मकर श्रेष्ठ
भक्तपुर, बालबालिका अपहरणको आरोपमा स्थानीयवासीले कुटपिट गर्दा भक्तपुरमा मंगलबार दुईजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते छन् ।
महानगरीय प्रहरी वृत्त ठिमीका डीएसपी किरण बज्राचार्यका अनुसार ठिमी चपाचोमा भएको कुटपिटमा नाम नखुलेका दुईको मृत्यु भएको हो । नयाँ ठिमीका सुजन थापा र बसन्त लामा घाइते भएका छन् । लामा कोटेश्वरस्थित नवज्योति बोर्डिङ स्कुलका विद्यार्थी हुन् ।
घटनास्थलबाट बरामद झोलामा जीवन थापा मगर र सवीन छेत्रीको नामका परिचयपत्रहरू फेला परेका आधारमा मृतक उनीहरू हुनसक्ने बज्राचार्यले बताइन् । स्थानीयवासीको आक्रमणमा पर्नुअघि उनीहरू मध्यपुरठिमी-५ धुन्चेपाखाको हिमचुली बोर्डिङ स्कुलअगाडि त्यहींका युवासँग झडप भएको थियो ।
स्थानीय युवाले बालबालिका अपहरण गर्न खोजेको आरोप लगाएपछि पूरै गाउँले भेला भएर उनीहरूलाई कुटपिट गर्दै लखेटेका थिए । खुकुरी देखाएर कुटपिट गर्न थालेपछि झडप भएको स्थानीयवासीले बताए ।
स्थानीय युवाले लखेटेपछि उनीहरूले खुकुरी देखाएको धुन्चेपाखाका निरन पौडेलले बताइन् । \’गाउँलेले लखेटेपछि धानबारी हुँदै भागेका थिए,\’ उनले भनिन् ।
घाइते बसन्त लामाले धुन्चेपाखाका सुवास अधिकारीसहितको समूहलाई बोडेमा सोमबार आँखा तरेको निहुँमा झगडा भएको त्यही समूहका अनुपम बिकेले बताए ।
\’हामी कसैलाई अपहरण गर्न गएको थिएनौं,\’ प्रहरी नियन्त्रणमा रहेका बिकेले कान्तिपुरसित भने, \’साथीलाई कुटेपछि प्रतिकार गर्न गएका बेला पूरै गाउँलेले अपहरणकारीको आरोप लगाएर लखेटे ।\’ बदला लिन गएका समूह नयाँ ठिमीमा भेला भएर हिँड्दै गएको उनले बताए ।
उनलाई भाग्नेक्रममा स्थानीयवासीले समातेर प्रहरीलाई बुझाएका हुन् ।
बालक अपहरणको हल्लासहित हारगुहार गरेर उनीहरूलाई लखेटदै चपाचो पुगेपछि कुटिएको थियो । धुन्चेपाखाबाट चपाचो अन्दाजी साढे दुई किलोमिटर टाढा पर्छ । उनीहरूलाई चपाचो र धुन्चेपाखाका बासिन्दाले घेरा हालेर कुटेका थिए ।
\’हामी अपहरणकारी होइन, बचाउनुस् भनेर चिच्याउँदा पनि छाडेनन्,\’ चपाचोका एक प्रत्यक्षदर्शीले भने, \’हेलमेट र ढुंगाले मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।\’ चारै जनाको मृत्यु भएको ठानेर स्थानीयवासी गइसकेपछि मात्र प्रहरी आइपुगेको उनले बताए । \’म त उनीहरूलाई कुटेको हेर्न नसकेर घरभित्र गएर बसें,\’ उनले भने ।
घटनास्थल प्रहरी वृत्तबाट पाँच मिनेट टाढा पर्छ । साथीलाई कुटेको बदला लिन धुन्चेपाखास्थित हिमचुली बोर्डिङ स्कुल अगाडि पुगेका उनीहरूलाई विद्यालयका बालबालिका अपहरणको आरोप लगाइएको थियो ।
कुटपिटबाट घाइते चारै जनालाई बी एन्ड बी अस्पताल लगिएकामा उपचार गर्दागर्दै दुईजनाको मृत्यु भएको थियो । घाइते लामा र थापाको अवस्था अझै चिन्ताजनक छ । उनीहरू अझै होसमा आउन नसकेको उपचारमा संलग्न चिकित्सकले जनाए । उनीहरूको अनुहार, टाउको र शरीरमा गहिरो चोट लागेको छ । धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको हुनसक्ने आंशका प्रहरीको छ । बदला लिन गएको १० जनाको समूहमध्ये एक जना पेप्सिकोलाका अनुपम बिकेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
हिमचुली विद्यालयका म्यानेजिङ डाइरेक्टर विष्णु चित्रकारले आफ्नो विद्यालयका बालबालिकाको अपहरण प्रयास नभएको बताए । \’दुई समूह मेरै विद्यालयअगाडि झगडा भएको देखेको हो,\’ उनले भने, \’कसैले पनि अपहरण गर्न खोजेको होइन ।\’
उनीहरूको नियत बालबालिका अपहरण गर्ने नभएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले पनि बताइन् । \’उनीहरूलाई धुन्चेपाखा र चपाचोका बासिन्दाले कुटपिट गरेको बुझिएको छ,\’ उनले भनिन्, \’अनुसन्धान गरिरहेका छांै ।\’ मोटरसाइकलमा चढेरसमेत उनीहरूलाई लेखेटिएको जानकारी आफूले पाएको बज्राचार्यले बताइन् । घाइते र मृतकको झोलाबाट खुकुरी, तरबार र चक्कु फेला परेको उनले बताइन् ।
कता जाँदैछ समाज ?
जितेन्द्र साह
काठमाडौं- अपहरणको हल्ला चल्नासाथ शंकास्पद व्यक्तिलाई कुट्ने र मार्नेसमेतका घटना किन भइरहेका छन् ? \’सरकार र सुरक्षा निकायप्रति विश्वास नभएपछि यस्ता घटना भएका हुन्,\’ अपराधशास्त्री माधव आचार्यले कान्तिपुरसँग भने, \’घटनाको ठीकसँग छानबिन र कारबाही होला भन्ने विश्वास नागरिकमा छैन ।\’ उनका अनुसार यही कारणले आशंका लाग्नेबित्तिकै वा अभियुक्त फेला पर्नासाथ जाइलाग्ने प्रवृत्ति बढेको हो । सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेका कारण नागरिकले कानुन हातमा लिइरहेको उनको बुझाइ
छ । उनले भने, \’सरकारले नागरिकको विश्वास जित्ने खालका गतिविधि र सन्देशहरू तत्काल प्रवाह गरिहाल्नुपर्छ ।\’ प्रहरीले एकपछि अर्को अपहरणका घटना र हल्ला बढ्दा समाज त्रसित र आक्रोशित भएकाले सबैलाई संयम अपनाउन आग्रह गरेको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले भने, \’बाटामा रोइरहेका वा भौंतारिरहेका बालबालिका भेटिए आपै+mले विद्यालय वा घर पुर्याउने जोखिम नमोली नजिकको प्रहरी कार्यालयमा बुझाउनु ठीक हुन्छ ।\’
चापागाउँ, कीर्तिपुर, बागबजार,
गोंगबु र ठिमीलगायत स्थानमा दिनहँुजसो भएका अपहरणको आशंकामा भएका कुटपिटका घटनाले उपत्यकाको जनजीवन तनावग्रस्त बन्न पुगेको छ । अपहरणकारी भनेर कुटपिट गर्दा यसै महिना दुई जनाको ज्यान गइसकेको छ भने ९ जना घाइते
भएका छन् । अपहरण र अपहरणको हल्लामा विगत तीन महिनाको अवधिमा महोत्तरी, धनुषा, सुनसरी र मोरङमा १६ जना मारिइसकेका छन् ।
प्रहरी प्रवक्ता सिंहले भीड र होहल्लाको पछाडि नलागी घटनाको वास्तविकता बुझेर संयमित भएर कदम चाल्न आग्रह गरेका
छन् । \’कुनै व्यक्ति अपहरणकारी वा अपराधी भएमा नागरिक समाजको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी कडाभन्दा कडा कारबाही गरिन्छ,\’ उनले भने, \’त्यसैले कानुन हातमा नलिई शंकास्पदहरूलाई प्रहरीसमक्ष बुझाउन हामी आह्वान गर्दछौं ।\’ प्रहरी प्रधान कार्यालयले मंगलबार मोबाइल फोनवाहकलाई एसएमएस पठाई \’कहीं कतै कसैले शंकास्पद व्यक्ति या गतिविधि देख्नुभएमा तत्काल नजिकको प्रहरीमा सूचना दिन\’ पनि आग्रह गरेको छ । त्यसका निम्ति प्रधान कार्यालयले पैसा नलाग्ने फोन नम्बरहरू १६६००१४१५१६ र ९८४९०९११३९, ४४१२७४८ मा सूचित गर्न भनेको छ ।
गृह मन्त्रालयले पनि मुलुकभरिका जिल्ला प्रशासनलाई कानुनमा हातमा लिएर कुटपिट गर्नेक्रम रोक्न र हत्यामा संलग्नलाई कानुनको दायरामा ल्याउन निर्देशन दिएको छ । आवेश र आक्रोशमा आएर कानुन हातमा लिने प्रवृत्तिले अराजक र उच्छृंखल गतिविधि उत्पन्न गरिरहेको हुनाले त्यस्ता घटनामा संलग्नलाई सख्त कारबाही गरिने मन्त्रालयका प्रवक्ता नवीन घिमिरेले बताए । अपहरणको हल्लाको आडमा बदला लिने र व्यक्तिगत दुस्मनी साँध्नलाई कुटपिट र हत्या गर्ने प्रवृत्ति देखिएको मन्त्रालयले जनाएको छ । यही विषयलाई लिएर बुधबार गृहमन्त्री, प्रहरी महानिरीक्षक र वरिष्ठ सुरक्षा अधिकृतबीच बैठक हुँदैछ ।
कुटपिट शृंखला
असार १२ ः ललितपुर, छम्पीमा दुई जनालाई कुटपिट
असार २० ः गोंगबु-६, गणेशस्थानमा एक युवकलाई कुटपिटपछि जलाउने प्रयास
असार २१ ः गोंगबु-६, गणेशस्थानमा एक गम्भीर घाइते, बालकलाई विद्यालय पुर्याउन खोज्ने ट्याक्सी चालक भागेर जोगिए














