहिर अनावश्यक यात्रा गर्नबाट जोगिन र घरबाटै काम गर्न आग्रह गरिएको छ । जापानभर मंगलबारसम्म ३ लाख ८९ हजार ५१८ व्यक्ति संक्रमित भएका छन् भने ५ हजार ७२२ जनाको मृत्यु भएको छ । जापानको सबैभन्दा बढी प्रभावित राजधानी सहर टोकियोमा संक्रमितको संख्या १ लाखभन्दा बढी पुगेको छ ।
रासस–सिन्हवा