‘जनयुद्ध’ को साईत पारेर प्रचण्ड-बाबुरामको भेटघाट हुदै

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्चमा उभिने भएका छन् ।त्यहीपनि ‘जनयुद्ध’ को २५ औं वर्षगाँठको अवसर पारे  उनीहरु भोलि (शनिबार) एउटै मञ्चमा देखिने भएका हुन् । डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेपछि उनीहरु प्रायः धेरै एउटै मञ्चमा देखिएका छैनन् । १० वर्ष लामो चलेको सशस्त्र युद्धका दुई कमाण्डर एउटै मञ्चमा देखिने साइत भने डा. भट्टराईले जुराएका हुन् । डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ युद्ध दिवसकै अवसर पारेर सार्वजनिक हुँदैछ ।

युद्धकालमा बाबुरामले विभिन्न पत्रिकामा लेखेका र कतिपय अप्रकाशित कथाहरु समेत समेटेर फाइन प्रिन्टले सो पुस्तक प्रकाशन गरेको हो ।

\"\"

सो पुस्तक विमोचन कार्यक्रममा विभाजित नेकपाका अध्यक्ष प्रचण्ड,नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई र डा. मीना पौडेल तथा अरुण गुप्तो प्रमुख वक्ता रहेका छन् ।नेकपा विभाजनपछि बाबुरामले निरन्तर प्रचण्ड–नेपाल समूहलाई विभिन्न सुझावहरु व्यक्त गरिरहेका छन् ।

केपी ओलीको आलोचनमा खरो रुपमा उत्रने बाबुराम केही दिन अघिमात्र जनयुद्धको उद्गम थलो रोल्पाको भ्रमणमा पनि पुगेका थिए ।सामाजिक सञ्जालमा रोल्पाका विभिन्न अपडेटहरु निरन्तर पोष्ट गर्दै भट्टराई आफू सम्झनाको तरेलीमा डुबिरहेको व्यक्त गरेका थिए । संयोगवस भट्टराईकै किताब सार्वजनिक हुने बहानामा यी दुर्य प्रमुख कमाण्डरहरुको भेट हुँदैछ । साना पार्टीहरुसँग पनि ओली विरुद्धको आन्दोलनमा संयुक्त मोर्चा बनाएर अघि बढ्ने तयारी भइरहँदा यो कार्यक्रममा प्रचण्डको उपस्थितिलाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ।(उज्यालोनेटवर्क)